शीर्षकहरू

सुपर मादी हाइड्रोपावरको आईपीओ खरिदका लागि आजसम्म मात्र आवेदन दिन सक्ने

सुपर मादी हाइड्रोपावरको आईपीओ खरिदका लागि आजसम्म मात्र आवेदन दिन सक्ने

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले मंसिर २० गते देखि निष्कासन गरेको आईपीओ खरीदका लागि आयोजना प्रभावित स्थानीयले आजसम्म मात्र आवेदन दिन सक्ने भएका छन् । कम्पनीले छिटो अवधि पुस ५ गतेसम्म माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधि पुस २० गतेसम्म विक्री अवधि तोकेको थियो । तर यो बीचमै स्थानीयबाट मागभन्दा बढी आवेदन पर्न आएकाले पुस ७ गतेसम्म मात्र विक्री खुला गरिने जानकारी कम्पनीले दिएको हो । 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो । वैदेशिक रोजगारीमा गएका नेपालीले भने पुस ५ गतेसम्म आवेदन दिएका थिए ।  कम्पनीले सर्वसाधारणमा कुल रू. ३१ करोड ५० लाख बराबरको ३१ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ । अनुमति पाएको कुल कित्तामध्ये पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीयन र बैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरेको हो । 

आयोजना प्रभावित स्थानीयमध्ये पनि अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. १ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता, आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाका अन्य वडा नं ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका वडा नं. २६, २७ र २८ का स्थानीय बासिन्दाहरुको लागि ७ लाख ३५ हजार कित्ता छुट्याएको छ । 

कम्पनीले सर्वसाधारणलाई विक्री गरिने २१ लाख कित्तामध्ये १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता बैदेशिक रोजगारीमा रहेका नेपालीका लागि विक्री खुला गरेको हो । यो आईपीओ खरीदका लागि लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले एनसीसी बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र आयोजना स्थलबाट आवेदन दिन सक्नेछन् ।