aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

काठमाडौंमा यस वर्षकै चिसो दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० पुस २०७९
काठमाडौंमा यस वर्षकै चिसो दिन
NIBL

काठमाडौं । काठमाडौंमा आज यस वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ । यहाँको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

शनिबार काठमाडौँको न्यूनतम तापक्रम ५ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो । केही दिनयतादेखि काठमाडौँ सहित देशभरकै तापक्रम घट्न थालेको महाशाखाले जनाएको छ । पुस लागेसँगै देशभर चिसो बढेको छ ।

यसैगरी आज जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ भने जोमसोमको माइनस ६ दशमलव १ र जिरीको माइनस शून्य दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् हिरा भट्टराईले जानकारी दिए । 

नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । यही प्रभावका कारण आज पश्चिमी क्षेत्रको मौसम बदली हुने मौसमविद् भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आज सुदूपश्चिम र कर्णाली प्रदेशको मौसम पूर्ण बदली हुने अनुमान गरिएको छ । 

काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा भने मौसम आंशिक मात्रै बदली हुने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार शनिबार कास्की, खोटाङ र म्यादीका केही ठाउँमा पानी परेको थियो । कास्कीको माछापुच्छ्रे बेस क्याम्पमा गरिएको मापनअनुसार त्यहाँ ३ दशमलव ६ मिलिमिटर, म्यादीको घोरेपानीमा १ दशमलव ५ मिलिमिटर र खोटाङको दूधकोकोसीमा २ मिलिमिटर पानी परेको मापन गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस