aarthiknews.com मंगलबार, १३ मंसिर २०७९   Tuesday, 29 November, 2022
 
Everest Bank
British College
Blue Diamond

‘जसले फोहोरको ढिस्को कोट्याएरै छोरीलाई स्टाफ नर्स बनाइन्’

  • रिता राउत
    रिता राउत
  • विहीबार, २४ कार्तिक २०७९
‘जसले फोहोरको ढिस्को कोट्याएरै छोरीलाई स्टाफ नर्स बनाइन्’
ismt college
nabil bank

‘ती दिन सम्झँदा अहिलेपनि अत्यास लाग्छ। आखिर जीवनमा यस्तो क्षणपनि आउँदो रहेछ’, आफूले फोहोरको थुप्रो खोतल्दै बिताएको वर्ष र अहिले  पाएको सफलतालाई तुलना गर्छिन् उनी। 

हुनपनि औपचारिक शिक्षा लिने अवसर मिलेन उनलाई, काठमाडौंको कुशेश्वरमा जन्मेरपनि। तथापि अहिले छयालीस वर्षीय शान्ति तामाङको परिचय फेरिएको छ । फोहोर टिप्ने आइमाईबाट सम्युक्त सफाई जागरण संस्था र सहकारीको अध्यक्षका रूपमा । तीन सन्तानकी आमा शान्तिले फोहोरको ढिस्को कोट्याएरै दुई छोरीलाई स्टाफ नर्स र होटल म्यानेजमेन्ट पढाइन् । छोरो कक्षा १२ मा पढ्दै छ। 

तर, अहिले उनले प्राप्त गरेको सफलताको कथा त्यति सहज ढङ्गले बनेको भने होइन। जुन दुख र दर्दले भरिएको त छंदैछ, अरूको लागि प्रेरणाको स्रोत समेत बन्न सक्छ। धैर्यता र लगनशीलताको एक मनक ठहर्न सक्छ।

पुर्ख्यौली घर पाल्पामा थियो उनका आमाबाबुको। तर, विवाह लगत्तै काठमाडौंमा छिरेका उनीहरू कुशेश्वरमा डेरामा बस्थे। आमा काठमाडौं महानगरपालिकाको डम्पिङ साइडमा काम गर्थिन् । त्यहीबाट परिवारको गुजारा चल्थ्यो । फोहोरको थुप्रोबाट पुनः प्रयोग हुने फोहोर छानेर ब्रिक्री गरेको पैसाले उनीहरूको परिवार धानिएको थियो। बुबा रोगी र काम गर्न नसक्ने हुनाले आमाले नै परिवार चलाउनु हुन्थ्यो।

गरिबी र अभावका कारण शान्तीले पढ्न पाइनन् । स्कुल जान नपाएकी उनलाई आमाले आफू बसेको घरमा नै घरायसी काममा लगाइदिइन्। तलब स्वरूप बसेको कोठाको भाडा मिनाहा हुन्थ्यो । बढ्दै गएपछि परिवारको गुजारा धान्नका लागि घरायसी कामदारको रूपमा काठमाडौंको एक घरमा सफाइको काम गर्दै त्यहीँ  बस्न थालिन् ।  

पढ्न नपाएको दुखेसो गर्दै उनी भन्छिन्, ‘दाइ पढ्न जानु हुन्थ्यो । तर, म पढ्न जान भने पाइन । आमाले राख्दिनु भएको घरमा दिनभर काम गर्नु पर्ने हुन्थ्यो । लुगा धुने, सरसफाइ गर्ने लगायतका घरायसी काम गर्नुपर्ने हुन्थ्यो ।’ स्कुल जान नपाए पनि उनी स्वाध्यायनका कारण साक्षर भने छिन्।

उनी १२ वर्षको हुँदा घरधनीले घर बेच्ने भनेर उनीहरूलाई कोठा खाली गर्न लगाए । त्यसपछि टाउको लुकाउने समेत ठाउँ भएन । आमाले काठमाडौं महानगरमा भनसुन गरेर टेकुको डम्पिङ साइडमा रहेको टहरामा लगिन् ।

फोहोरमैलाको क्षेत्रको काम गर्नेहरूका लागि आवासको रूपमा जर्मनले छुट्टै १२/१३ वटा टहरा बनाइदिएको थियो । टेकुको डम्पिङ साइडमा रहेको ती टहरामध्येको एउटा टहरा शान्तीका परिवारले पाए। त्यसपछि आमाले शान्तीलाई बागबजारको अन्नपूर्ण अस्पतालमा सफाइको काम लगाइदिइन्  । 

अस्पतालमा काम गर्दै गर्दा उनको विवाह काभ्रेका एक पुरुषसँग भयो । उनका श्रीमान् होटल-होटलमा गएर फोहोरको थुप्रोबाट आफूलाई काम लाग्ने सामानहरू टिप्ने गर्थे । उनले टिपेका सामानहरु रिसाइकल हुने ठाउँमा लगेर बेचेर गुजारा चलाउँथे । विवाह गर्दा उनी १६ वर्षकी थिइन्। उनी सानै उमेरमा दुई छोरी र एक छोराको आमा बनिन् । छोराछोरीको हेरचाह गर्नका लागि उनले अस्पतालको काम  छोडिन्।

सन्तानको पालनपोषण, पढाइ खर्च तथा घर खर्च बढ्न थाल्यो । जसका लागि उनको श्रीमानको कामबाट आएको पैसाले धान्न मुस्किल थियो । साना छोराछोरी छोडेर उनी पनि आमासँगै फोहोरमैलाको क्षेत्रमा काम गर्न थालिन् । उनी बालाजु, टेकु लगायत क्षेत्रमा रहेका फोहोरको थुप्रोमा कुहिने र नकुहिने फोहोर र पुनः प्रयोगमा आउने फोहोर छुट्याउने काम गर्ने गर्थिन् । 

डम्पिङ साइडमा गएर काम गर्दा उनलाई ठिकै थियो । तर, पछि त्यहाँ काम गर्न दिइएन । त्यसपछि भने उनले बाहिर बाहिर सडकमा थुप्रिएका ठाउँमा नै फोहोर खोज्दै संकलन गर्न थालिन् । उनी पुनः प्रयोग हुने फोहोर खोज्दै बिक्री गर्ने गर्थिन् । त्यसबाट उनले दैनिक करिब पाँच सय रुपैयाँसम्म आम्दानी गर्थिन् ।

सुरुवाती चरणमा फोहोरमैलाको क्षेत्रमा काम गर्दा धेरै नै दुख हुने गरेको उनी सुनाउँछिन् । ‘हुनत फोहोर मैलाको क्षेत्रमा काम गर्न सधैँ दुख नै हुन्छ । तर, पहिला हामीले यस्तो काम गरेको थाहा पाउने मान्छेहरूले हेप्ने गर्थे । हामी नजिक पुग्दा उनीहरू टाढा भाग्ने गर्थे । झुक्किएर नजिक पुग्यौँ भने पनि कस्तो गन्हाएको भन्ने गर्थे’, त्यो बेलाको क्षण सम्झेर भावुक हुँदै उनी सुनाउँछिन्, ‘कसैले हामीलाई के काम गर्नु हुन्छ भनेर सोधे भने पनि हामी भन्न सक्दैनौँ थियौँ । सकेसम्म हामीले हाम्रो कामको बारेमा कसैलाई भन्दैनौँ थियौँ ।’

कति पटक छोराछोरीले तपाइ फोहोर मैलामा काम गर्नु हुन्छ हो ? भनेर सोध्दा उनी ढाँट्ने गर्थिन् ।  स्कुलमा उनीहरूका साथीहरूले थाहा पाए भने छोराछोरीलाई स्कुलबाट निकाल्दिने पो हुन की भन्ने उनमा डर हुन्थ्यो । उनी सधैजसो छोराछोरीलाई आफू नगरपालिकामा काम गर्ने हो भन्थिन्।

छोराछोरीले कतैबाट आफ्नो कामबारे थाहा पाउँदा उनीहरूलाई गिज्याउने गरेको तामाङ सुनाउँछिन्, ‘कसैकसैले आफ्नो कामबारे थाहा पाउँदा छोराछोरीहरूको स्कुलमा समेत यसको ममी पोहोर मैलामा काम गर्छन् भनेर गिज्याउने गर्थे । तिमीहरू घरमा मास्क लगाएर बस है फोहोर गन्हाउँछ भनेर  साथीले जिस्काउँछन् भन्दै छोराछोरीले सुनाउँथे ।’  

छोराछोरीलाई साथीहरूले गरेको व्यवहार देख्दा उनलाई यस्तो काम बेकारमा गरेको जस्तो लाग्थ्यो । तर, काम छोड्न उनी सक्दिन थिइन्। जानेको काम त्यही थियो। त्यो काम छोडेर के गरेर गुजारा चलाउनु भन्ने पिरेले काम छोड्न नसकेको उनी सुनाउँछिन् ।

त्यतिबेला बेकारमा काम गरे जस्तो लागे पनि अहिले चाहिँ यो कामबाट भने खुसी छिन् । आफ्नो दैनिकी फोहोरमैलासंग बिते पनि उनले आफ्ना छोराछोरीलाई राम्रो ठाउँमा पुर्‍याउन सकेकोमा खुसी हुँदै उनी भन्छिन्, ‘अहिले यो क्षेत्रमा काम गर्दा पनि गर्व लाग्छ । यो काम गरेर नै मैले ठूली छोरीलाई स्टाफ नर्स बनाएको छु । सानी छोरीलाई होटल म्यानेजमेन्ट पढाइरहेको छु । छोरो समेत १२ कक्षामा पढ्दै छ ।’ अहिले उनका श्रीमान् काठमाडौं महानगरपालिकामा ड्राइभरको काम गर्छन् ।  

‘अहिले राम्रो दिन आउने रहेछन् । पहिलो हामीलाई कति समस्या अनि कति दुख थिए । हामीले फोहोरको क्षेत्रमा काम गरेको थाहा पाए भने कोठा समेत भाडामा पाइँदैन थियो । कोठा खोज्न जाँदा कामबारे भन्दैनौँ थियौँ’, उनी सुनाउँछिन् । 

शान्तीजस्तै काम गर्दै गुजारा चलाउनेहरू मिलेर सम्युक्त सफाई जागरण संस्थासमेत खोलेका छन् । २०६९ सालमा खुलेको यस संस्थामा एक हजार जना भन्दा बढी आबद्ध छन् । उक्त संस्थाले सोही नामबाट बचत तथा ऋण सहकारी संस्था रहेको छ। उक्त सहकारीले संस्थासँग जोडिएका सदस्यहरूबाट बचत संकलन गर्ने र ऋण दिने गरेका छन् । उक्त संस्था र सहकारीको अध्यक्ष पनि शान्ति तामाङ नै रहेकी छिन् । 

करिब ३० वर्ष फोहोरमैलाको क्षेत्रमा काम गरेर दैनिकी बिताएकी तामाङ सरकारबाट कुनै सहयोग नपाएको गुनासो गर्छिन् । यस्ता काम गर्नेहरूलाई  सरकारसम्म पहुँच हुनेले धेरै सेवा सुविधा पाएका छन् । तर, पहुँच नहुनेले केही पनि पाएका छैनन । यस क्षेत्रमा काम गर्नेहरूलाई सरकारले हेर्नु पर्ने उनको माग छ ।

 

प्रतिक्रिया दिनुहोस