रवीन्द्र मिश्र जी थाहा भो त, कसरी आउने रहेछ समृद्धि ? - Aarthiknews
aarthiknews.com आइतबार, २९ भदौ २०७६   Sunday, 15 September, 2019
 
टिप्पणी

रवीन्द्र मिश्र जी थाहा भो त, कसरी आउने रहेछ समृद्धि ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ भदौ २०७६
Sunrise bank
रवीन्द्र मिश्र जी थाहा भो त, कसरी आउने रहेछ समृद्धि ?
LBEF
NCH-IPS

काठमाडौं । शनिबार ललितपुरमा साझा पार्टीको आयोजनामा एउटा बहस भयो । कार्यक्रमको शीर्षक नै आकर्षक थियो ‘समृद्धि कस्तो र कसरी’ वरिष्ठ पत्रकार कनकमणि दीक्षित, पूर्वअर्थमन्त्रीहरु डा. रामशरण महत र सुरेन्द्र पाण्डे अनि योजना आयोगकी पूर्वसदस्य तथा राष्ट्रिय सभा सदस्य डा. बिमला राई पौडेल सो बहसका मुख्य बक्ता थिए । यो टिप्पणीमा कार्यक्रममा कसले के बोले भन्दा पनि सारमा के देखियो भन्ने बिषयलाई पस्किन खोजिएको छ ।

साझा पार्टीको बिरालो बाध्ने काम 
कार्यक्रममा बिषय प्रवेश गराउंँदै साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रश्न  गरे–‘ विकास र समृद्धि नेपालले किन हासिल गर्न सकेन ?’ उनले कार्यक्रमको आवश्यकता र औचित्यता पनि प्रष्ट्र पारे, जसरी बाहिरी विश्वमा राष्ट्रिय सुरक्षाको बिषय दलीय र पार्टीगत स्वार्थभन्दा माथि राख्ने गरिन्छ । त्यसैगरी हाम्रोमा पनि विकास र समृद्धिको मुद्दामा दलीय सोचभन्दा माथि उठेर बहस गर्नु र साझा नीति तय गर्नु उपयुक्त हुन्छ । तर, आयोजकको उद्देश्य त त्यहाँ पूरा भएन नै सहभागीको शनिबारे बिदा समेत नराम्रोसँग बर्बाद गरे हाम्रा ‘बिज्ञ अर्थशास्त्री एवम् पूर्वअर्थमन्त्रीहरुले ।  तथापि, कार्यक्रमले केही निष्कर्ष निकाल्न भने सहयोग पुर्यायो त्यो के भने नेपालमा हालकै पार्टी र यिनै नेताबाट समृद्धि सम्भव छैन ।

पार्टी खोलेर अध्यक्ष भएको यतिका समय बितिसक्दा पनि मिश्र एक पत्रकारभन्दा माथि उठ्न सकेको देखिएन । त्यसैले उनी ‘आउटडेटेड’ नेतालाई महत्व दिँदै सोधिरहेका छन् – ‘अब कस्तो समृद्धि कसरी आउँछ ?’ जबसम्म रवीन्द्र जस्ता समाज र  राजनीति बुझेका, नेताको राम्रोसँग नाडी छामेकाले महत र पाण्डे जस्ता यथास्थितिवादी र बिमला जस्ता आफ्नो बारीमा के फल्छ भन्ने कुराको ज्ञान कम भएका र छिमेकीले के रोप्न सल्लाह दिन्छन् त्यही रोप्ने खालका मानिस जम्मा गरेर कस्तो समृद्धि कसरी ल्याउने र नेपालमा बिकासको मूल फुट्न नसक्नुको कारण के हो भन्ने प्रश्न सोध्दै ‘बिरालो बाध्ने कर्म’ गरिरहन्छन् तबसम्म आम नेपालीले समृद्धिको सपना नदेखेकै बेस होला ।

साझा पार्टीको ‘साझा नीति बहस शृंखला’ लाई बिरालो बाध्ने सज्ञा दिँदा धेरैले आपत्ति जनाउन सक्छन् तर त्यो थियो नै त्यस्तै । कुनै एनजीओले दाता झुक्याउन र पैसा सकाउन गर्ने ‘विकासे बहस’ को समेत बेला–बेला छनक आउथ्यो । तर, बहस कार्यक्रमको धेरैजसो लक्षण चाहिँं कामै नलाग्ने भनेर सिद्ध भइसकेका हाल सत्ता र प्रतिपक्षमा बसेका परम्परागत दलका भातृ संगठनले आफ्ना नेता खुशी पार्न आयोजना गर्ने ‘स्तुति सभा’ सँग मेल खान्थ्यो । फेरि पनि जुन उद्देश्य राखेर कार्यक्रम आयोजना भएको थियो त्यो चाहिँं आवश्यक र समय सापेक्ष हो भन्न हिच्किचाउनुपर्ने छैन ।

कनकका कसिला कुरा 
कार्यक्रममा कनकमणि दीक्षितको प्रस्तुति व्यवस्थित र कार्यक्रम आयोजकको चाहनालाई न्याय गर्ने खालको थियो । उनले अर्थतन्त्रको आधारशीला लोकतान्त्रिक स्थायित्व हो भन्ने प्रस्थावनाबाट आफ्नो धारणा राख्न शुरु गरेका थिए । समृद्धिको आधारशीला नै राजनीतिक स्थायित्व भएको बताउँदै लोकतान्त्रिक राजनीतिक स्थायित्वले मात्र अन्त्वोगत्वा समृद्धिको लक्षमा पुर्याउँछ भन्ने उनको तर्क थियो। 

‘बाँकी, धर्मकर्म र सुख शान्तिका कुरा व्यक्तिले गरोस् तर राज्य र समाज हाँक्ने मानिस को दायित्व भनेको समाजका आम मानिसहरुको  भौतिक समृद्धिको स्तर उचाल्ने हो ।’ दीक्षितको विचार थियो । समृद्धि कसरी हासिल गर्ने भन्ने बिषयमा प्रारम्भिक नोट नै उनले प्रस्तुत गरेका थिए। राजनीतिज्ञमाथि निगरानी नपुगेको कुरामा उनले जोड दिंदै सामाजिक सञ्जालले विचार निर्माणको काम गरिरहेकोमा चिन्ता व्यक्त गरे ।

अहिले दक्षिणपन्थलाई सामाजिक सञ्जालबाट अलि बढी सहयोग भएको र सेन्ट्रिस्ट या लेफ्ट सेन्ट्रिकलाई सामाजिक सञ्जालको प्रयोगले लाभ नदिएको उनको निष्कर्ष रहेछ । गएको २० वर्षको अन्तरालमा १५ वर्ष माओबादी जनयुद्धको कारण घाटा भएको भन्ने उनको रटान दोहोर्याउन उनले पनि भुलेनन् । विकासको लागि उदार तानाशाहको खोजी गर्ने गल्ती गर्न नहुने तर्क उनले जोड दिए।

नेपालसँग भएको सफ्ट पावरलाई परिचालन गर्न नसक्नुलाई उनले हाम्रो कमजोरीका रुपमा पेश गरे । ‘इतिहास र भूगोल दुवैले नेपाललाई अत्यन्त राम्रो सम्भावना दिलाएको छ । इतिहासलाई हामीले समृद्धिका लागि प्रयोग गर्नुपर्छ,’ दीक्षितले अगाडी थपे–‘ इतिहासले हामीलाई दुई–तीनवटा कुरा दियो । एउटा भूगोल दियो, भूगोललाई सार्वभौम बनाइदियो । सार्वभौम भूगोल भनेको हामीले आफ्नो गल्ती आफैं सच्याउन पाउँछौं । गल्ती गरेर गल्ती सच्याउन पाउँछौं । रुपान्तरणको सम्भावना हाम्रो हातमा छ भन्ने विश्वास यहाँका जनतामा छ ।’ 

हामीले समृद्धि कसरी हासिल गर्ने ? भन्ने सवालमा पनि दीक्षितले केही कुरा प्रष्टसँग राखे । जसको पूर्वशर्त हो, सुशासन । वर्तमान सरकारको १८ महिना भइसक्द पनि यसले सुशासनको अनुभूति दिन नसकिरहेकाले तुरुन्तै सुशासनतर्फ ध्यान दिन उनले आग्रह गरे । राजनीतिक स्थायित्वको लागि सक्षम प्रतिपक्षीको आवश्यकतामा पनि उनले महत्व दिए । सेनालाई सक्षम, मोर्डन आर्मी बनाउनुपर्ने, यसको संख्या घटाउनुपर्ने र खर्च कटाउनुपर्ने कनकमणिको बिचार देखियो ।


प्यानलिस्टको बकम्फुसे प्यार्र प्यार
साझा पार्टीको कार्यक्रमलाई हल्का बनाउने काममा सबैभन्दा बढी भूमिका नै प्यानलिस्ट भनिएकाहरुको रह्यो । बिषय र प्रश्न एउटा हुन्थ्यो उनीहरु अर्कै जवाफ दिन्थे । कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. रामशरण महत एक अर्थशास्त्रीका रुपमा त पेस भएनन् नै पूर्वअर्थमन्त्रीको जस्तो समेत उनको प्रस्तुति देखिएन । सवाल र जवाफबीच कतै तालमेल देखिएन । मिश्रले सोधेका थिए–अहिलेसम्म विकास नहुनुको कारण के हो ? उनले जवाफ दिए– ‘२०४८ सालपछि नेपाली कांग्रेसको सरकारले अपनाएको आर्थिक नीति अत्यन्त ठीक थियो ।’ उनले कांग्रेसको नेतृत्वकालमा देश समृद्धितर्फ अघि बढेको दाबी गरिरहे ।

सत्तारुढ नेकपाका सांसद तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले चाहिँ दलाल पुँजीवाद समृद्धिको बाधक बनिरहेको बताउँदै त्यसलाई परास्त गर्नतिर लाग्नुपर्नेमा जोड दिए । अहिलेसम्म किन समृद्धि आएनको सैद्धान्तिक जवाफ दिन थालेका उनि त्यहाँबाट बाहिर निस्कनै सकेनन् । बरु पण्डित्याई शुरु गरे, ‘पुरानो मोडेलको उदारवाद पनि अहिले विश्व छैन ।

सोभियत मोडेलको समाजवाद पनि असफल भइसकेको छ । अहिले पुँजीवाद र समाजवादवीचको दुरी छोटिएको छ । सिधै भन्न नसके पनि उनले समृद्धि कसरी ल्याउन सकिन्छ भन्ने आफूहरुलाई जानकारी नभएको कुरा घुमाउरो पारामा बताए । ‘हाम्रो आवश्यकता र पढाइका बीचमा तालमेल छैन ।  अहिलेको राजनीतिक नेतृत्वमा स्तरीय सडक कसरी बनाउने भन्ने सीपको खाँचो छ । नेताहरुसँग  जेल बसेको र संगठन गरेको मात्र अनुभव छ ।ְ’ उनले आफूहरुका सिमा र क्षमताबारे बोले ।


विकास मामिलाको जानकारका रुपमा पेस गरिएकी राष्ट्रियसभा सदस्य तथा योजना आयोगकी पूर्वसदस्य डा. विमला राई पौडेलले चाहिँं केही महत्वपूर्ण सवाल उठाइन् – ‘समृद्धि हामी कुन मूल्यमा खोज्दैछौं त्यो महत्वपूर्ण हुन्छ ।’ उनको भनाइ थियो–‘ठूलो सामाजिक मूल्यमा यहाँ भित्रिरहेको रेमिट्यान्सबारे हामीले सोच्नुपर्छ ।’ समृद्धि कसरी आउँछ सायद त्यो उनलाई पनि थाहा छैन तर कस्तो भन्नेमा उनि अरु प्यानलिष्टभन्दा स्पष्ट देखिइन, ‘समृद्धि मात्र भनेर पुग्दैन सीमान्तीकृत समुदाय, महिला लगायतले त्यसको महसुस गर्न पाउने किसिमको समृद्धि आवश्यक हुन्छ।’


मिश्रलाई सानो सल्लाह 
रवीन्द्र मिश्र जी तपाईंको ‘समृद्धि हाम्रै पालामा हेर्न पाइयोस्’ भन्ने चाहना पनि पूरा हुने छाँट छैन । किनकी अझैसम्म पनि तपाई जत्तिको मान्छे तिनै पात्र र प्रवृतिलाई त्यो गहन प्रश्न सोध्दै हुनुहुन्छ जसको जवाफ उनीहरुले दिन सक्दैनन् भन्ने आम सचेत नेपालीलाई थाहा छ । भोटको राजनीतिमा तपाईहरु पछाडि पर्दा त्यति बिरत्तिदैनन् नेपाली जति आफूलाई बैकल्पिक शक्ति भन्ने तपार्इंहरु अल्मलिएको देख्दा निराश बन्छन् । त्यसैले पिनाबाट तेल झार्ने प्रयत्नको साटो किन तोरी छर्नेतर्फ ध्यान दिनुहुन्न । नयाँ पात्र राखेर सार्थक बहस चलाउनुहोस् । तपाईंकै पार्टीका युवा अर्थशास्त्री विशाल चालिसे जस्ता युवा र यदी अघिल्लो पुस्ताका भए कुनै दल बिशेषको टोपी नलगाएका पात्र राखेर मन्थन गर्नुस् ।      

प्रतिक्रिया दिनुहोस