aarthiknews.com विहीबार, २६ माघ २०७९   Thursday, 09 February, 2023
 
kalapathar

अस्तव्यस्त बन्दै छ पोखराको न्यूरोड, रूप फेर्ने नाममा बढाइयो समस्या

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०७ माघ २०७९
nabil bank
kispangmun.gov.np/
अस्तव्यस्त बन्दै छ पोखराको न्यूरोड, रूप फेर्ने नाममा बढाइयो समस्या
bhotekoshimun.gov.np/
LBF

पोखरा। पोखरा सभागृह चोकदेखि बिपी चोकसम्मको दूरी एक हजार पाँच सय मिटर छ । तुलनात्मक रूपमा पोखराको अन्य सडक भन्दा फराकिलो छ, यहाँको सडक खण्ड । पोखराको व्यस्त सडकमध्येमा एक हो, यो सडक । सोही कारण सवारीको चाप बढी हुनुका साथै यात्रुको ओहोरदोहोर पनि धेरै हुन्छ । 

चाक्लो सडकमा चालकले सवारी नियम, तथा लेनको ख्याल नै नगरी ‘ओभरटेक’ र सवारी ‘क्रस’ गर्न भ्याउँछन् । जसले गर्दा साना, ठुला सवारी दुर्घटना बढिरहेका छन् । सडकमा हुने यस्ता दुर्घटना न्यूनीकरण हुन नसकेपछि समस्या समाधानका लागि महानगरसम्म पुगेको थियो, ट्राफिक प्रहरी ।

ट्राफिक प्रहरीको पहलमा पोखरा महानगरपालिकाले ‘ट्राफिक लाइट’ राख्ने योजना अघि बढाए अनुरूप ‘ट्राफिक लाइट’ का लागि पोलसँगै ‘डिभाइडर’ राख्ने काम सुरु भइसकेको महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए । 

करिब तीन महिनामा सक्ने गरी सभागृह चोकदेखि बिपी चोकसम्म गार्डेनिङसहितको डिभाइडरमा सडक बत्ती राख्ने काम सुरु गरेको जानकारी दिँदै यसले सडक दुर्घटनामा पनि कमी आउने आचार्यले बताए ।

महानगरले बत्ती सहितको डिभाइडर काम गरिहरेकाले काम सकिएपछि ट्राफिक व्यवस्थापनमा सहज हुने ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक प्रकाश शाहको विश्वास छ । “हामीले आवश्यक ठाउँमा मात्र क्रसिङ दिएका छौँ । यसले चालकलाई कहाँबाट दाहिने, देब्रे गर्ने, कहाँबाट यू टर्न गर्ने भन्नेमा सचेत गराउँछ”, शाह भन्छन् । 

तर पछिल्लो समय सुन्दरता बढाउन र सडक दुर्घटना न्यूनीकरणका लागि भइरहेको काममा ढिलासुस्ती हुँदा सहर थप अस्तव्यस्त बनेको छ भने दुर्घटनाको जोखिम पनि बढेको स्थानीय बताउँछन् । 

डिभाइडर र सडक बत्ती राख्ने काम छुट्टाछुट्टै कम्पनीले गरिरहेका छन् । सडक बत्तीको ठेक्का पाएको कम्पनीले काम लगभग सकिसकेको छ । डिभाइडर बनाउने ठेक्का पाएको निर्माण कम्पनीले आधा काम पनि नगर्दा दुर्घटनाको जोखिम बढ्नुका साथै धुलोको सास्ती भोग्नुपरेको न्यूरोडका व्यवसायी रमेश ठकुरीले बताए ।

पोखरा महानगरका इन्जिनियर सुरेन्द्रले पौडेलले खरिद नियमावलीअनुसार यो आयोजनाका लागि वैशाखको ३० गतेसम्म म्याद भएको जानकारी दिए ।उनका अनुसार काम तीव्र गतिमा नै भइरहेको छ ।

पिच सडकमा मिलाएर कटिङ गर्नुपर्ने भएका कारण पनि निर्माण कार्य ढिला भएको हुनसक्ने उनले बताए । निर्माण कम्पनीले डोरी वा ट्राफिक कोन राखेर काम गरिरहेको बताए । उनले निर्माण कार्य निर्धारित समय सीमा भित्रै सम्पन्न गर्न निर्माण कम्पनीलाई ताकेता गरिरहेकाले समयमा नै काम सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । -रासस 

प्रतिक्रिया दिनुहोस