aarthiknews.com बुधबार, १० असोज २०८०   Wednesday, 27 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

‘चर्को ब्याजदर र पेनाल्टीले गर्दा धेरै व्यवसायीहरू पलायन हुँदैछन्’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ पुस २०७९
himalayanlife
DHI
NIBL

लामो समय आयातमा प्रतिबन्ध लाग्दा सबैभन्दा धेरै असर परेको क्षेत्र हो, अटो मोबाइल्स । अटो मोबाइल्स क्षेत्र आयातमा निर्भर व्यवसाय भएकाले आयात प्रतिबन्धले सबैभन्दा बढी असर यसमा परेको छ । सरकारले शनिवारदेखि आयात प्रतिबन्ध खुला गरेको छ । तर, अझै पनि उपयुक्त वातावरण नबनेको भन्दै व्यवसायीहरू आन्दोलनमा छन् । अझै व्यवसायीहरू सरकारसँग किन रुष्ट बनिरहनु पर्‍यो ? अटो मोबाइल्स क्षेत्रका खास समस्याहरू के के हुन् ? जस्ता विषयमा नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालका केन्द्रीय कार्यसमिति सदस्य तथा जिओ अटो मोबाइल्सका म्यानेजिङ डाइरेक्टर आकाश गोल्छासँग आर्थिक न्युज डटकमका विजय फुयाँलले कुराकानी गरेका छन् । प्रस्तुत छ, सोही कुराकानीको सम्पादित अंश:   

सरकारले आयातमा प्रतिबन्ध लगाउँदा यसले अटो मोबाइल्स व्यवसायमा  कस्तो असर पार्‍यो ?   

जति बेला आयात प्रतिबन्ध लगाउने भनेर सरकारले भनेको थियो त्यो समयको लागि आयात प्रतिबन्ध गर्ने निर्णय ठिक थियो । त्यति बेला सरकारले लगाएको प्रतिबन्ध र नेपाल राष्ट्र बैंकले चालेको कदम एकदमै ठिक थियो । त्यति बेला श्रीलंका लगायत अन्य न्युनस्तरका देशहरू समस्या रहेको थियो । 

तेल, स्टील, प्लाष्टिक लगायत हरेक सामानहरूको मूल्य बढेको थियो । हामीलाई खाना र औषधि समेत किन्न नसक्ने स्थिति नहोस् भन्ने त्यति बेला जुन सोच राखिएको थियो, त्यो ठिक थियो । वैशाखमा आयातमा प्रतिबन्ध लगाउँदा असारसम्ममा धेरै नै सुधार भइसकेको थियो । त्यसैले यसअघि नै आयात खुला गर्नु पर्ने थियो । तर, ढिला गरियो ।  

आयात प्रतिबन्धका कारण सुरुवाती दुई तीन महिना खासै असर देखिएन । त्यति बेला एलसी खोलिएका गाडीहरू आइरहेका थिए । दशैं तिहारदेखि भने यस क्षेत्रमा बिस्तारै आयात प्रतिबन्धको असर देखिन थाल्यो । 

आयात प्रतिबन्ध भएको केही महिना हामीसँग स्टक भएका गाडीहरू हामीले बेच्यौँ । धेरैजसो गाडीहरूको स्टक सकियो । कम बिक्ने गाडीहरू मात्रै बाँकी रहे । यसो हुँदा हामीले जुन हिसाबले व्यापार गर्नु पर्ने हो त्यो गर्न पाएनौँ । 

हामी आयातकर्ताहरु एक्लै हुँदैनौं । हामीसँग धेरै जना जोडिएका हुन्छन् । डिलरदेखि यसमा आबद्ध कर्मचारीसम्म हुन्छन् । यी सबै मार्कामा परेका छन् ।  । तर, अहिले सरकारले आयात खुला गरेको छ । आयात खुला भए पनि धेरै गाडीहरू आयात हुँदैनन् । कमै हुन्छन् । पहिला हामीले सय गाडी बेच्थ्यौँ भने अहिले हामी २५ देखि ३० वटा गाडी बेचर भए पनि हाम्रो क्षेत्रसँग आबद्ध सबै जना जीवित रहन सकौँ भन्ने हाम्रो चाहाना छ ।  

अहिले आयात खुला भएको छ । के अब ती समस्याहरूलाई समाधान होलान् ? 

अहिले अटो मोबाइल्स क्षेत्रमा देखिएको समस्या आयात प्रतिबन्ध लगाएका कारणले मात्र भएको होइन । देशको आर्थिक स्थिति पनि राम्रो नभएकोले त्यस्तो भएको हो । बजारमा तरलता अभाव छ । त्यो समस्या बिस्तारै कम हुँदै गएमा थप सहज हुनेछ । अहिलेसम्म बन्द भएका सोरुमहरु खुल्न गाह्रो छ । तर, अब बन्द हुने अवस्थामा रहेका सोरुमहरुलाई यसले रोक्ने प्रयास गर्नेछ ।  

आयात प्रतिबन्ध खुला भएपछि पनि तपाईँहरू किन आन्दोलित नै हुनुहुन्छ ? 

अटो मोबाइल्सको आन्दोलनको एउटा माग आयात प्रतिबन्ध खुला हुने पर्ने भन्ने थियो । आयात प्रतिबन्ध खुला पनि भयो । अब हामी गाडी आयात गर्न पाउँछौँ । यो सकारात्मक हो । 

तर, यति मात्रैले भएन । अहिले के भइरहेको छ भने आयात प्रतिबन्धपछि नेपाल राष्ट्र बैंकबाट पनि धेरै पोलिसिहरु आएका छन् । जसले गर्दा आजको दिनमा हामीलाई बाच्न गाह्रो भएको छ । विभिन्न समस्या झेल्दै गाडी आयातकर्ताहरू अझै केही दिन बाच्न सक्लान् । तर, हाम्रो डिलरहरु, मध्यम स्तरका व्यवसायी र यसमा आबद्ध कर्मचारीहरूलाई झन् धेरै गाह्रो हुनेवाला छ । 

अहिले चालू पुँजी सम्बन्धी नयाँ मार्गदर्शनले बाँधेको छ । त्यो हेर्दा राम्रो छ । त्यसमा सानो सानो त्रुटिहरू छन् । त्यसलाई ठिक गरेर लागू गरियो भने त्यो राम्रो नै छ । त्यसमा सच्याउनु पर्ने कुरालाई सच्याउन ढिला गर्न हुँदैन । यस मार्गदर्शनमा भएका त्रुटिहरूलाई सच्याएर भरसक एक दुई वर्षपछि लागू हुने गरेर यो नियम आएको भए झनै राम्रो हुन्थ्यो । राम्रो कुरा गलत समयमा लागू गरियो भने काम गर्न सकिँदैन । अहिले हामीलाई पनि यस्तै भएको छ । 

चालू पुँजी बाहेक हाम्रो व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने अन्य विभिन्न नियमहरूका कारण पनि अटो मोबाइल्स व्यवसायी मार्कामा परेका छन् । धेरै आयातमा ५० प्रतिशत मार्जिन लगाउने र अन्य धेरै आयातहरूमा सय प्रतिशत मार्जिन लगाउने भनिएको छ । यसले गर्दा हाम्रो समस्या बढिरहेको छ । हामीले पैसा लगेर बैंकमा थुपार्नु परिरहेको छ । बैंकमा लगेर पैसा राख्यो तर, सामान आउँछ दुई तीन महिना पछि । जसले गर्दा हाम्रो लागत बढेको छ । यो समस्या अटो मोबाइल्स क्षेत्रमा मात्रै भएको होइन अन्य व्यवसायमा पनि यसले गाह्रो पारिरहेको छ । यो नियम पनि हटाउनु पर्छ भन्ने हाम्रो माग हो । 

ब्याजदरका कारण पनि हामीलाई समस्या परेको छ । चर्को ब्याजदरले समस्यामा परेकाहरूलाई पेनाल्टी समेत लगाएर समस्या थपिएको छ । यसले गर्दा पनि धेरै व्यवसायीहरू पलायन हुनु पर्ने स्थितिमा आएका छन् । 

अर्थतन्त्र सुधारका लागि चालेका कदमहरुमा अटो मोबाइल्स क्षेत्रले साथ दिनुको सट्टा गिजोल्न काम गरेको जस्तो देखियो नि, होइन ? 

हो, बजारमा अहिले तरलताको समस्या छ । यस्तो बेलामा बजारमा धेरै ऋण प्रवाह हुनुपर्छ भनेर हामीले भनिरहेका छैनौँ । हामीले लिएको ऋण तिर्नका लागि केही समय दिनु पर्छ । तरलतामा नै समस्या पर्ने गरेर हाम्रो माग पुरा गर्नु पर्छ भन्ने होइन । गाडीहरूको फाइनान्समा जोखिम भार पहिला ०.७५ प्रतिशत थियो अहिले १.५ गरियो । त्यसलाई पहिलेको नै गरियो भने चाहेको समयमा बैंकले दिन त सक्छ नि । आजको दिनमा बैंकले चाहेको समयमा पनि दिन सकेको छैन ।  

आम मानिसहरूमा अटो मोबाइल्स भनेको विलासीको वस्तु हो भन्ने छाप पारिएको छ । यो क्षेत्र बन्द भएर पनि केही फरक पर्दैन भनेर प्रचार गरिएको छ । तर, हरेक एउटा कुराहरूले गर्दा अर्कोमा असर परिरहेको हुन्छ । गाडीको आयातले गर्दा त्यसबाट कर पनि आइरहेको छ । अहिले सरकारलाई कर संकलनको लक्ष्य पुगेको छैन । 

विलासीको वस्तु भनेर जुन आयात प्रतिबन्ध लगाइयो त्यो जम्मा एक प्रतिशत मात्रै विदेशी मुद्रा हो । र, यसले ९ प्रतिशत कर तरिरहेको थियो । नाकामा तिरिने भन्सार करभन्दा बाहेक अन्य पनि इम्लोइदेखि शोरुमहरु बसेको ठाउँको भाडाहरू समेत रहेको छ । यसले गर्दा यस क्षेत्रमा सकारात्मक कुराहरू धेरै नै छ । सकारात्मक पाटोलाई पनि हेरेर अटो मोबाइल्स व्यवसायहरू बाच्ने वातावरण सरकारकाले बनाउनु पर्छ भन्ने हाम्रो माग हो । 

तपाईँहरूको माग पुरा गर्दा मुलुकको व्यापार घाटा बढेर जान्छ । यसलाई तपाईँ कसरी हेर्नु भएको छ ? 

व्यापार घाटा हरेक कुराहरूको मूल्य बढेर भएको हो । पेट्रोल, स्टिल, प्लाष्टिकको मूल्य बढेको हो । कोरोना महामारीपछि सबैजसो वस्तुको माग बढेको थियो । सबैले माग अनुसार खर्च गरे । कोरोना महामारीको बेलामा धेरै जना नेपाली विदेश जान पाएका थिएन । त्यसले गर्दा रेमिट्यान्स पनि कम आएको थियो । पर्यटन क्षेत्र पनि त्यति राम्रो थिएन । यी कुराहरू आजको दिनमा सुधार भइरहेको नै छ । अहिले आयात प्रतिबन्ध खुलाए पनि यसको असर धेरै हुँदैन ।

आफ्नो स्वार्थ मात्रै हेरेर अटो मोबाइल्स व्यवसायीहरूले आन्दोलन गरे भन्ने आरोप पनि छ । के त्यस्तो हो त ? 

विलासिताको गाडी तपाईँहरू कस्तोलाई भन्नु हुन्छ । अहिले सवारी साधन आवश्यकता पनि हो । सबैले आफ्नो आवश्यकता अनुसार गाडी किन्छन् । करोडौँ भन्ने गाडीहरूको त मात्रा नै कम रहेको छ । यसले गर्दा अर्थतन्त्रमा समस्या आउँदैन । यसमा सोच परिवर्तनको आवश्यकता हो । यसले देशको अर्थतन्त्र बिगारेको छैन । 

मुलुक समस्यामा नै पर्‍यो भने त्यसका लागि सहयोग गर्न हामी तयार छौँ । वैशाखदेखि आयात प्रतिबन्ध लगाउँदा हामीले पर्खेर नै बसेका थियौँ । त्यति बेला हामी सडकमा आएका थिएनौँ । अहिले हामी धान्नै नसकेर मात्रै सडकमा आएका हौँ । हाम्रो कुनै पनि माग देशको आर्थिक स्थिति बिगार्ने खालको छैन । हरेक व्यापारी बाच्नु भनेको पनि अर्थतन्त्र बच्नु हो । त्यसैले सरकार, नेपाल राष्ट्र बैंकले हामीलाई पनि हेर्नु पर्छ ।   

अमेरिकन फोर्ड गाडीको आधिकारिक डिलरको रूपमा तपाईँहरू हुनुहुन्छ । प्रतिबन्धको बिचमा तपाईँहरूले के कस्ता समस्याहरू झेल्नु पर्‍यो ? 

मेरो आफ्नो कुरा गर्ने हो भने प्रतिबन्ध लगाइएको बेला फोर्ड इन्डिया बन्द भएको थियो । त्यसले गर्दा मलाई गाडी बेच्न समस्या भएको थियो । प्रतिबन्धले मलाई धेरै नै राम्रो भयो । यो बिचमा यी सबैजसो गाडीहरू हामीले बेच्न सफल भयौँ । मेरो आफ्नो कम्पनीहरूको लागि मलाई धेरै राम्रो भएको छ । तर, मैले मेरो आफ्नो कम्पनीहरूको लागि मात्रै हेर्नु भएन । यस क्षेत्रलाई समग्रमा हेर्दा फोर्ड बाहेक अरूलाई भने राम्रो भएन ।    

 

प्रतिक्रिया दिनुहोस