
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ ११ लाख मत कटाएको छ । भने सत्ता गठबन्धनको माधबकुमार नेपाल अध्यक्ष रहेका नेपाल एकिकृत समाजवादीले पनि राष्ट्रिय पार्टी बनाउने कसरत शुरु गरिएको छ ।
एकिकृत समाजवादीलाई राष्ट्रिय पार्टी हुनलाई अझै झण्डै १५ हजार भोट चाहिन्छ । अहिले एकिकृतले २६४५०० मत पाएको छ । अब हुन लागेका निर्वाचन क्षेत्रमा गठबन्धनका दलले समानुपातिकमा सबै मत एकिकृतलाई हालेर भएपनि राष्ट्रिय पार्टी बनाउने योजना बन्दै गरेको नेताहरुले बताएका छन् ।
कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता मध्ये ६१ प्रतिशत मतदानमा सहभागी हुँदा देशभरबाट एक करोड ९ लाख ७० हजार बढी मतदान भएको देखिन्छ। राजनीतिक दल सम्बन्धी ऐन अनुसार प्रतिनिधिसभामा राष्ट्रिय दल बन्न प्रत्यक्षतर्फ कम्तीमा एक सिट र समानुपातिक तर्फ दलहरूले प्राप्त गरेको कुल सदर मतको कम्तीमा तीन प्रतिशत मत ल्याउनुपर्छ।
निर्वाचन आयोगले अनुमान गरेजस्तै तीन लाख हाराहारी मत बदर भएको अवस्थामा एक करोड ६ लाख मतको तीन प्रतिशत मत ल्याउने दलले समानुपातिक प्रणालीबाट संसद्मा आफ्ना उम्मेदवार निर्वाचित गराउन सक्छ।
मंगलबार बिहान १० बजेको अद्यावधिक विवरणअनुसार माओवादी केन्द्रले ११ लाख १ हजार ७२९ मत पाएको हो । ११ लाख मत कटाएर माओवादी केन्द्रले तेस्रो स्थान हासिल गर्दा २५ लाख ८६ हजार मतसहित नेकपा एमालेले पहिलो स्थानमा छ । यस्तै २४ लाख ५३ हजार मतसहित कांग्रेस दोस्रो स्थानमा हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७१ हजार मत पाउँदै चौथो स्थान हासिल गरेको छ ।
प्रतिक्रिया दिनुहोस