
काठमाडौं । माघ ६ देखि माघ ८ गतेसम्म भृकुटी मण्डप प्रदर्शनीस्थलमा “नेपाल इलेक्ट्रिक पावर लाइट्स् अन्तर्राष्ट्रिय प्रदर्शनी” नामक विद्युतीय र उर्जासँग सम्बन्धित प्रदर्शनी हुँदै छ । यो प्रदर्शनी नेपालको पहिलो बृहत् अन्तर्राष्ट्रिय उर्जा र विद्युतसँग सम्बन्धित प्रदर्शनी हो जुन मिडिया स्पेस सोलुसन्स (एम.एस.एस.) का साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया (इटिएसआइपिएल) तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स्को संयोजकत्वमा आयोजना हुन लागेको हो ।
उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढि कम्पनीहरुको स्टल रहने आयोजकले जनाएको छ । नेपाल इलेक्ट्रिक पावर लाइट्स् प्रदर्शनीले आधारभूत रूपमा तीन सोचहरूको समायोजन गर्न खोजेको छ । यी तीन सोचहरूबाट नेपालमा विद्युत तथा उर्जासँग आबद्ध विभिन्न उद्योगहरूले आपसी साझेदारी गर्ने, सम्बन्ध बढाउने तथा व्यवसायका अवसरहरू निर्माण गर्ने केन्द्रको भूमिका निर्वाह गर्ने छ । यी उद्योग नेपालमा सबैभन्दा बढी माग भएका क्षेत्रहरूमध्ये एक हुन् र दक्षिण एसियाली क्षेत्रभित्र द्रूत रूपमा वृद्धि भइरहेका पनि छन् ।
नेपालमा इलेक्ट्रोनिक्स क्षेत्रको राजस्व सन् २०२२ मा अमेरिकी डलर ३६ करोड पुग्ने प्रक्षेपण गरिएको थियो। इलेक्ट्रोनिक्स क्षेत्रमा सन् २०२७ सम्ममा प्रयोगकर्ताको संख्या १.३९ करोड पुग्ने अपेक्षा गरिएको छ । नेपालभित्र आयात हुने करिब ६० प्रतिशत इलेक्ट्रोनिक तथा विद्युतीय उपकरण भारतबाट आउने भएका कारण पनि यो प्रदर्शनीमा भारतीय उपमहाद्वीप (भारतवर्ष) का सरोकारवालाको सहभागिता उल्लेखनीय हुने आयोजकले दावी गरेको छ ।
नेपालको अर्थतन्त्रमा उर्जा र उर्जा क्षेत्रको पनि महत्वपूर्ण भूमिका छ । बायोमास, तेल उत्पादन, कोइला, जलविद्युत र बिजुली नेपालमा उर्जाका प्रमुख स्रोतहरू हुन्। नेपालको विद्युतीकरण दर दक्षिण एसियाली क्षेत्रका अन्य देशको तुलनामा करिब ७६ प्रतिशत छ । नेपाल जलविद्युत, सौर्य, वायु, बायोग्यास र विभिन्न प्रकारका बायोमास उर्जा समावेश गरी नवीकरणीय उर्जाका स्रोतहरूले भरिपूर्ण छ ।
यो अन्तर्राष्ट्रिय प्रदर्शनीमा आगन्तुकहरूलाई प्रवेश निःशुल्क गराइएको छ, र साथै विद्युत, विद्युतीय उपकरण र बत्तीसँग सम्बन्धित क्षेत्रहरूमा प्राविधिक सामग्री र ज्ञान साझेदारी निर्माण गर्ने उद्देश्यसहितको सम्मेलनका कार्यक्रमहरू पनि गराइने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस