यस्तो छ शेयर घट्नुको मुख्य कारण - Aarthiknews
aarthiknews.com मंगलबार, १४ माघ २०७६   Tuesday, 28 January, 2020
 
Bajaj_Bike

यस्तो छ शेयर घट्नुको मुख्य कारण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ भदौ २०७६
यस्तो छ शेयर घट्नुको मुख्य कारण
LBEF

काठमाडौं । मुख्यतया तीन कारणले शेयर बजार मापक नेप्से परिसूचक १२ सय अंकभन्दा तल आइपुगेको छ । लाभकर गणना विधिमा देखिएको अन्योल नटुंगिनु, नेपाल राष्ट्र बैंकले हालै ल्याएको निर्देशिकाले बैंक तथा वित्तीय संस्थाको नाफा २५ प्रतिशतसम्म घट्न सक्ने आँकलन र शेयर धितो कर्जामा चर्को ब्याजदर लगायतका कारणले नेप्से घट्न पुगेको हो ।

नयाँ आर्थिक वर्षसँगै उकालो लाग्ने तयारीमा रहेको शेयर बजारमा लाभकर भारित औसत दरको निर्धारण कुन विधिबाट गर्ने भन्ने बिषयमा अन्योल हुँदा बजार सुस्ताएको छ । यसैगरी नेपाल बैंकर्स संघले राष्ट्र बैंकको पछिल्लो निर्देशनले औसत ब्याजदर अन्तर गणना विधिमा गरिएको आकस्मिक तथा असान्दर्भिक परिमार्जनले बैंकिङ क्षेत्रको करिब ३० अर्ब अर्थात करिब २५ प्रतिशतभन्दा बढी नाफामा संकुचन आउने निष्कर्ष निकालेको थियो । यसको प्रत्यक्ष प्रभाव बैंकिङ क्षेत्रले तिर्ने आयकर, कर्जा प्रवाह गर्न सक्ने क्षमतालगायतका कुरामा पर्ने तथा ७५ प्रतिशत शेयर बजार ओगटेको बैंक तथा वित्तीय संस्थाको शेयर मूल्यमा उल्लेख्य गिरावट आई समग्र पुँजीबजारमा नकारात्मक असर पार्ने ठहर बैकर्स संघले गरेको छ । 

त्यस्तै लगानीयोग्य रकम अभाव भन्दै ८–९ प्रतिशत ब्याजमा पाइने शेयर धितो कर्जा १४–१५ प्रतिशत पुगेपछि लगानीकर्ता क्रसित बन्न पुगेका छन् । यी र यस्तै अस्थिर नीतिका कारण शेयर बजार १२ सय अंकभन्दा तल आइपुगेको हो । नयाँ वर्षको शुरुमा ११८८.७१ बिन्दुमा रहेको नेप्से बढेर १३२० अंकसम्म पुगेको थियो । अहिले घटेर नेप्से ११९७.७५ अंकमा आइपुगेको छ । नयाँ वर्ष शुरुभएदेखि यता मात्रै पनि नेप्से करिब १२३ अंकले घटेको छ । नेप्से घट्दै गएपछि पछिल्लो समय शेयर बजारमा चलहपहल कम हुँदै गएको छ । 

बैंक तथा वित्तीय संस्थाले धमाधम लाभांश वितरणको सूचना सार्वजनिक गर्न थालेका छन् । तर, त्यसले पनि शेयर बजारमा सुधार ल्याउन सकेको छैन । सरकारको अस्पष्ट नीति, बैंकको ब्याजदरलगायतका कारणले शेयर बजार ओरालो लाग्न पुगेको विश्लेषकको भनाइ छ । बजारप्रति सकारात्मक धारणा बनाउँदै आएका लगानीकर्ताले पछिल्लो समय नसकारात्मक धारणा बनाउन पुगेका छन् । 
बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अभावको समस्या सामाधान हुने अपेक्षा गरिएको थियो । तर, त्यो अपेक्षा पूरा हुने सम्भावना देखिएको छैन् । लगानीकर्ताहरु शेयर धितोकर्जा एकल अंकमा ल्याउन जोड दिइरहेका छन् । शेयर कर्जा १० प्रतिशतको हाराहारीमा आउने हो भने पनि शेयर बजार बुलिस ट्रेनमा जाने ब्रोकरहरु बताउँछन् । 

विगत तीन वर्षदेखि नै बैंक तथा वित्तीय संस्थाले लगानीयोग्य रकमको अभाव खेपिरहेका छन् । त्यसकै प्रभावका कारण शेयर बजार निरन्तर ओरालो लाग्दै आएको हो ।  २०७३ साउन १२ गते कीर्तिमानी १८८१.४५ बिन्दुमा पुगेको नेप्से निरन्तर ओरालो लाग्दै आएको छ । नेप्से १२ सय अंकभन्दा तल आइपुगेको छ । सरकारी ढुकुटीमा रहेको रकम वर्षको अन्त्यमा मात्रै  खर्च  हुने परिपाटीले लगानीयोग्य रकमको अभाव देखिँदै आएको छ । राष्ट्र बैंकले लगानीयोग्य पुँजी अभावको समस्या समाधान गर्न विदेशी बैंकबाट कर्जा ल्याउने व्यवस्था गरे पनि बैंकहरुले ल्याउन सकिरहेका छैनन् । विदेशी बैंकबाट लिने कर्जाले बैंकिङ प्रणालीमा देखिएको तरलता समस्या समाधान हुने र समग्र कर्जाको ब्याजदर घट्ने अपेक्षा गरिएको भए पनि त्यो आकासको फल आँखातरी मरजस्तै भएको छ । 
 

प्रतिक्रिया दिनुहोस