
काठमाडौं । सरकारले तोकेको मूल्यमा नै दूध खरिद गर्न ३४ डेरी उद्योगले अपिल गरेको छ । ३४ वटा डेरी उद्योगहरूले संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो अपिल गरेको हो । इलाम जिल्लाको विभिन्न क्षेत्रमा नेपाल सरकारको मापदण्ड अनुसार दर्ता भई सञ्चालनमा रहेको दुग्ध डेरीको तर्फबाट विगत केही दिन यता दुग्धको मूल्यमा नेपाल सरकारले तोकेको मूल्य भन्दा भारी वृद्धि गरेको प्रति सम्पूर्ण दुग्ध डेरीको ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ । कृषकको दुग्धमा मूल्य वृद्धि भएको प्रति हामी अत्यन्तै हर्षित भएका तर कति स्थायित्व र दीर्घकालीन हुन सक्छ भन्नेमा चिन्ता रहेको डेरी उद्योगीहरूको भनाई छ ।
‘समग्र उपभोक्ताहरूलाई मार पर्ने तथा अवैज्ञानिक पद्धति अनुरूप मूल्य वृद्धि हुँदा नेपालबाट निकासी हुने छुर्पीले विश्व बजारमा समेत प्रतिस्पर्धा गर्न नसकेको कारण रेमिट्यान्समा प्रत्यक्ष असर पर्ने भएकाले राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थानलाई ध्यानाकर्षण गराउँदै राष्ट्रिय दुग्ध विकास बोर्ड ऐन २०४८ को दफा ६ (ख) बमोजिम नै मूल्य निर्धारण गर्नुपर्नेमा एकाध संघले सरकारको नीति माथि रहेर एकलौटी एकाधिकार कायम गरेर किसान प्रति निकट भविष्यमा निराशा र हतोत्साहित गर्ने कार्यमा उद्धत देखिएकाले हाललाई उक्त कार्य रोक्न र नेपाल सरकारले तोकिएको मूल्यमा नै खरिद विक्री गर्न गराउनको लागि सम्पूर्ण दुग्ध डेरी हार्दिक अपिल सहित यो प्रेस विज्ञप्ती जारी गरिएको छ’, विज्ञप्तीमा उल्लेख छ ।
जारी विज्ञप्तीमा हस्ताक्षर भएका उद्योगहरूमा लक्की डेरी, सनराईज डेरी उद्योग, पञ्चामृत डेरी उद्योग, टोलङ्ग डेरी उद्योग, अनुराधा डेरी उद्योग, हलेसी डेरी उद्योग, गौमाता डेरी उद्योग, ढुङ्गेल धारा डेरी उद्योग, कुशाङ्ग डेरी उद्योग, ओएशिस डेरी उद्योग, महत डेरी उद्योग, पारुहाङ्ग डेरी उद्योग र साम्पाङ्ग डेरी उद्योग रहेका छन् । त्यस्तै, विनायक डेरी उद्योग, अनमोल डेरी उद्योग इलाम चिज उद्योग, पञ्चकन्या डेरी उद्योग, सुन्दर डेरी उद्योग, बायाङ डेरी उद्योग, प्रधान डेरी उद्योग र केदारनाथ डेरी उद्योग रहेका छन् ।
प्रबल डेरी उद्योग, कन्चनजंघा डेरी, सागर डेरी उद्योग, दाजुभाई डेरी उद्योग, सुदिती डेरी उद्योग, मोर्गेन डेरी उद्योग, आचार्य डेरी उद्योग, सिताराम डेरी उद्योग, घिमिरे डेरी उद्योग, कन्चन ललिपप, कोसेली ललिपप, आशीमाला डेरी, इलामको सूर्योदय नगरपालिका ३ तिनखुट्टेको हिमालयन चीज उत्पादक संघ र सूर्योदय डेरी उद्योगले संयुक्त विज्ञप्ती जारी गरेका छन् ।
त्यस्तै, नेपाल डेरी एसोसिएसन बागमती प्रदेश मकवानपुरले आफूखुसी दूधको मूल्यवृद्धि गरेकोमा विरोध जनाएको छ । संघले एक विज्ञप्ती जारी गर्दै विरोध जनाएको हो । संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘दूध तथा दुग्ध पदार्थमा मूल्य समायोजन भएकोमा १ वर्षको अवधि भित्रै एकाध संघले एकलौटी दूधको मूल्य वृद्धि गरिएको निर्णय गरी आधिकारिक निकायलाई बेवास्ता गर्दै तमाम उपभोक्ता हित विपरीत र विभिन्न क्षेत्रमा दूधबाट चिज, मख्खन, घिउ, छुर्पी, खुवा, पनिर बनाउने व्यवसायीहरूको वस्तुको मूल्यमा प्रभाव पर्ने गरी कार्य गरेको छ । उक्त मूल्य हामीलाई स्वीकार्य नहुने र एकाध संघ संगठनलाई यसरी कार्य गर्ने हक अधिकार नभएकोले यस्ता हल्लाबाट समस्त दूध उत्पादक तथा व्यवसायीहरुले विश्वास नगर्न हुन अनुरोध छ ।’
केहि दिनदेखि डेरी उद्योग संघले दूधको मूल्य वृद्धी गरिरहेको भनी सामाजिक सन्जालहरुमा विभिन्न खाले सूचनाहरु आइरहेका छन् । गत १६ गतेदेखि लागु हुने गरी डेरि उधोग संघले एकलौटी रुपले गरेको मुल्य वृद्धि प्रति यस संघको जिल्ला कमिटी मकवानपुरको पनि गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
एकलौटी मुल्य वृद्धि राष्ट्रिय दुग्ध विकास बोर्डले अमान्य घोषणा गरी सके पनि डेरि उद्योग संघले आफु खुसि कार्यान्वयन गराउन दुग्ध सहकारी संस्थाहरु र दुरध संकलन केन्द्रहरुमा पत्र पठाई आधिकारिक निकायहरुलाई वेवास्था गर्दा उपभोक्ताको हित विपरीत वार्षिक ३ देखि ५ अर्ब विदेशि मुद्रा भित्र्याउने छुर्पि उद्योग लगायत खुवा, नौनी, चिज, पनिर जस्ता उद्योगलाई प्रत्यक्ष असर पर्ने गरी उद्योग नै धरासायी बनाउने डेरी उद्योग संघको उक्त कार्यलाई यस मकवानपुर जिल्ला कमिटि विरोध गरेको छ । उक्त कार्यले देशको आर्थिक समृद्धि निर्यात गरी टेवा पुर्याईरहेको उधोगहरु बन्द हुने अवस्थाको सृजना हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस