
काठमाडौं । कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित बनेको क्षेत्र हो, पर्यटन क्षेत्र । कोभिडको कारण सुस्ताएको नेपालको पर्यटकीय गतिविधिमा पछिल्लो समयमा भने सुधार देखिएको छ ।
विदेशी मुद्रा आर्जन गर्ने माध्यम समेत रहेको पर्यटक आगमनको पछिल्लो तथ्यांकले यो क्षेत्र पुनरुत्थानको चरणमा रहेको देखिएको छ । विश्व अर्थतन्त्रमा नै निकै सकसपूर्ण स्थिति देखिएको सन् २०२२ मा मात्र ६ लाख भन्दा बढी विदेशी पर्यटक नेपाल आएको आधारमा यस्तो विश्लेषण गरिएको हो। यो तथ्यांक विश्वभरबाट नेपाल भित्रिने पर्यटकहरुको संख्याको हो । जसमा भारतबाट भने हवाई मार्ग प्रयोग गरेर नेपाल भित्रिने पर्यटकलाई मात्रै गणना गरिएको छ । तर, खुल्ला सीमा प्रयोग गर्दै स्थल मार्गबाट नेपाल आउने भारतीय पर्यटकको सङ्ख्या निकै नै ठुलो छ । जसको अभिलेख राख्ने गरिएको छैन।
अध्यागमन विभागको तथ्यांक अनुसार सन् २०२२ को अवधिमा ६ लाख १४ हजार ८६९ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । गएको एक वर्षमा सबैभन्दा धेरै पर्यटक नोभेम्बर महिनामा नेपाल आएका हुन् । नोभेम्बर महिनामा ७२ हजार ६५३ जना पर्यटक नेपाल छिरेको तथ्यांकले देखाएको छ।
कुन महिना कति पर्यटक नेपाल आए ?
सन् २०२२ को पहिलो महिना अर्थात् जनवरी महिनामा लगभग १७ हजार जति पर्यटक नेपाल आएका छन् । यस महिना १६ हजार ९७५ जना पर्यटक नेपाल भित्रिएका हुन् । दोस्रो महिना अर्थात् फेब्रुअरी महिनामा १९ हजार ७६६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । जनवरी महिनाको तुलनामा फेब्रुअरी महिनामा तीन हजारभन्दा बढी संख्यामा पर्यटक नेपाल आएको देखिन्छ ।
त्यस्तै, सन् २०२२ को मार्च महिनामा ४२ हजार ६ जना पर्यटक नेपाल भित्रिएका थिए । यो सङ्ख्या फेब्रुअरी महिनाको तुलनामा दोब्बर भन्दा धेरै हो । त्यो महिनामा सबैभन्दा बढी भारतबाट पर्यटक आएको तथ्यांकमा उल्लेख छ ।
अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए । अप्रिल पछि मे महिनामा भने नेपाल भित्रिने पर्यटकको सङ्ख्या घटेको देखिन्छ । मे महिनामा ५३ हजार ६०८ जना पर्यटक नेपाल भित्रिएका थिए । अप्रिल महिनाको तुलनामा यस महिना ४ हजार ७४० पर्यटक कम आएका हुन् ।
त्यस्तै, जुन महिनामा ४६ हजार ९५७ जना, जुलाईमा पनि ४४ हजार ४६२ जना, अगस्ट महिनामा ४१ हजार ३०४ जना नेपाल आए भने सेप्टेम्बर महिनामा ५८ हजार ३१४ जना र अक्टोबर महिनामा ८८ हजार ५८२ जना विदेशी पर्यटक नेपाल भित्रिएको तथ्यांकले देखाउँछ। त्यसैगरि, सन् २०२२ को नोभेम्बर महिनामा ७२ हजार ६५३ जना र डिसेम्बर महिनामा ६७ हजार ९३२ जना पर्यटकले नेपाल भ्रमण गरेको अध्यागमन विभागले जानकारी दिएको छ ।
पर्यटन क्षेत्रमा सुधारको संकेत
पछिल्लो समय नेपालको पर्यटन क्षेत्रमा सुधार देखिएको अध्यागमन विभागका सूचना अधिकारी कमल प्रसाद पाण्डे बताउँछन् । उनी भन्छन्, ‘कोरोना महामारीका कारण पर्यटन क्षेत्र नराम्ररी थलिएको थियो । तर, पछिल्लो समय नेपालको पर्यटकीय गतिविधिमा सुधार आएको छ । नेपालमा भित्रिने पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा बढेको छ ।’ उनले हाल नेपाल आएका पर्यटकको सङ्ख्या हेर्दा पछिल्लो समय पर्यटकको आगमनमा वृद्धि भएको र सो क्रम जारी रहेको बताए ।
‘अहिले पर्यटकहरू आउनेको सङ्ख्या बढेसँगै बुकिङ पनि बढिरहेको छ । लामो समयपछि नेपालमा भित्रिने पर्यटकको संख्यामा उल्लेख्य मात्रामा बढेको छ । यहि अनुपातमा पर्यटक आएमा नेपालको पर्यटन क्षेत्रमा उल्लेख्य सुधार हुनेछ’, उनले भने ।
सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने र २० लाख पर्यटक भित्राउने सरकारको योजना कोरोना महामारीको कारण सफल भएन । महामारीका कारण सन् २०२० मा विदेशी पर्यटकको सङ्ख्या दुई लाख ३० हजार ८२ मा सीमित बनेको थियो ।
त्यस्तै, सन् २०२१ मा पनि महामारीले पर्यटन क्षेत्रमा सुधार हुन दिएन । यसको असरका कारण अघिल्लो वर्षको तुलनामा सन् २०२१ मा पर्यटक आगमनको सङ्ख्या ३४ दशमलव ८७ प्रतिशतले घटेको थियो । तर, सन् २०२२ मा नेपाल आएका पर्यटकको सङ्ख्या हेर्ने हो भने पर्यटकीय क्षेत्रमा सुधारको संकेत देखिन्छ ।
होटल व्यवसायी पनि उत्साहित
पर्यटकीय गतिविधिमा सुधार आएसँगै होटल व्यवसायीहरू पनि उत्साहित देखिन्छन् । कोरोनाका कारण लामो समयसम्म थला परेको होटल व्यवसायमा पछिल्लो वर्ष चहलपहल बढेको हो ।
सन् २०२२ मा नेपालमा आउने पर्यटकहरूको सङ्ख्या बढेका कारण पाँच तारे होटलहरु भरिभराउ नै थिए । सन् २०२३ को सुरुवाती समयमा पनि पर्यटकहरू आएकोले होटलहरुमा पर्यटक भरिभराउ रहेको होटल एसोसिएसन अफ नेपालका महासचिव साजन शाक्य बताउँछन् । ‘अहिले पर्यटकका लागि अफ सिजन हो । अफ सिजनमा पनि पर्यटक आगमनको सङ्ख्या राम्रै छ । नयाँ वर्षको आसपासमा पर्यटकहरू राम्रै आएका थिए । त्यस बेला सबैभन्दा बढी भारतबाट पर्यटकहरू आएका थिए’, शाक्यले सुनाए ।
फेब्रुअरी, मार्च र अप्रिल महिनाका लागि पर्यटकहरूले नेपालमा सञ्चालित पाँच तारे होटलहरुको रुम धमाधम बुकिङ गरिरहेको उनले बताए । शाक्यले भने, ‘फेब्रुअरी महिनादेखि पर्यटक आउने सिजन सुरु हुने भएकोले त्यस बेलाका लागि पर्यटकहरूले होटल बुकिङ गरिरहेका छन् ।फेब्रुअरी, मार्च र अप्रिल महिना पर्यटकको सिजन नै मानिन्छ । यसले गर्दा त्यो बेलाको लागि पर्यटकहरूले होटल बुकिङ गरिरहेका छन् । त्यस बेलाका लागि ३० प्रतिशतसम्म होटेलका रुम बुकिङ भइसकेका छन् ।
सरकारले पूर्वाधारमा थप लगानी गरिदिने हो भने पर्यटकहरू आउने सङ्ख्या बढ्ने उनको भनाई छ । महासचिव शाक्य भन्छन्, ‘नेपालमा आउने पर्यटकको संख्यामा सुधार आएको छ । तर, सरकारले थप पूर्वाधारमा लगानी गर्नु पर्ने देखिन्छ । नयाँ अन्तर्राष्ट्रिय विमानस्थलहरू थप भइरहेका छन् । यसमा सरकारले एयरलाइन्सहरू पनि थप गरिदिने हो भने पर्यटक आउने क्रम अझै बढ्ने देखिन्छ ।’
पर्यटकीय गतिविधिमा सुधार आए पनि थप लगानी गर्न नसक्ने अवस्थामा होटल व्यवसायीहरू रहेका छन् । ‘होटल क्षेत्रमा थप लगानी गर्न सक्ने अवस्थामा हामी व्यवसायी छैनौँ । बैंकहरुको ऋण समयमा तिर्न सकिरहेका छैनौँ । पुनकर्जा दिइरहेको छैन । ब्याजदर बढाएर थप समस्या बनेको छ’, उनले भने ।
त्यस्तै, सिङ्गल डिजिटमा ब्याजदर कायम गरिनु पर्ने होटल व्यवसायीहरूको माग रहेको छ । पुनकर्जा दिन समेत व्यवसायीहरूले नेपाल राष्ट्र बैंक समक्ष माग राखेका छन् ।
प्रतिक्रिया दिनुहोस