aarthiknews.com विहीबार, २६ माघ २०७९   Thursday, 09 February, 2023
 
kalapathar

रोकिएन सहकारीको ठगी, ४ करोडबढि मागदावी गर्दै ६३४ जनाको उजुरी

  • सम्झना बरुवाल
    सम्झना बरुवाल
  • सोमबार, १२ मंसिर २०७९
nabil bank
kispangmun.gov.np/
रोकिएन सहकारीको ठगी, ४ करोडबढि मागदावी गर्दै ६३४ जनाको उजुरी
bhotekoshimun.gov.np/
LBF

काठमाडौं । पछिल्लो समय सहकारी संस्थाहरूविरुद्ध उजुरीको चाङ झन् बढ्न थालेका छन् । चालु आर्थिक वर्षको चार महिनामा मात्रै ६ वटा सहकारी विरुद्ध ४ करोड बढिको मागदावी सहित ठगीको उजुरी परेको छ । काठमाडौं महानगरपालिका अन्तर्गत रहेको सहकारीको नियामक निकाय सहकारी विभागमा उक्त सहकारी विरुद्ध ठगीको उजुरी परेको हो । 

विभागका अनुसार चालु आवको साउनदेखि कात्तिकसम्म उक्त सहकारी विरुद्ध ४ करोड ३० लाख ९२ हजार ६३३ रुपैयाँ मागदावी सहित ६३४ जना बचतकर्ताको उजुरी परेको हो । विभागमा परेका उजुरीहरुमध्ये ४७ वटा उजुरी प्रहरी कारवाहीमा पठाइएको विभागले जनाएको छ । 

उजुरी परेका सहकारीहरुमा जय हनुमान बचत तथा ऋण सहकारी संस्था, सुख समृद्धि बचत तथा ऋण सहकारी, डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्था, आरक्ष बचत तथा ऋण सहकारी र नवसंकल्प बचत तथा ऋण सहकारी र संरचना बचत तथा ऋण सहकारी रहेका छन् ।

सहकारी संस्थाहरूविरुद्ध उजुरीको चाङ लाग्न थालेपछि काठमाडौं महानगरपालिकाले पनि चासो दिन थालेको छ । यससँगैै सहकारी संस्थाहरू र सदस्यका लागि निर्देशन समेत जारी गरेको छ । विभागले सहकारी संस्थाहरुलाई तोकिएको कार्यक्षेत्रभन्दा बाहिर गएर कुनै पनि कारोबार र लगानी नगर्न निर्देशन दिएको छ । त्यस्तै, वित्तीय जोखिमको विश्लेषण गरी बढीभन्दा बढी तरलता कायम राख्न पनि विभागले निर्देशन दिएको छ । विगभाले परिस्थितिको आँकलन गरी अनुत्पादक क्षेत्रहरुमा लगानी नगर्न पनि सहकारीहरुलाई निर्देशन दिएको छ ।

विभागका निर्देशक देवेन्द्रप्रसाद पोखरेलले सहकारी क्षेत्रलाई व्यवस्थित गर्नका लागि छुट्टै कार्यसमिति पनि गठन गरेको जानकारी दिए । उनले भने, ‘पछिल्लो समय सहकारीमा धेरै उजुरी बढ्न थालेका छन् । त्यसलाई नियन्त्रण गर्नका लागि कार्यपालिकाले एउटा समिति गठन गर्ने भनेर नीतिगत निर्णय पनि गरेको छ । समिति आएपछि छलफल गरेर अगाडी बढ्छौं ।’

विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो साउन महिनामा एक करोडभन्दा बढिको मागदावी सहित दुई वटा सहकारी विरुद्ध उजुरी परेको थियो । एक करोड ३८ लाख ८७ हजार ९४४ रुपैयाँको मागदावीसहित जय हनुमान बचत तथा ऋण सहकारी संस्था र सुख समृद्धि बचत तथा ऋण सहकारी संस्था विरुद्ध उजुरी परेको छ । यी सहकारीविरुद्ध ४३ बचतकर्ताले विभागमा उजुरी दिएका हुन् । 

त्यस्तै, गत भदौ महिनामा दुईवटा सहकारी विरुद्ध बचतकर्ताहरुले ठगी गरेको भन्दै उजुरी दिएका थिए । डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्था र आरक्ष बचत तथा ऋण सहकारीमा बचतका लागि राखेको आफ्नो पैसा फिर्ता नदिएको भन्दै बचतकर्ताहरुले उजुरी दिएका थिए ।    

विभाग अनुसार यी दुई सहकारीले २ करोड ४९ लाख ५४ हजार ९४५ रुपैयाँ ठगी गरेको आरोप छ । जसमा डेभलपमेन्ट सहकारीले १ करोड ४५ लाख रुपैयाँ ठगी गरेको बचतकर्ताको आरोप छ । त्यस्तै, आरक्ष सहकारीले १ करोड ४ लाख ५४ हजार ९४५ रुपैयाँ ठगी गरेको आरोप छ ।  

डेभलपमेन्ट सहकारीको उक्त रकम एक जना बचतकर्ताको मात्रै रहेको छ । उता आरक्ष सहकारीको भने उक्त रकम ५६३ जना बचतकर्ताको रहेको विभागले जनाएको छ । विभागका अनुसार गत असोज महिनामा नवसंकल्प बचत तथा ऋण सहकारी संस्था विरुद्ध ठगीको उजुरी परेको छ । उक्त सहकारी रकम हिनामिना गरेको भन्दै १७ लाख ४८ हजार ७४४ रुपौयँ बराबरको मागदावी सहित ६७ जनाको उजुरी परेको विभागले जनाएको छ । त्यसैगरी कात्तिक महिनामा संरचना बचत तथा ऋण सहकारी संस्था विरुद्ध एक बचतकर्ताले २५ लाख रुपैयाँ ठगीको मागसहित विभागमा उजुरी दिएका छन् । 
 

प्रतिक्रिया दिनुहोस