aarthiknews.com शुक्रबार, २० माघ २०७९   Friday, 03 February, 2023
 
kalapathar

असिना नपरेपछि सुन्तला उत्पादन वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०३ मंसिर २०७९
nabil bank
kispangmun.gov.np/
असिना नपरेपछि सुन्तला उत्पादन वृद्धि
bhotekoshimun.gov.np/
LBF

डुम्रे । तनहुँमा उत्पादित सुन्तला जिल्ला बाहिरका बजारमा खपत हुने गरेको छ । यस वर्ष तनहुँमा सुन्तला उत्पादन वृद्धि भएको छ । फूल फुल्ने र दाना लागिसकेपछि असिना नपरेकाले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । 

“गत वर्षको तुलनामा यस वर्ष जिल्लामा सुन्तला उत्पादन वृद्धि भएको छ । तनहुँ सुन्तला उत्पादनमा आत्मनिर्भर पनि छ । यहाँ उत्पादित सुन्तला प्रायःजसो देशका ठूला सहरमा बिक्री वितरण हुन्छ”, कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले भने, “कहीँ उत्पादन बढेको र कहीँ घटेको अवस्था छ । समग्रमा जिल्लामा सुन्तला उत्पादन वृद्धि भएको छ ।”

उत्पादनको क्षेत्रफल भने घटेको तर उत्पादन वृद्धि भएको उनी बताउछन । “यस वर्ष करिब ३० प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको छ । फल्ने क्षेत्रफल घटेको छ”, तिवारीले भन्नुभयो । गत वर्ष जिल्लामा एक हजार छ सय ६० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको उनले बताए । उनका अनुसार उक्त क्षेत्रफलमा नौ हजार पाँच सय १० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।  

यस वर्ष फल्ने क्षेत्रफल घटेर एक हजार चार सय ८० हेक्टरमा सुन्तला खेती गरिएको उनले बताए । उनका अनुसार उक्त क्षेत्रफलमा नौ हजार छ सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । जिल्लामा यस वर्ष कुल रु २७ करोडको सुन्तला बिक्री वितरण हुने अपेक्षा गरिएको छ । जिल्लामा उत्पादित सुन्तला काठमाडौँ, पोखरा, नारायणगढलगायतका स्थानमा निर्यात गरिन्छ । सुन्तला निर्यातले जिल्लामा आयस्रोतमा थप सहयोग पुगेको उनी बताउछन ।

व्यास नगरपालिका–१३ बेनीकोटका किसान खेमबहादुर रानाले यस वर्ष एकतिहाइ सुन्तला उत्पादन वृद्धि भएको बताउनुभयो । सुन्तलाको दाना ठूला भएकाले ग्राहकले खरिद गर्दा माग गरिएको रकम दिन तयार भएको उनी बताउछन । “बेनीकोटमा निरन्तर उत्पादन राम्रो हुने हो । यसपटक अझै बढी उत्पादन भएको छ”, किसान रानाले भने । 

विगतको तुलनामा किसान सचेत भएको उनी बताउछन । “पहिले मलजल, स्याहारसुसारको कमी हुन्थ्यो । अहिले किसान सचेत भएका छन् । राम्रो उत्पादन लिन सुन्तलाको बोटबिरुवालाई सानैदेखि हेरचाह, स्याहारसुसारसँगै मलजल, पानी समयमा पु¥याउनुपर्छ भन्ने बुझ्दै आएका छन्”, उनले भने । 

त्यस्तै शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका किसान जगतबहादुर महतले यस वर्ष करिब रु सात लाख ३० हजारको सुन्तला बिक्री वितरण गर्नुभएको छ । यस क्षेत्रमा सुन्तला उत्पादन वृद्धि भएकाले यहाँका किसानले गत वर्ष रु चार÷पाँच लाख आम्दानीलाई बढाएर रु सात देखि १० लाखसम्ममा सुन्तलाको बोटबाटै ठेक्कामा बिक्री गरिएको उनी बताउछन । 

त्यसैगरी देवघाट गाउँपालिका–३ छिपछिपेका किसान पूर्णिमा थापाले देवघाट क्षेत्रमा पनि सुन्तला उत्पादन राम्रो रहेको बताए । “पहिलाको वर्षभन्दा यस वर्ष उत्पादन बढ्ने आशा गरेका छौँ । यहाँ उत्पादित सुन्तलाले लोभ्याउनेछ । ठेक्का बिक्री गरेका छौँ । अब केही समयमा यहाँ सुन्तला टिप्न आउनेछन् र लैजान्छन्”, उनले भने । 

म्याग्दे गाउँपालिका क्षेत्रमा सुन्तला उत्पादन घटेको छ । यस क्षेत्रमा सुन्तलाका दाना कम लाग्नु, सुन्तलाको बोटमा रोग लाग्दा उत्पादनमा कमी आएको किसान विश्वबहादुर अधिकारी बताउछन । 

“हामीले जिल्लामा समग्र उत्पादन वृद्धि भएको छ भन्ने कृषि ज्ञान केन्द्रमार्फत सूचना पाएका छौँ । तर म्याग्दे गाउँपालिका–४ उमाचोकमा सुन्तला उत्पादन खस्किएको छ”, अधिकारीले भने, “कृषि ज्ञान केन्द्रको सहयोगमा अध्ययन गरी सुन्तलाको बोटविरुवालाई उचित तत्त्व पु¥याउन समन्वय गरिरहेका छौँ ।” 

तनहुँका सुन्तला पकेट क्षेत्रमध्ये अधिकांश स्थानमा उत्पादन राम्रो भएको कृषि ज्ञान केन्द्रको अनुमान छ । अनुगमन र अध्ययनका क्रममा केही स्थानमा भने सुन्तला उत्पादन खस्किएको पाइएको केन्द्रले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस