aarthiknews.com मंगलबार, १३ मंसिर २०७९   Tuesday, 29 November, 2022
 
Everest Bank
British College
Blue Diamond

‘एनएलजी नयाँ प्रविधि र पोलिसीको साथ हरेक किसानको घरसम्म पुग्दैछ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २७ कार्तिक २०७९
‘एनएलजी नयाँ प्रविधि र पोलिसीको साथ हरेक किसानको घरसम्म पुग्दैछ’
ismt college
nabil bank

सुनिल बल्लभ पन्त, नेपालको बीमा क्षेत्रमा एक स्थापित नाम हो, यो। बीमाको क्षेत्रमा केही जागिर खुलेको छ रे भन्ने सुनेर २०४६ सालमा एनएलजी इन्स्योरेन्समा छिरेका काठमाडौँको ज्ञानेश्वरवासी पन्तले त्यसपछि अरु कुरा सोच्नु परेन। एनएलजी मै रमेका वहाँ अहिले त्यसको प्रमुख कार्यकारी अधिकृतको रूपमा आफ्नो दोस्रो कार्यकाल व्यतीत गर्दै हुनुहुन्छ। उहाँको  हजुरबुबा व्यवसाय गर्नु हुन्थ्यो। बुबाले राष्ट्रिय वाणिज्य बैंकमा जागिर खानुभयो। अहिले सुनिलबाबु बीमा कम्पनीको उच्च तहमा हुनुहुन्छ। अनवरत रूपमा तीन दशक भन्दा बढी समयदेखि बीमामा काम गरेका पन्तले नेपालको बीमालाई राम्ररी बुझ्नु भएको छ। यसका चुनौती र सम्भावनाबारे उहाँ ज्ञात छन्। के हुँदै छ र के हुनुपर्छ भन्ने स्पष्ट र तथ्यपरक आधार सहित आफ्ना कुरा राख्न सक्ने ज्ञान,अनुभव र क्षमता भएका पन्तसँग आर्थिकन्युज डटकमका विजय फुयाँलले नेपालको बीमाका विविध पक्षबारे संवाद गरेका छन्। प्रस्तुत छ, सो वार्ताको सम्पादित अंश :    

तपाई यति लामो समय बीमा क्षेत्रमा आबद्ध हुनुहुन्छ । नेपालको बीमा क्षेत्रलाई कसरी बुझ्नु भएको छ ?

मैले बीमामा काम गर्न शुरु गर्दाको समयमा आवश्यकताले बीमा गर्ने भन्ने कुरा नै थिएन । बाध्यकारी भएको अवस्थामा मात्र बीमा गर्थे मानिसहरूले। बीमा गर्नुपर्ने कानुनी बाध्यता भएका व्यक्ति र संस्थाहरूसम्म पुगेर हामी बजारीकरण गर्थ्यौँ। उद्योग चलाउनेहरूले मात्र बीमा गर्थे। बीमाको बजार त्यत्तिमा नै सीमित थियो ।

जब नेशनल लाइफ इन्स्योरेन्स कम्पनी आयो । हाम्रो कम्पनीको शाखाहरू पनि विस्तार हुँदै गए । त्यसपछि बीमा व्यवसायको प्रचारप्रसार, बीमाको उपयोगिता र आवश्यकता बारेमा बुझाउँदै गयौं। संगसंगै बीमाको दायरा पनि बढाउँदै लग्यौँ।पछि बिस्तारै गाडीहरू पनि थपिँदै गए। बजार पनि बढ्दै गएपछि बीमाप्रतिको आवश्यकता र इच्छा पनि बढ्यो ।

मार्केट बढ्दै गएपछि लगानीकर्ताहरूले यसमा राम्रो व्यवसाय हुनेछ भन्ने सोचे। विश्वव्यापी रूपमा पनि बीमाले उचित स्थान लिइसकेको अवस्था भएकाले लगानीकर्ताहरूले यसलाई अवसर रूपमा लिए । बजारमा कुन किसिमको बीमाको आवश्यकता छ भन्ने विषयमा हामी लगायत कम्पनीहरुले पनि नयाँ नयाँ प्रोडक्टहरुको बनाउँदै गयौं । अहिले आर्थिक क्षेत्रमा यसको योगदानको हिसाबले पनि बीमाको दायरा बढ्दै गइरहेको छ ।

अहिले निर्जीवन बीमा व्यवसायमा देखिएका समस्याहरू केके हुन् ?

अहिले तत्काल अवस्थालाई हेरेर भन्ने हो भने बीमा उद्योगको वृद्धि भएन । बीमा क्षेत्रमा जुन खालको चलायमान अवस्था थियो त्यो सङ्कुचित भएको छ। बैंकबाट ऋण लगानी भएको छैन। त्यसले गर्दा पनि बीमा व्यवसाय खुम्चियो । गाडीहरू आयात भएका छैनन् । नयाँ आयोजनाहरू पनि नआएको अवस्थाले गर्दा बीमाको व्यवसाय सङ्कुचित भएको छ । आर्थिक कारणले नै बीमा व्यवसाय बढ्न नसकेको हो । बीमा व्यवसाय बढ्न नसकेको कारण कम्पनीहरूमा व्यवसायलाई कसरी अगाडी बढाउने भन्ने चुनौती रहेको छ ।

यही चुनौतीले गर्दा बीमा कम्पनीहबीच एकअर्कामा व्यापार खोसाखोसको अवस्था सिर्जना भएको छ । खोसाखोसलाई चुनौतीको रूपमा नलिईकन नयाँ क्षेत्र, नयाँ प्रोडक्ट हामीहरूले ल्याउन सक्यौ भने नयाँ क्षेत्रबाट व्यवसाय ल्याउने अवसर पनि छ । यही कुरालाई मध्यनजर गरेर कृषि बीमाको सुरुवात पनि हामीले गरेका थियौ । पहिले २२ लाखको बीमा प्रिमियम थियो भने अहिले ५ अर्बको हाराहारी पुगिसकेको छ ।

सरकारले पनि कृषि बीमालाई अहिले प्राथमिकतामा राखेको छ । राजनीतिक दलका घोषणापत्रमा पनि बीमा परेका छन् । आर्थिक समृद्धिका लागि बीमाको महत्त्व छ भन्ने कुरा सरकार र राजनीतिक दलहरूले पनि बुझेका छन् । यसले गर्दा पनि कृषि बीमाको सम्भावना धेरै देखेका छौँ । अहिले बीमा समितिले पनि नयाँ प्रोडक्टहरुको बारेमा अध्ययन गरेको छ। कम्पनीहरुले पनि कसरी सेवा सुविधा दिने, बिना झन्झटिलो सुविधा दिने र सहज रूपमा दाबी भुक्तानी फर्छ्यौट गर्ने भन्ने कुरामा पनि कार्यविधिहरू बनाएर अगाडी बढेका छन् । हामी पनि केही समयपछि नयाँ सेवा दिनेछौँ ।

अहिले निर्जीवन बीमा कम्पनीहरुले ल्याइरहेका नयाँ प्रोडक्टहरु केके हुन् ?

अहिले पाँच/छ वटा महत्त्वपूर्ण प्रोडक्टहरु रहेका छन्। सम्पत्ति बीमा, मोटर बीमा, दुर्घटना बीमा, इन्जिनियरिङ र हवाई बीमाको पोर्टफोलियो ठुलो देखिन्छ ।

सम्पत्ति बीमा कस्तो बीमा हो ?

सम्पत्ति बीमा अन्तर्गत एक करोड भन्दा माथिका जति पनि सम्पत्ति छन् तिनको बीमा गर्न सकिन्छ। जस्तो आवासीय भवनहरू छन्, तिनीहरूको बीमा यस अन्तर्गत हुन्छ । त्यसैगरी अग्नि, भूकम्प, बाढी, पहिरो आदि कारणबाट हुने क्षतिको क्षतिपूर्ति दिने व्यवस्था सम्पत्ति बीमामा रहेको छ । गृहस्थ बीमाले एक करोडभन्दा तल रहेका आवासीय भवनहरूमा हुने जोखिमहरूको रक्षावरण गर्छ । मोटर बीमा र दुर्घटना बीमा त साधारण नै हो ।

सम्पत्ति बीमाका लागि सर्वसाधारणहरूको चासो देखिँदैन ? यसको कारण के हो ?

बैंकबाट ऋण लिएका ठुला ठुला उद्योग कलकारखानाहरू सबैको बीमा भएको छ। यसबाहेक निजी सम्पत्तिहरू पनि छन् । यी सबै बीमाको दायरामा आउन सकेका छैनन् । केही वर्ष अघिसम्म बीमाको बारेमा प्रचारप्रसार पनि कम थियो। बीमा व्यवसायको दायरा पनि बढाउन सकिएको थिएन। बीमाको उपयोगिताको बारेमा पनि बुझाउन सकेका थिएनौँ। तर, पछिल्लो समयमा त्यस्तो छैन । बीमा कम्पनीहरुले विभिन्न माध्यमबाट स्थानीय तहहरूसँग पनि समन्वय गरेर व्यक्तिहरूलाई सम्पत्ति बीमा र यसको उपयोगिताको बारेमा प्रचारप्रसार गरिरहेका छन्। बीमाको बारेमा जनचेतना नभएको होइन। इच्छाशक्ति जागरूक गराउन नसकेको हो । 

बीमा कम्पनीहरुले विभिन्न माध्यमबाट स्थानीय तहहरूसँग पनि समन्वय गरेर व्यक्तिहरूलाई सम्पत्ति बीमा र यसको उपयोगिताको बारेमा प्रचारप्रसार गरिरहेका छन्। बीमाको बारेमा जनचेतना नभएको होइन। इच्छाशक्ति जागरूक गराउन नसकेको हो ।

मानिसमा इच्छाशक्ति बढाउन र बीमाको दायरा वृद्धि गर्न के गर्नु पर्छ ?

जोसँग सम्पत्ति छ उसले बीमा गर्नुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि प्राथमिकतामा नपरेको हो कि भन्ने लाग्छ । इच्छा शक्तिलाई हामीले जागरूक गर्नका लागि कुनै किसिमको दुर्घटना भएपछि मात्रै जागृत गराउने हो भने विडम्बना हुन्छ । त्यो बेला नष्ट भएको सम्पत्तिको क्षतिपूर्ति पाउन सक्दैनन्। त्यसैले जबसम्म घरघरमा पुगेर बीमाको उपयोगिताको बारेमा कार्यक्रम ल्याउन सक्दैनौ तबसम्म हामीले सोचेको बीमाको दायरा प्राप्त  गर्न सक्दैनौँ  ।

यसमा सरकारको अनुदान पनि प्राप्त भएको छैन । सरकारले अनुदान दिएपछि मात्र गर्ने बीमा गर्ने मनोविज्ञानलाई नहटाएसम्म बीमाको दायरलाई अघि बढाउन सक्दैनौँ । कृषि बीमामा पनि सरकाले ८० प्रतिशत छुट दिन्छ । कृषकले २० प्रतिशत मात्र तिरे हुन्छ। २० प्रतिशतमा पनि स्थानीय तहले सहुलियत दिएको अवस्थामा पनि जुन दायरामा कृषि बीमा गर्नुपर्ने हो। त्यो भएको छैन ।

कृषि बीमा गर्नेमा एनएलजी इन्स्योरेन्स पहिलोमा आउँछ। कृषि तथा पशुपन्छी बीमालाई तपाईँले कसरी हेर्नुभएको छ ? कुन अवस्थामा अघि बढेको छ ?

स्थानीय सरकारको एजेन्डामा नै कृषि बीमा, स्वास्थ्य बीमा र दुर्घटना बीमा परेका छन् । स्थानीय क्षेत्रमा नै जबसम्म कृषिमा उत्पादकत्व बढाउन सक्दैनौँ । तबसम्म क्षेत्रगत हिसाबमा आर्थिक समुन्नत हुँदैन । कृषकहरूको व्यक्तिगत सुरक्षा पनि गर्नु पर्ने कुरा स्थानीय तह र राजनीतिक दललाई महसुस भएको देखिएको छ । प्रशासन र राजनीतिक तहमा पनि कृषिमा उत्पादकत्व बढाउनुपर्छ भन्ने महसुस भएकाले कृषि बीमाको दायरा बढ्छ भन्ने लागेको छ ।

यसका लागि बीमा सम्बन्धी मात्र नभई पशु र बालीलाई पनि उत्पादन नहुन्जेल गर्नुपर्ने सुरक्षाको विषयमा पनि बीमा कम्पनीहरुले सेवा सुविधा दिनुपर्छ । बीमा पोसिलीमा देखिएको जोखिमको आधारमा क्षतिको दाबी आएपछि यथाशीघ्र हामीले क्षतिपूर्ति दिने व्यवस्था ल्याउन सके यो क्षेत्र बीमा विस्तारको लागि स्वर्ण हुनेछ ।  

कृषि बीमाको दायरा तल्लो स्तरमा पुग्न सकेको छैन । बीमा कम्पनीहरुलाई पनि सरकारले समयमा पैसा नदिएर हतोत्साही बनाएको छ। कृषि बीमाको क्षेत्रमा देखिएका समस्याहरूलाई समाधान गर्न बीमा कम्पनी र बीमा प्राधिकरणको भूमिका कस्तो हुनुपर्छ ?

सबै स्थानीय तहमा कृषिको लागि बजेट विनियोजन भएको छ । बजेटले पुग्ने कमर्सियल र नन कमर्सियल कृषिलाई छुटाउनुपर्ने आवश्यकता छ । व्यवसायका लागि गरेका खेती र पशुपालनलाई हामीले एकथरि सुविधा दिनुपर्छ । तर, आफ्नै जिवनपार्जका लागि उत्पादन गर्छौ भन्नेका लागि छुट्टै व्यवस्था गर्नुपर्छ । वडामा भएका बजेट विनियोजनलाई त्यस्ता खालका कृषकलाई पहिचान गरेर अनुदान दिनुपर्छ । त्यसका लागि पनि हामी लागेका छौँ । कृषि व्यवसाय गर्नेहरूलाई बीमाको बारेमा जानकारी पनि छ र प्रिमियम तिर्न समक्ष पनि हुनुहुन्छ । तसर्थ हामीले दुई वटा श्रेणीमा छुटाउनुपर्छ । अनुदानका हिसाबले पनि छुटाउनुपर्छ ।

वडामा भएका बजेट विनियोजनलाई त्यस्ता खालका कृषकलाई पहिचान गरेर अनुदान दिनुपर्छ । त्यसका लागि पनि हामी लागेका छौँ । कृषि व्यवसाय गर्नेहरूलाई बीमाको बारेमा जानकारी पनि छ र प्रिमियम तिर्न समक्ष पनि हुनुहुन्छ । तसर्थ हामीले दुई वटा श्रेणीमा छुटाउनुपर्छ । अनुदानका हिसाबले पनि छुटाउनुपर्छ ।

कमर्सियल र नन् कमर्सियललाई कति अनुदान दिने भन्ने कुरा पनि छुटाउनुपर्छ । यो छुट्याएन भने पछि सरकारलाई अनुदान दिने कुरामा ठुलो भार पर्न जान्छ । यसले गर्दा जो वास्तविक जीवनयापनका लागि लागेका किसान छन् । उनीहरूलाई प्रिमियम तिर्न पनि नसक्ने अवस्था आउँछ । बीमा क्षेत्रको चुनौती बीमाको दायरा, बीमाको पहुँच र दाबी भुक्तानीका विषयमा देखिएका समस्यालाई यथाशीघ्र क्षतिपूर्ति दिलाउने कार्यमा बीमा प्राधिकरण अगाडी बढ्नु पर्छ ।

प्राधिकरणले के गर्नुपर्छ भन्ने सन्दर्भमा सहज किसिमले दाबी भुक्तानी हुनसक्ने टिप्स बनाइदिनु पर्‍यो । डकुमेन्ट धेरै आवश्यक नपर्ने व्यवस्था मिलाइ दिनुपर्यो । र सम्पूर्ण डकुमेन्ट प्राप्त भएको निश्चित समय भित्र भुक्तानी भएको छ की छैन भनेर अनुगमन र निरीक्षण गर्नुपर्‍यो । साथै कम्पनीहरूलाई निर्देशन पनि दिनुपर्छ।  

तर, लामो समयदेखि सरकाले अनुदानको रकम निकासा नगरिदिँदा कम्पनीहरूमा भने रकमको फ्लोरमा समस्या देखिएको छ । जसले गर्दा आफले मुद्दतीमा राखेको पैसा समेत फर्छ्यौट गर्नुपर्न अवस्था छ । एनएलजीको नै अनुदान बापतको २६ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ । दाबी पनि हामीले त्यत्तिकै भुक्तानी गरिरहेका छौँ । एनएलजीको हकमा भने सम्पूर्ण दाबीको आवश्यक परेको कागजपत्रको तीन दिनदेखि सातदिन भित्रमा कृषकलाई दाबी भुक्तानी गर्छौ ।

जीवन बीमा कम्पनीमा भन्दा निर्जीवन बीमा कम्पनीमा प्रविधिको विकास हुन सकेको छैन ? यसको कारण केहो ?

यसमा हामी चुकेका होइनौँ। कुनै क्षेत्रगत हिसाबबाट बीमाशुल्क संकलन हुन्छ भन्ने एक किसिमको अध्ययन नगरीकन प्रविधिको विकास गर्न हामीलाई असहज हुन्छ । कृषि र पशुजन्य बीमाको सम्भावना बढ्दै गएकाले अब प्रविधिको विकास हुन्छ । अनलाइनको त सुविधा गरेका छौँ । अनलाइनबाट दाबी भुक्तानीका लागि सक्कली कागजपत्र फाइलमा राख्नुपर्ने हो कि होइन । दूर दराजबाट पनि कागजपत्र नै झिकाउन शाखा कार्यालय, क्षेत्रीय कार्यालय र मुख्य कार्यालयमा आउन नै समय लागेको छ । अनलाइनबाट पठाउन सक्यो भन्ने उत्तिनैखेर प्राप्त हुने अवस्था हुन्छ । ती चिजहरूलाई जबसम्म हामी सबलीकरण गर्न सक्दैनौँ । तबसम्म अनलाइनले भुक्तानी गर्ने समस्या रहनेछ ।

हामी पहिला डकुमेन्ट लिन्छौ । त्यसलाई प्रक्रियामा राख्छौँ । यसका साथै उहाँहरूले हुलाकबाट पठाएको डकुमेन्ट आउँछ। त्यो डकुमेन्ट आएपछि भेरिफिकेशन गरेर हामी अर्को दिन दाबी भुक्तानी गर्छौ । आएका  डकुमेन्ट पनि फल्ट नहोस् भनेर पनि चुनौती रहन्छ । त्यसका लागि विधिगत रूपमा विकास गर्नुपर्ने देखिन्छ । हामीले प्रविधि मार्फत क्षति भएको मूल्याङ्कन पनि  गर्ने किसिमको प्रविधिलाई पनि विकास गर्दैछौ। तपाईँहरू मार्फत चार्ड नै त्यो सार्वजनिक गर्छौ ।  

त्यत्ति मात्र नभई कृषिमा पनि विभिन्न किसिमको विविधता छ । एनएलजीले कृषि बीमा भन्दा पहिला पशुधनको बीमा गर्ने गरेको थियो । त्यसपछि कृषि बीमाको शुरु गर्‍यो । यसमा पनि विविधता भएको हुनाले हामीहरूले परम्परागत बाली जस्तै मकै लगायतका बालीहरूमा आर्थिक क्षति हुनसक्छ भनेर हामीले प्रविधिलाई विस्तार गर्न लागेका छौँ । बीउको लागि हामी प्रविधि मार्फत गएर क्षतिको मूल्याङ्कन गर्ने क्षतिपूर्ति  दिने किसिमको संयन्त्र बनाइसकेका छौँ । अरू कम्पनीहरुले पनि प्रविधिमैत्री कसरी बनाउने भन्ने सोच राखेकै होलान् । सम्भाव्यता देखियो भने सबै इन्ट्रेन्स कम्पनीहरू प्रविधिमैत्री भएर अगाडी बढ्नेछन् ।

बीमा कम्पनीहरू सहर केन्द्रित भए भन्ने आरोप छ । यसलाई कसरी खण्डन गर्नहुन्छ । एनएलजीको हकमा के छ ?

यसलाई सम्भव बनाउँदै जानुपर्‍यो । जहाँ आर्थिक चलायमान हुन्छ । तब मात्र डिमान्डको आवश्यकताहरु बढ्न जान्छ । बीमाको दायरा बढेको छ । दुरदराजमा पनि पुगेको छ जस्तो लाग्छ । यसको निरन्तरता रहने छ । कृषि बीमाको राम्रो पक्ष भनेको बीमा समितिले जसरी क्षेत्रगत हिसाबले कृषि तथा पशु बाली बीमाका लागि बीमा कम्पनीहरू तोकेको छ ।

ती तोकिएका कम्पनीहरुले क्षेत्रगत हिसाबमा सेवा दिएका छन् । सेवा दिएकै कारणले बीमाशुल्क संकलनमा पनि वृद्धि भएको छ । यो क्रमिक हो यसको विकास गर्दै जानुपर्छ । अझै पनि सम्भावना भएका क्षेत्रहरू छन् । हरेक वर्ष कम्पनीहरुले शाखा विस्तार गरेका छन् । तर, खोलिएका कम्पनीहरुले दिने सेवा दीर्घकालीन पनि हुनुपर्‍यो ।

अधिकांश बीमा कम्पनीहरुले समयमा दाबी भुक्तानी गर्दैनन् भन्ने आरोप छ ? एनएलजीको हकमा के छ ?

यो सदाका लागि हुने समस्या हो । कसले कति चुस्त सेवा दियो भन्ने कुराको मापदण्ड बनाएर अगाडी बढाउँदै लिएर जाने हो । अघिल्लो वर्ष हामीले कति प्रतिशत क्षतिपूर्ति दिन सक्यौ र यो वर्ष कति दिन सक्यौ भन्ने कुरालाई ख्याल गर्ने हो । सबै जना सन्तुष्ट नहुन पनि सक्छन् । बीमाको पोसिलीले निर्दिष्ट गरेको नियमभन्दा बाहिर गएर क्षतिपूर्ति दिन सकिँदैन । मानिसहरूको आशा धेरै पनि हुन सक्छ ।

गएको वर्ष बीमा प्राधिकरणले दाबीको वर्ष पनि भनेको छ । कम्पनीहरुले पनि त्यही मात्रामा दाबी भुक्तानी गरेका छन् । अन्य इन्स्योरेन्स भन्दा एनएलजीको हकमा भने कृषि र पशुबीमाको लागि सम्पूर्ण डकुमेन्ट पुरा भएको तीन दिनदेखि सात दिनभित्र दाबी भुक्तानी गर्छौ । अन्य कम्पनीको हकमा पनि मुद्दा मामिला परेको बाहेक ३५ दिन भित्रमा ७० प्रतिशत दाबी भुक्तानी भएको छ ।

पुनर्बीमाबाट पनि दाबी भुक्तानी आउनुपर्ने हुन्छ । त्यहाँबाट आउने बित्तिकै हामी फर्छ्यौट गर्छौ । गएको वर्ष हामीले एक अर्ब ९१ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका थियौँ । दुई अर्ब ४० करोड रुपैयाँ बराबरको हाम्रो व्यवसाय छ । कोरोना बीमाको बाहेक हेर्ने हो भने २७ सय वटा दाबी परेको छ । कागजपत्र पुरा नभएका र हामीले फलो गर्दा पनि सम्पर्कमा नभएको केही दाबी भुक्तानीहरू भने बाँकी रहेका छन् । ती फाइलहरूको विषयमा पनि के गर्ने भन्ने बारे छलफल भइरहेका छ । निकट भविष्यमा कार्यविधि बनाएर निर्णय गर्नेछौं । हाम्रो इन्स्योरेन्स दाबी भुक्तानी समयमा गर्ने कम्पनीमा पर्छ ।

अरू कम्पनीको तुलनामा एनएलजीलाई कसरी चिनाउनुहुन्छ ?

एनएजली इन्स्योरेन्सले तीन किसिमले आफ्नो पहिचान बनाएको छ।  बीमा सम्बन्धी यथार्थपरक जानकारी दिएर, ग्राहकको सम्पत्तिको जोखिम बहन गरेर र बीमालेख अन्तर्गत तोकिएको बमोजिम भएको क्षतिको क्षतिपूर्ति दिएर । साथै प्रविधिमैत्रीबाट सबै कामहरू गर्न सक्ने भनेर पनि चिनिन्छ ।

अहिले बजारमा कस्ता नयाँ प्रोडक्टहरु ल्याउनु भएको छ ?

हामी एक दुई हप्तामा नै नयाँ प्रोडक्ट सार्वजनिक गर्दैर्छौ । हामीले यसलाई अहिले प्रयोगमा पनि ल्याएका छौँ ।

अहिले सबै कम्पनीहरू मर्जरमा गएका छन् भने केही कम्पनीहरुले एकीकृत कारोबार पनि गरिसकेका छन् । एनएलजीको हकमा चुक्ता पुँजी कसरी पुर्‍याउँदै हुनुहुन्छ ?

एनएलजी कम्पनी अरू कम्पनी भन्दा फरक कम्पनी छ । तत्कालीन अवस्थामा जीवन र निर्जीवन दुवै व्यवसाय गर्न सक्ने कम्पनी रहेको थियो । नयाँ ऐन आएपछि मात्र यो कम्पनी निर्जीवन बीमा कम्पनीमा परिवर्तन भएको हो । यो कम्पनीका ५० प्रतिशतको वेलविइङ नेशनल लाइफ इन्स्योरेन्सको छ । हाम्रो संस्था नै संस्थापक भएकाले हामीले बीमा प्राधिकरणलाई अनुरोध गरेका छौँ । संस्थागत रूपमा नै लगानी गरेको हुनाले सब्सिडी कै रूपमा हामीलाई बस्न दिनुपर्‍यो भनेका छौँ । त्यसैअनुसार हामी पुँजी वृद्धिका लागि अगाडी बढ्नेछौँ ।

दोस्रो कार्यकालका लागि पुन नियुक्त हुनु भएको छ । आगामी कार्यकालका लागि नयाँ योजना के छन् ?

मेरो एउटै योजना रहेको छ । राम्रो पर्फमेन्स गर्छु भनिरहन आवश्यक पर्दैन । त्यो गर्नै पर्छ । त्यसका लागि आवश्यक पर्ने संयन्त्र बनाउनुपर्छ त्यसका लागि लागि परेका छौँ । अबको चार वर्षको कार्यकालमा बीमाको दायरा बढाउनका लागि दुरदराज र सहर केन्द्रित क्षेत्रहरूमा एउटै किसिमबाट बीमा गर्ने सक्ने प्रविधि चाँडै नै लिएर जाने तयारीमा छौँ । यसमा जलविद्युत क्षेत्र, फ्याक्ट्री, लगायत ठुला कमर्सियल मार्ट, एक कट्टा दुई कट्टामा रहेका बाली र गाईबस्तुको समेत बीमा गर्ने र घरमा बसिबसी बीमा गर्ने सकिने प्रविधि ल्याइसकेका छौ। त्यसलाई नै महत्त्वका साथ लिएर अघि बढ्नेछौँ ।

बीमा प्राधिकरणको कार्यान्वयनको पाटोमा तपाईँको भूमिका के छ ?

ऐन बनाउने कुरामा पनि प्राधिकरणबाट आवश्यक सल्लाहको माग आएको थियो । बीमा कम्पनी र विभिन्न बीमक संघहरुले पनि आफ्नो धारणा प्रस्तुत गरेका थिए । नियमावली बन्दै छ । त्यस अन्तर्गतका निर्देशनहरूका लागि कम्पनीहरुले समयमा नै उचित सल्लाह र राय दिन सक्नुपर्‍यो । ऐन मात्रै आएर भएन नियमावली पनि चाँडै आउनुपर्छ । नियमावली बन्ने क्रममा प्राधिकरणले सुझाव मागे पनि नमागे पनि स्वतःस्फूर्त रूपमा हामीले देखेका सुझावहरू दिनुपर्छ ।

बीमा प्राधिकरणको गठनसँगै बीमाको दायरा बढाउने कुरामा कतिको आशावादी हुनुहुन्छ ?

म एकदमै आशावादी छु । एक त बीमाको दायरा बढाउन प्राधिकरणले स्थानीय तहमा कृषि बीमाको बारेमा अन्तर्क्रिया कार्यक्रमहरू गराउने, स्थानीय सरकारलाई बीमाको कार्यान्वयन गराउनका लागि कायक्रमहरु गरिरहेको छ । त्यो नै महत्त्वपूर्ण कुरा हो । यी कार्यक्रमहरूलाई बीमा प्राधिकरणले निरन्तरता दिन्छ भन्ने कुरामा विश्वस्त छु । बीमाको दायरा बढाउने काम पनि बीमा प्राधिकरण कै कार्यक्षेत्रमा पर्छ । अझै संगठित ढङ्गले अघि बढ्छ भन्ने लागेको छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

नेपाल बीमा प्राधिकरण आएपछि प्राधिकरणमा भएका सम्पूर्ण परीक्षण बुँदाहरूमा जे लेखिएको छ त्यसको बुझाई, रेगुलेटर निकाय , बीमा कम्पनी, कर्मचारी, संस्थापक, सञ्चालक, सर्भेयर एजेन्ट र सम्पूर्ण बीमा गर्ने बीमितहरुको बुझाई एउटै हुनुपर्छ ।

यसलाई सहज र सरल किसिमले हामीहरूले कार्यान्वयन गरेर लानुपर्छ । यसका लागि सबै मिलेर अन्तर्क्रिया कार्यक्रम गर्नुपर्छ । यसमा बीमा प्राधिकरणको मात्रै कार्य नभएर बीमक संघ, सर्भेयर एशोसिएसन, अभिकर्ता एसोशिएसन र साथै बीमा कम्पनीहरूको पनि उत्तिकै भूमिका रहनुपर्छ । छलफल र अन्तर्क्रिया कार्यक्रम लागि सहकार्य गर्नुपर्छ । बीमाको दायरा बढाउनका लागि सबै कम्पनीहरुले नयाँ प्रोडक्टहरु पनि ल्याउनुपर्छ । बजारमा कस्ता खालका प्रोडक्टहरुको आवश्यकता छ त्यसलाई मध्यनजर गरी नयाँ प्रोडक्टहरु ल्याउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस