
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले पुस २६ गते ११ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर २९ गतेको सञ्चालक समितिको बैठकले अर्पण ब्याङ्क्वेट, नयाँ बानेश्वर, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७८÷७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति दिनेछ ।
कम्पनीले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. २१ अर्ब २७ करोड ६२ लाख ६८ हजारको आधारमा ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस वर्ष कम्पनीले गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
सभाले उल्लेखित प्रस्तावसँगै स्वतन्त्र सञ्चालक पदमा एक जना नियुक्तीको विषय पनि टुङ्ग्याउनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस