शीर्षकहरू

स्वावलम्बन लघुवित्तको २२ औं वार्षिक साधारण सभा सम्पन्न

स्वावलम्बन लघुवित्तको २२ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २२ औं वार्षिकोत्सव सम्पन्न भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न समारोहको सभापतित्व संचालक समितिका अध्यक्ष डा.सुमित्रा मानन्धर गुरुङ्गले गरेकी थिइन् ।  

वित्तीय संस्थाले प्रत्येक वर्ष माघको पहिलो साता देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउदै आएको र यस पटक पनि विभिन्न स्थानमा वित्तीय साक्षरता, स्वास्थ्य शिविर, समुदाय विकास, वातावरण संरक्षण तथा अन्य सामाजिक कार्य गरी वार्षिकोत्सब समारोहको आयोजना गरेको छ ।

समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चौधरीले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले उत्कृष्ट वित्तीय संस्थाको रुपमा सदस्यलाई लघुवित्त सेवा पुर्याएको र २२ औ वार्षिकोत्सवले थप उर्जाका साथ कार्यक्षेत्रमा लाग्न शुभकामना दिइन् । 

लघुवित्तले सदस्य तथा विपन्न परिवारको आर्थिक सामाजिक अवस्थालाई सुधार गरेका प्रशस्त उदाहरण हुँदा हुँदै पनि  हाल लघुवित्त सम्बन्धमा देखिएका गैर कानूनी र नीति विपरितका गरिविधिले समस्याको समाधान नहुने र सदस्यलाई अझै अप्ठ्यारोमा पारेको उनले बताइन् ।  

लघुवित्त संस्थाहरुको संख्या बृद्धिसंगै अस्वस्थ प्रतिस्पर्धा बृद्धि भएकोले गुणस्तरीय सेवा प्रवाहका लागि लघुवित्त संस्थाहरु २०÷२५ वटामा ल्याई गुणस्तरीय र दीगो सेवा प्रभावकारी ढंगले प्रवाह गर्न सुझाव दिइन्  । 

समारोहमा सांसद तथा लघुवित्त अभियन्ता लिलानाथ श्रेष्ठले गरिवी न्यूनिकरणमा लघुवित्तको प्रभावकारी भूमिका रहेको बताए  । विग्रदो आर्थिक अवस्थामा सुधार ल्याउन लघुवित्तको योगदान रहने बताए  । त्यस्तै, सांसद तथा लघुवित्त अभियन्ता योगेन्द्र मण्डलले लघुवित्तको मर्म र उद्देश्य अनुरुप चल्न सके लघुवित्तको सार्थकता हुने  बताए । उनले लघुवित्तले महिलालाई उद्यमी बनाउँदै रोजगारी श्रृजनामा योगदान पुर्याएको बताए । 

नेपाल राष्ट्र बैंकका संचालक चिन्तामणि सिवाकोटीले लघुवित्तले मूलुकको गरिवि निवारणमा पुर्याएको योगदान नजरअन्दाज गर्न नमिल्ने र महिला सशक्तिकरणमा उत्कृष्ट प्ल्याटफर्म लघुवित्तले प्रदान गरेको बताए । उनले लघुवित्त क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धाले लघुवित्तको छवीमा ठूलो असर पुगेको र यसलाई समयमै सुधार गर्नु आवश्यक बताए । 

संचालक समितिका अध्यक्ष तथा समारोहका सभापति डा.सुमित्रा मानन्धर गुरुङ्गले लघुवित्त गरिवी निवारणको उपयुक्त अस्त्र भएकोले यसको स्वस्थ विकास र विस्तारमा जोड दिनुपर्ने बताइन् । लघुवित्त वित्तीय संस्थाले कार्यक्रममा आवद्ध सदस्यहरुको आयस्तरमा बृद्धि गर्न उनीहरुलाई विभिन्न क्षमता अभिवृद्धि तालिमको आवश्यकता रहेकोले सोही अनुरुप लघुउद्यमशीलता विकासका लागि वित्तीय संस्था अगाडी बढ्ने बताइन् ।  

प्रमुख कार्यकारी अधिकृत नरेन्द्र सिंह बिष्टले समारोहमा उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्दै वित्तीय संस्थाले हाल सातै प्रदेशका ६१ जिल्लामा रहेका १४५  शाखा कार्यालयबाट २ लाख ६३ हजार भन्दा बढि घरपरिवारलाई प्रत्यक्ष सेवा पु¥याएको बताए ।

समारोहमा संस्थाका विभिन्न शाखामा आवद्ध ग्राहक सदस्यले आफ्नो विचार व्यक्त गरेका थिए ।  समारोहमा वित्तीय संस्थामा आवद्ध ज्येष्ठ ग्राहक सदस्यहरु, उत्कृष्ट लघुउद्यमी, वचतकर्ता तथा केन्द्रहरु, संचालक समितिका पूर्व संचालकहरु लगायत २० वर्ष सेवा गरेका कर्मचारीहरुलाई सम्मान गरिएको थियो । साथै, उत्कृष्ट शाखा कार्यालय, कर्मचारीका छोराछोरीहरु मध्ये २०७८ सालको एसईई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने ६ जनालाई नगद सहित सम्मान–पत्र प्रदान गरिएको थियो ।