
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले कात्तिक १ गतेदेखि संस्थापकहरूबाट शतप्रतिशत पूूँजी थप गराईरहेको छ । पूँजीबृद्धिका लागि कम्पनीले संस्थापकहरूलाई शतप्रतिशत पूँजी थप गर्न आग्रह गरेको हो ।
यस अघि पूँजी थप गर्न मंसिर ५ गतेसम्मको मिति तोकिएको कम्पनीले सो मितिलाई बढाएर मंसिर २० गतेसम्म पुर्याएको छ । हालसम्म पनि रकम थप नगर्ने संस्थापक शेयरधनीहरूलाई तोकिएको अवधिभित्र रकम जम्मा गर्न कम्पनीले आग्रह गरेको छ ।
सम्बन्धित शेयरधनीहरूले कम्पनीको सिद्धार्थ बैंकको हात्तिसार, काठमाडौं शाखामा रहेको खाता नम्बर ५५५००३५८८१४ मा र नबिल बैंकको तिनधारा, काठमाडौंमा शाखामा रहेको खाता नम्बर ००२०१०१७५५०५३७८ मा जम्मा गरी भौचर कम्पनीको प्रधान कार्यालय, लैनचौर , काठमाडौंमा बुझाउन कम्पनीले अनुरोध गरेको छ ।
नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम यतिबेला बीमा कम्पनीहरू पूँजी बृद्धिका लागि जुटिरहेका छन् । पूँजीबृद्धिका लागि धेरै जसो कम्पनीहरूले मर्जरको बाटो रोजेका छन् भने कतिपयले बोनस शेयर र हकप्रद शेयरको सहारा लिएका छन् । नयाँ बीमा कम्पनीको रुपमा सञ्चालित आईएमई लाईफ इन्स्योरेन्सले पनि पूँजीबृद्धिका लागि विभिन्न योजनाहरू बनाएको छ । हा
लसम्म सर्वसाधारणमा आईपीओ जारी नगरेको कम्पनीले आईपीओ जारी गर्ने तयारी समेत गरिसकेको छ । हाल संस्थापकबाट शतप्रतिशत रकम थप गर्न माग गरिरहेको कम्पनीले बोनस शेयर र हकप्रद मार्फत समेत थप पूँजी जुटाउने बताएको छ ।
नियामक निकायको निर्देशन बमोजिम यस कम्पनीले रू. ५ अर्ब चुक्तापूँजी आगामी चैतसम्म कायम गर्नुपर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ । संस्थापकबाट शतप्रतिशत पूँजी थप पश्चात रू. २ अर्ब ८० करोड पूँजी कायम हुनेछ । भने कम्पनीले सर्वसाधारणमा रू. ६० करोड बराबरको आईपीओ जारी गर्नेछ ।
सर्वसाधारणमा आईपीओ जारी पश्चात् कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ४० करोड कायम हुनेछ । आईपीओ पछि कम्पनीलाई रू. ५ अर्ब पूँजी कायम गर्न थप रू. १ अर्ब ६० करोडको आवश्यक हुन्छ । थप पूँजी बोनस शेयर र हकप्रद शेयर मार्फत जुटाउने योजना कम्पनीको छ ।
प्रतिक्रिया दिनुहोस