
काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामै करिब ६ खर्बको व्यापार घाटा भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महिनाको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा कुल वस्तु व्यापार घाटा १८.८ प्रतिशतले कमी आई पाँच खर्ब ९७ अर्ब ४४ करोड कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५४.७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.१ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १२.३ प्रतिशत रहेको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा कुल वस्तु निर्यात ३४.६ प्रतिशतले कमी आई रु. ६७ अर्ब ३० करोड भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०५.६ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४३.७ प्रतिशत र ३५.९ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ७.१ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, ऊनी गलंैचा, अलैंची, चिया लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा कुल वस्तु आयात २०.७ प्रतिशतले कमी आई रु.६६४ अर्ब ७५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५९.५ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २०.० प्रतिशत, २२.६ प्रतिशत र २१.४ प्रतिशतले कमी आएको छ ।
स्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, सुन, रासायनिक मल, हवाइजहाजका स्पेयर पार्टस् लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, एमएस विलेट, चाँदी, औषधी, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।
प्रतिक्रिया दिनुहोस