aarthiknews.com शुक्रबार, १९ जेठ २०८०   Friday, 02 June, 2023
 

भूकम्पपीडित भन्छन्, ‘घरले पेट अघाउँदो रहेनछ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ मंसिर २०७९
भूकम्पपीडित भन्छन्, ‘घरले पेट अघाउँदो रहेनछ’
NIBL

ढोरपाटन । काठेखोला गाउँपालिका–५ बिहुँ करलिममा एकैनासका १० घर छन् । सिमेन्टको ब्लकको पर्खाल । निलो जस्तापातको छानो । झट्ट हेर्दा लाग्छ यहाँ बस्ने स्थानीय सुखी नै छन् । यहाँ बस्ने दलित समुदायको पीडा छुट्टै छ । विसं २०७२ वैशाखमा आएका भूकम्पले काठेखोला–५ काउले गाउँमा रहेको उनीहरुको घर भत्कियो । त्यही बर्खागाउँ नै पहिराले चिराचिरा पर्यो ।

घरसहित भएभरको सम्पत्ति पहिराको उच्च जोखिममा परेपछि उनीहरु घरबासविहीन भए । केही वर्ष उनीहरु छरछिमेकी र आफन्तकामा आश्रय लिएर बसे । सरकारले १० घरपरिवारलाई गत वर्ष बिहुँ करलिममा नमुना बस्ती निर्माण गरेर हस्तान्तरण गर्यो । उनीहरुले घर त पाए तर सामान्य आधारभूत आवश्यकता परिपूर्ति गर्ने माध्यम भने पाएनन् । भूकम्पपीडितले अहिले सरकारसँग सामान्य भए पनि रोजीरोटीका लागि रोजगारको माग गरेका छन् । 

स्थानीय माया परियार भन्छिन्, “दैव पनि हामी गरिब दुःखीमाथि लाग्यो, सात वर्ष अगाडि भुइँचालो र पहिराले घरबारी सबै चिराचिरा पारिदियो, घर र भए भरको सम्पत्ति बस्न नमिल्ने गरी भत्किएपछि हामी धेरै वर्ष बाटोमा बस्यौँ, पोहोर सरकारले यो ठाउँमा घर बनाइदियो र यहाँ सर्यौँ, सरकारबाट अरु सेवासुविधा भने केही पाउन सकेका छैनौँ ।”

परियारले आफ्नो तीन जनाको परिवार रहेको र गरिखाने ठाउँ नहुँदा बिहानबेलुकीको छाक टार्न समस्या भएको बताइन । उमेरले ६० वर्ष काटिसकेकी मायालाई अहिले बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने चिन्ता छ । गिट्टी कुटेर परिवार चलाएको भन्दै हातपाखुराले काम गर्न छाडे भोकै बस्नुपर्ने चिन्ताले उनलाई सताइरहेको छ ।

“अहिलेसम्म त हातपाखुरा चल्दैछन्, दुई÷चार दिन काम गरे भने बिहान बेलुकी छाक टर्छ, घरले खानलाउन दिने रैनछ”, परियारले भनिन्, “अहिले त काम पनि पाइएको छैन, चिसो बढ्न लाग्यो, यो बेला काम गर्न गाह्रो हुन्छ, थोरै आफ्नै बारी भएको भए मकै कोदो लगाएपछि खानपुग्थ्यो ।”

अर्का स्थानीय रुपा परियारले नमुना बस्तीमा खानेपानीको चरम अभाव रहेको बताइन् । उनले खानेपानीको जोहो गर्न घण्टौँ बिताउनुपर्ने अवस्था रहेको बताइन्  । सबै गाउँमा मोटरबाटो पुगे पनि आफूहरुको बस्तीसम्म सडक नपुगेको उनको गुनासो छ । सरकारले आफूहरुका लागि खानेपानी र सडक निर्माण गरिदिए सहज हुने उनको भनाइ छ ।

परियारले घरसँग जोडिएको बाँझो जमिनलाई देखाउँदै भनिन्, “हाम्रो सम्पत्ति भनेको यही घर मात्रै हो, यो जमिन पनि अरुको पर्छ, घर मात्रै भएर के गर्ने, गरिखाने ठाउँ छैन, काम गर्ने कहाँ गर्ने रु के काम गर्ने रु, निकै अप्ठ्यारो अवस्थामा छौँ हामी ।”

पहिराले नबगाउँदासम्म आफ्नो गरिखाने जग्गाजमिन प्रशस्तै भए पनि अहिले उक्त ठाउँमा ढुङ्गा मुडामात्रै थुप्रिएको उनको भनाइ छ । सरकारले पीडितका लागि गरिखाने ठाउँ नदिए पनि रोजगारीको अवसर मिलाइदिन परियारले अपिल गरिन्। 

स्थानीय लालबहादुर दमाईंले आफूलाई सरकारले कुनै पनि सहयोग नगरेको गुनासो गरे । उनले आफ्नो घर भूकम्पले भत्किएको र जग्गाजमिन सबै पहिराले बगाएको भन्दै अहिले आफू सडक कुनामा बस्नुपरेको बताए । दमाईंले सबै पीडितले घर पाउँदा आफू वञ्चित भएको गुनासो गरे ।

उनी भन्छन् “गाउँका अरु जस्तै म पनि भूकम्प र पहिरापीडित हुँ, अरुको जस्तै अवस्था हो मेरो, अरुले घर भए पनि पाए मैले त्यही घर पनि पाएन, अहिले सडक छेउमा छाप्रो बनाएर बस्दै आएको छु, खानालाउनको पनि उस्तै समस्या छ, बुढो भए काम गर्न सक्दैन ।”

गाउँपालिकाका अध्यक्ष राजु थापाले नमूना बस्तीमा रहेको खानेपानी समस्या समाधानका लागि गाउँपालिकाले योजना बनाएको जनाउँदै उक्त समस्या केही समयमै समाधान हुने बताए । उनले यस बस्तीसम्म सडक पु¥याउने प्रयास थालेको बताए ।

प्रतिक्रिया दिनुहोस