
काठमाडौं । नेपाल कला परिषद् तथा नेपाल हस्तकला महासंघद्वारा संयुक्त रुपमा आयोजित नेपालका देवीदेवताहरु नामक प्रदर्शनी हुने भएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरी गरी उक्त प्रदर्शनी गर्न लागिएको नेपाल हस्तकला महासंघको अध्यक्ष प्रचण्ड शाक्यले जानकारी दिएका हुन् ।
नेपाल कला परिषद् को ५०औं वार्षिकोत्सव र नेपाल हस्तकला महासंघको ५०६ स्वर्ण वर्षको उपलक्ष्यमा उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो । उक्त प्रदर्शनी मंसिर ११ गते आइतबार देखि मंसिर २५ गतेसम्म नेपाल कला परिषद्मा हुनेछ ।
प्रदर्शनीका मुख्य आकर्षकहरुमा भारतीय राजदूतावास लैनचौर, काठमाडौमा भारत र नेपालका विद्वानहरूद्वारा इकोनोग्राफिक एक्सप्रेशन अफ डायटिज इन इन्डिया एण्ड नेपाल नामक गोष्ठीहरुको आयोजना गरिने भएको छ ।
त्यस्तै, भुई तल्लामा हिन्दू र बौद्ध धर्मका आधारभूत सिद्धान्तहरू, ग्रह देवताहरू लोकेश्वर, सम्भर र योगिनी, तारा, सिद्ध पुरुष, महाकाल, भैरव, अन्य बौद्ध देवताहरूको कलाकृतिहरु प्रस्तुत गरिने जनाएको छ ।
पहिलो तल्लामा वैष्णव र विष्णुअवतार, शेव, शक्ति, आदि–युद्ध र पञ्चबुद्ध, शाक्यमुनि बुद्धको जीवनी प्रस्तुत गरिने छ । माथिल्लो तल्लामा काठमाडौंको सबैभन्दा ठूलो चाड इन्द्रजात्राको विशेष प्रस्तुती गरिएको छ ।
प्रदर्शनीमा आउने सबै कलाकारहरु, आगन्तुकहरू, विद्यालयका छात्रछात्रा र विश्वविद्यालयका विद्यार्थीहरूका लागि विशेष रूपमा शैक्षिक कार्यक्रमको आयोजना गरिने जनाएको छ ।
नेवार र थारु संस्कृतिको अद्वितीय कलात्मक अभ्यासहरू बारे विशेष रुपमा प्रस्तुती गरिने छ भने नेपाली इतिहास र सांस्कृतिक सम्पदामा आधारित अन्तरक्रियात्मक खेलहरु प्रस्तुत गरिने छ ।
प्रतिक्रिया दिनुहोस