aarthiknews.com विहीबार, १९ माघ २०७९   Thursday, 02 February, 2023
 
kalapathar

स्थानीय प्रविधि र पूर्वाधार विकासमा अर्को एक पाइला खोला तर्नका लागि रोपवे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ मंसिर २०७९
nabil bank
kispangmun.gov.np/
स्थानीय प्रविधि र पूर्वाधार विकासमा अर्को एक पाइला खोला तर्नका लागि रोपवे
bhotekoshimun.gov.np/
LBF
  • गुणराज ढकाल

प्राकृतिक सम्पदाको अथाह स्रोतले भरिएको हाम्रो देश आफैँमा विविधतापूर्ण छ । क्षेत्र-क्षेत्र बिच पाइने भौगोलिक विषमता आफैँमा चुनौती र सम्भावना बोकेर उभिएको छ । झन् विगतको दशक लामो सशस्त्र द्वन्द्व तथा त्यसको असरले सामाजिक संरचना त भत्काएको छ नै त्यसको साथै प्राविधिक विकासको सम्भावनालाई पनि पर हुत्त्याइ दिएको छ । एकातिर देशको समग्र अवस्था नै दारुण छ भने अर्को तिर देशका भोलिका देश विकासका खम्बाहरू मानिने युवाहरूको अवस्था त झन् निराशाजनक छ ।  

चुलिँदै गएको चुनौती र हुर्किँदै गएको निराशा बिच उनीहरूको टेक्ने ठाउँ आम युवाहरूको धारणामा त्यति सहज छैन । यी सबै निराशा र कुण्ठाहरू बिच थपिरहेको अर्को डरलाग्दो चुनौती हो प्रतिभा पलायन । दक्ष एवं अर्धदक्ष जनशक्ति समय र मौका मिल्नासाथ परदेशको बाटो ताकि हाल्दछन् बाँकी जति पनि जनशक्ति छ । उनीहरु पनि उपयुक्त जागिर वा उनीहरूको आशा पुरा हुन नसकेको देखि मानसिक तनाव झेलिराखेका हुन्छन् । यत्रो युवा जन शक्ति जसलाई पूर्ण रूपमा सदुपयोग गर्न सकिन्थ्यो, यत्रो अल्मल्याहट किन ? समस्या समाधानको साँचो आखिर यही नेरै उभिएको छ ।

त्यसैले युवाको विग्रदों मानसिक दशा एवं परनिर्भरताको बाध्यात्मक अवस्थालाई मेटाउनको निम्ति युवाले आफ्नो भूमिका खेल्न ठाउँ पाउने कार्यहरूको सृजना हुनुपर्छ । त्यसैले स्थानीय स्तरका युवाहरूलाई स्थानीय स्रोत साधन र सीपको सदुपयोग हुने गरी त्यहीको क्षेत्रमा मिल्न सक्ने हुने किसिमको कुनै पनि कार्यक्रमहरू लैजान सकियो भने युवाहरू परिचालित हुने अवसर पाउँछन् । 

कार्यक्रमको स्तर हेरेर स्थानीय युवाहरूलाई उनीहरूकै सीपको कदर हुने गरी उनीहरूलाई परिचालन गर्न सकियो भने उनीहरूमा क्षमता अभिवृद्धि हुने छ, यसबाट बेरोजगार युवाहरूको सङ्ख्यात्मक मात्रा घट्ने छ । साथै आफ्नो घर अगाडी रहेका गैरी खेत बेचेर अरबियन मुलुकका भूमिमा परदेशी भएर सस्तो तलबमा काम गर्नु पर्ने बाध्यता पनि निकै हदसम्म घट्नेछ । 

विकासको मूल प्रवाहबाट वञ्चित रहेका जनताहरूलाई प्रविधि सम्म पहुँच पुर्‍याई उनीहरूको जीवनयापनलाई सहज सरल बनाउनु अपरिहार्य छ । त्यसैले विकासको जग बलियो बनाउन राज्य रूपान्तरण प्रक्रियालाई सकारात्मक मार्गमा लम्काउन र विपन्न र पिछडिएका जनताको घर दैलोमा दिगो विकासको चहकिलो बत्ति बाल्न पूर्वाधार प्रविधि अत्यन्त आवश्यक छ ।

यसै परिपेक्षमा ग्रामीण पूर्वाधार विकास समूह नेपाल ले ग्रामीण समुदायको आय स्तर वृद्धि गर्नको लागि दक्ष, अर्धदक्ष तथा अदक्ष युवाहरूको संयुक्त प्रयासमा सहकार्य गरेर कार्यान्वयन गर्न सकिने पूर्वाधार प्रविधिहरुको विकास गरेको छ । पूर्वाधार प्रविधिको रूपमा अधिकतम स्थानीय स्रोत साधनको प्रयोग गरेर स्वदेशी प्राविधिक जनशक्ति र अन्य युवा शक्तिको संयुक्त प्रयासमा लघु जलविद्युत तथा साना जलविद्युतबाट विद्युत् उत्पादन गरेर दिवा समयमा खेर जाने बिजुलीबाट यातायातको साधनको रूपमा स्थानीय रज्जु मार्ग, लगायत विभिन्न औद्योगिक क्रियाकलापहरू उपयुक्त ढङ्गले सञ्चालन गर्नु आजको आवश्यकता हो । 

आजको युग प्रविधिकको युग हो, प्रविधिको विकास विना देश विकास सम्भव छैन । विदेशी उच्च प्रविधि आफैँमा अत्यन्त महँगा हुन्छन् । त्यसैले नेपालको दिगो विकासका लागि उपयुक्त प्रविधिहरूको खोज, अनुसन्धान तथा पहिचान गरी पूर्वाधार प्रविधिहरूको विकास लाई प्रमुख प्राथमिकता दिनुपर्छ । परम्परागत प्रविधिहरूको अध्ययन, अनुसन्धान गरी तिनीहरुको स्थानीय मान्यतालाई कायम राख्दै अन्तर्राष्ट्रिय मापदण्डसम्म पुर्याउनु पर्छ । 

असीमित प्राकृतिक सम्पदाको धनी देश नेपालको ८३ प्रतिशत भू–भाग पहाडै पहाडले ढाकेको छ । तिनै पहाडहरूको खोचमा अवस्थित करिब ६ हजारको सङ्ख्यामा रहेका नदीनालाको उपस्थितिका कारण आज हाम्रो देश विश्वसामु तुलनात्मक रूपमा जल सम्पदाको धनी देशको रूपमा चिनिएको छ । तर तिनै नदीनालाको उपस्थिति दुर्गम पहाडी भेगमा बसोबास गर्ने किसानहरूका लागि चाहिँ अभिशाप बन्न पुगेको छ । किनभने नदीको अर्को किनारमा रहेको बजार क्षेत्र वा सडकसम्म पुग्न केवल पाँच मिनेट लाग्ने बाटोलाई पनि तिनै खोलानालाको कारण वैकल्पिक बाटोको रूपमा २–३ घण्टाभन्दा बढी हिँड्नुपर्ने बाध्यता रहेको छ । साथै शिक्षा, स्वास्थ्य, रोजगार समेतबाट वञ्चित बन्नुपर्दा उनीहरूको जीवन कष्टमय बन्दै गएको छ । 

स्थानीय स्तरमा उत्पादित विद्युत् शक्तिबाट सञ्चालन भई दुर्गम पहाडी भेगका किसानहरूलाई व्यापारीहरू सँग सम्पर्कमा आउन, उनीहरूका कृषि उत्पादन बेचबिखनलाई प्राथमिकता दिन, उनीहरू नदी पारीको गाउँ÷बजारमा भएका शिक्षा, स्वास्थ्य, रोजगारबाट वञ्चित नहोउन् भन्ने उद्देश्यका साथ दिवा समयमा, खेर गइरहेको विद्युत् शक्तिको प्रयोगबाट सञ्चालन हुने परम्परागत तुईन घिर्लिङलाई मेकानाईज्ड गरी नेपालमा विद्युत् शक्तिबाट सञ्चालन हुने खोला तर्ने नयाँ प्रविधिको रूपमा मेकानाईज्ड वृज अर्थात् यान्त्रिक पुलको विकास गरिएको हो । 

उक्त यान्त्रिक पुल विश्व बैंकको सहयोगार्थ नेपाल विकास बजार मञ्चलेद्वन्द्व प्रभावित क्षेत्रहरूको गरिबी निवारणको लागि उपयुक्त प्रस्ताव “लौन अब त केही गरौँ” नाराका साथै आयोजना गरेको देशव्यापी प्रतियोगितामा उत्कृष्ट ठहरिएको परियोजना हो । हाल यो तनहुँको दुलेगौडा गाविसस्थित कोत्रेबाट कास्की जील्लाको भरत पोखरी गाविसको पूँडीटारमा सेती नदी माथि ५२० मिटरको लम्बाई र २५ मिटरको उचाइ भिन्नतामा निर्माण सफलता पूर्वक सम्पन्न भई विगत २ वर्ष देखि सञ्चालित भइरहेको छ भने गरिबी निवारण कोष तथा स्थानीय पहलमा सिन्धुली जिल्लाको टाँडी गाविस अन्तर्गत धनसरी र उदयपुर जिल्लाको त्रिवेणी गाविस अन्तर्गत वेलसोत बिच कमला नदी माथि ६३५ मी लामो यान्त्रिक पुलक निर्माण अन्तिम चरणमा पुगेको छ । दुवै आयोजनाहरू ग्रामीण पूर्वाधार विकास समूह नेपाल (ग्रिड नेपाल), र एकीकृत प्रविधि विकास नेपाल ललितपुरको नेतृत्व, पहल, डिजाइन, उत्पादनमा जडित छन् । 

उद्देश्य

– स्थानीय स्तरमा उपलब्ध स्रोत साधन र जनशक्तिको अधिकतम प्रयोग गरी स्थानीय स्तरमा

-उत्पादित विद्युत् शक्तिको प्रयोगबाट दुर्गम पहाडी भेगका बासिन्दाहरूलाई बजार क्षेत्रमा सम्पर्क

-गराई शिक्षा, स्वास्थ्य, रोजगारका अवसरहरुको श्रृजना गर्ने ।

– स्थानीय उद्यमीहरूलाई औद्योगिक क्रियाकलापमा सक्रिय हुन हौसला प्रदान गर्ने ।

– नेपालमा रोपवे प्रविधिको व्यापक विकास र विस्तार गर्ने ।

– नेपाली परम्परागत तुईन घिर्लीङ्ग प्रविधिलाई विकसित गराई स्थानीय मर्म तथा अन्तर्राष्ट्रिय

-मापदण्डलाई मध्यनजर राख्दै रोपवे तथा केवल कारसँग परिचित गराउने।

–दुर्गम क्षेत्रमा उत्पादन हुने कृषिजन्य उत्पादनहरू समयमा नै बजार क्षेत्र पु¥याई बिक्री वितरण गरी

-ग्रामीण जनजीवनको जीवनस्तर अभिवृद्धि गर्न सघाउ पु¥याउने । 

-नेपाली प्रविधिकहरुको मनोबल बढाई देशमा बढ्दै गइरहेको प्रतिभा पलायनलाई निरुत्साहित गर्ने । 

मेकानाइज्ड वृजले कसरी काम गर्छ त ? 

मेकानाइज्ड वृज दोहोरोलठ्ठा दोहोरो दिशामा आधारित रोप वे हो । स्थानीय स्तरमा उत्पादित विद्युत् शक्ति नै यसको प्रमुख इन्धन हो । साथै डिजेलबाट चल्ने जेनेरेटर वैकल्पिक इन्धनको रूपमा व्यवस्था गरिएको हुन्छ । विद्युत् शक्ति र डिजेल दुबै उपलब्ध नभएको अवस्थामा तेस्रो विकल्पको रूपमा मानव शक्तिकै आधारमा सञ्चालन गरेर खोला पारी तर्न सकिन्छ । नियन्त्रण इकाइबाट स्विच दवाए पछि २५ अश्व शक्तिको मोर्टारले फित्ताको सहायताले गियर बक्स घुमाउन थाल्छ र गियर बक्समा फलामको चक्कालाई तेर्सो पारि गाँसिएको हुन्छ । 

यसले गर्दा लठ्ठा घुम्दा बायाँ किनाराको ट्रली दायाँ किनारा आइपुग्छ र दायाँ किनाराको ट्रली स्वतः बायाँ किनारा आइपुग्छ । अपरेटरले आवश्यकता अनुसार गति बढाउन तथा घटाउनका लागि क्लच सिस्टम र ब्रेक सिस्टमको पनि व्यवस्था गरिएको हुन्छ । यात्री बस्ने कोक्रो रोक्नको लागी प्लेटफर्म र ड्राइभ सचेतकको व्यवस्था गरिएको हुन्छ भने सामान्य अवस्थामा अपरेटरले सिवधको सहायताले रोक्न सक्छ । ड्राइभ टर्मिनलबाट अपरेटरले विद्युतीय मोटर चलाइदिएपछि लठ्ठा ( तार) घुम्न थाल्छ जसमा ५०० के.जी. तौल सम्म पूर्ण सुरक्षित तरिकाले धान्ने गरी दुई वटा ट्रली जोडिएको हुन्छ ।

ट्रलीको माथिल्लो भाग लचक दार जोर्नीको सहायतालेभि ट्र्याक लठ्ठामा ८ ओटा पुल्लीसँग जडान गरिएको हुन्छ । अपरेटर तथा सर्वसाधारण यात्रुहरूलाई बुझ्न सजिलो होस भनेर प्यानल बोर्डमा रातो, हरियो तथा पहेँलो रङ्गका स्विचहरुको समेत व्यवस्था गरिएको हुन्छ, विश्वव्यापी यातायात सूचकहरूका साथमा भोल्टमिटर, एमिटरको आपतकालिन स्विच तथा शुरु गर्ने स्विच समेतको व्यवस्था गरिएको हुन्छ । मेकानाइज्ड बृज सञ्चालन गर्नको लागी अपरेटरलाई सामान्य प्राविधिक तालिम दिए पछि सञ्चालन तथा सामान्य मर्मतको लागि समेत सक्षम हुन्छन् । 

परम्परागत साधन तुइन/घिलीङ्ग, प्रयोग गर्दै वारिपारि गर्नुपर्ने बाध्यताबाट मुक्ति दिने यो साधन भिराला पहाडहरूमा प्रयोग गर्न सकिन्छ । यो प्रविधि स्थानीय स्तरमा उत्पादित लघु जलविद्युत शक्तिबाट समेत सञ्चालन हुन्छ जहाँ दिवा समयमा विद्युत् शक्ति खपत गर्न नसकेर खेर गइरहेको हुन्छ । नेपाली प्राविधिकहरुद्धारा देश भित्रै उपलब्ध स्रोत साधनको अधिकतम उपभोग गरी स्थानीय जनशक्तिलाई सीप हस्तान्तरण गरी स्थानीय जनता कै सक्रिय सहभागितामा सञ्चालित हुने यो प्रविधि अत्यन्त व्यवहारिक र मौलिक छ ।

परम्परागत रूपमा प्रयोग गरिदैं आएका तुइन, घिर्लिङ र परम्परागत पुलहरु ३५० मिटर भन्दा बढी लम्बाइमा बनाउनु प्राविधिक तथा आर्थिक दृष्टिकोणले अनुपयुक्त देखिन्छन् । तर यो मेकानाईन्ड बृज १५०० मिटरसम्मको लम्बाइमा पनि बनाउन सकिने भएकोले धेरै उपयोगी हुने देखिन्छ ।

मागका आधारमा सञ्चालित कार्यक्रम भएकोले समुदायमा आफ्नोपनाको भावना जागृत गराई योजना बनाउने कार्यदेखि नै समुदायको सहभागिता हुने हुँदा उनीहरू त्यसको उचित व्यवस्थापन गर्न सक्षम हुने विश्वास लिइएको छ । उनीहरूलाई सामान्य तालिम प्रदान गरेपछि मर्मत तथा संभारको लागि पनि सक्षम हुनेछन् ।

मेकानाइज्ड वृजको प्रयोग गरी नदी वारपार गरे बापत यात्रुले समुदायले निर्धारण गरेको शुल्क तिर्ने हुँदा उक्त रकमले मर्मत सम्भार गर्न तथा आवश्यक पर्ने पाट पुर्जा, मेसिन फेर्न समेत समुदाय सक्षम हुने देखिन्छ । 

त्यसबाट पनि बचत भएको पैसा उनीहरूले आलोपालो गरी आय आर्जनका क्रियाकलापहरू जस्तै तरकारी खेती, बाख्रा पालन, कुखुरा पालन, अदुवा खेती, भैंसीपालन, इत्यादिका लागि सस्तो ब्याजमा ऋण प्रवाह गरी गरिब किसानहरुको जीवनस्तर समेत अभिवृद्धि गर्न सक्छन् ।

ग्रामीण जनजीवनको जीवनस्तर अभिवृद्धि गर्ने अभिप्रायले निर्माण गरिने यस मेकानाइज्ड वृजका कारण ग्रामीण जनताहरू, शिक्षा, स्वास्थ्य, रोजगार, कृषि उत्पादन समयमै बजारमा पुर्‍याई बेचबिखन इत्यादि कुरामा सघाउ पुग्ने भएकाले दीर्घकालसम्म दिगोरुपमा सञ्चालन गर्न समुदाय स्वयं सक्रिय हुनेछ ।

उपभोक्ता स्वयं लगानीकर्ता भएकोले परियोजनाको प्रत्येक चरणमा उनीहरूको सहभागिता हुन्छ । परियोजनाबाट प्राप्त प्रतिफलमा उनीहरूकै हक हुन्छ । त्यसैले उनीहरू परियोजना सञ्चालनमा हरबखत लागि पर्दछन् । 

नेपाली प्राविधिकहरूकै सक्रिय पहलमा उनीहरूकै डिजाइनबमोजिम बनेको प्रविधि भएकोले प्राविधिक समस्या आइहालेमा तुरुन्तै सम्पर्क गरी मर्मत तथा सम्भार गर्न सकिने, यी प्रविधिहरूको पार्टपुर्जाहरू नेपालभित्रै नेपाली प्राविधिकले निर्माण गरेको हुनाले स्थानीय कारखानाहरुमै सम्पूर्ण पार्टपुर्जा उपलब्ध हुने यी प्रविधिहरू नेपालको आफ्नै मौलिक उत्पादन हुन् ।

नेपाल जस्तो पहाडी जटिल धरातल भएको क्षेत्रमा एक ठाउँबाट अर्को ठाउँसम्म पुग्नका लागि तुइन, घिर्लिङ आदिको सट्टा मेकानाइज्ड बृजको अत्यधिक सम्भावना देखिन्छ । मेकानाइज्ड ब्रिजको सफलतासँगै स्थानीय रोपवेको स्थापना हुने भएकोले गाउँ तथा बेसीसम्म जानका लागि पनि स्थानीय रोपवेहरू प्रयोग हुनेछन् जसले गर्दा मेकानाइज्ड बृजले नेपालमा रोपवे स्थापना तथा सञ्चालन गर्न कोषे ढुङ्गाका रूपमा महत्त्वपूर्ण भूमिका खेल्नेछ । 

निष्कर्षमा भन्नुपर्दा युवा अवस्था जोश जाँगरले भरिएको हुन्छ त्यही जोश जाँगर, सृजनशीलता र कार्य कौशलता प्रदान गर्दै दक्ष,अर्धदक्ष र अदक्ष जनशक्तिको ज्ञान, सीप र अनुभव आदानप्रदान गर्दै समूहगत रूपमा सहर्काय गर्दै राष्ट्र निर्माणमा सहभागी गराउन सके नयाँ नेपाल निर्माण त के समृद्ध शाली देशहरूको अग्र पङ्क्तिमा उभ्याउन पनि सकिन्छ । योजनाको पहिचानका लागि सकेसम्म नेपालका भूगोल भित्र स्थानीय स्तरमा उपलब्ध स्रोतसाधन प्रविधि र जनशक्तिको व्यापक परिचालन हुनसक्ने कार्यक्रमलाई बढी महत्त्व दिनुपर्छ । 

देशको कुना काप्चामा छरिएर रहेका आन्तरिक स्रोत साधन प्रविधि र जनशक्तिको परिचालन नगरी पूर्णरुपमा वैदेशिक सहयोगको आशा र भरोसा गर्दा देश विकासको नाममा जतिसुकै ठूलो रकम भित्रिए पनि जति नै ठूलो प्रविधि भित्रिए पनि यसको उचित व्यवस्थापन, विनियोजन र आर्थिक  अनुशासनको अभावले गर्दा ग्रामीण विकास ओझेलमा पर्न जान्छ अनि विकास प्रक्रिया केवल कागजी प्रतिवेदनमा मात्र सीमित रहन्छ । स्थानीय युवाहरूलाई उद्यमशीलता सम्बन्धी चेतनाको विकास गर्नु पर्छ ।

युवाहरूलाई ग्रामीण विकासमा व्यापक सहभागी गराउनका लागि लादिएका विकासका क्षणिक नारा र आश्वासन अनि कागजी प्रतिवेदनमा मात्र सीमित राख्न हुँदैन उनीहरूलाई त योजनाको प्रारम्भिक चरण देखि प्रत्यक्ष सहभागी गराई नीति निर्माण देखि योजनाको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन, आदिमा स्थानीय स्तरमा उपलब्ध स्रोत, साधन, प्रविधि र जनशक्तिको अधिकतम परिचालनको रणनीति अनुरूप विकास प्रक्रिया प्रति युवाहरूलाई उत्तरदायी र जिम्मेवार वनाउनु आजको आवश्यकता हो । 

प्रतिक्रिया दिनुहोस