aarthiknews.com मंगलबार, १३ मंसिर २०७९   Tuesday, 29 November, 2022
 
Everest Bank
British College
Blue Diamond

दुबिधामा रहेका शेयर लगानीकर्ताको यस्तो रहेछ नीति

  • सम्झना बरुवाल
    सम्झना बरुवाल
  • विहीबार, २७ असोज २०७९
दुबिधामा रहेका शेयर लगानीकर्ताको यस्तो रहेछ नीति
ismt college
nabil bank

काठमाडौं । अहिले शेयर बजारका अधिकांश लगानीकर्ताहरू दुबिधामा छन्: थप लगानी गर्ने कि पर्ख र हेरको नीति अङ्गाल्ने। यस्तो अन्यौलताको कारण स्पष्ट छ । नेप्से परिसूचक अकल्पनीय बिन्दुमा झरी सकेको छ। यस्तो बेला लगानी गर्ने समय हो, सामान्यतया । किनभने 'बजार घट्दा लगानी गर्नु र बढ्दा शेयर बेच्नु' भन्ने सूत्र धेरैले दोहोर्‍याउने गरेको देखिन्छ। तर, अझै थप तल झर्ने पो हो कि भन्ने आशङ्का गर्ने आधारहरू पनि प्रशस्तै छन्। जसका कारण लगानीकर्तामा हिचकिचाहट व्याप्त छ। 

दशैंअघि आम लगानीकर्ताहरूमा एउटा विश्वास थियो की दशैंपछि शेयर बजारले गति लिने छ। तर, त्यो अनुमान सही साबित हुन सकेको छैन।  बरु दशैं बिदापछि बजार खुलेसँगै सामान्य उतार चढाव मात्र देखिएको छ । अधिकांश दिन नेप्से परिसूचक घट्यो भने बुधबार सामान्य अङ्कले बढेको देखियो। दशैंको बेला हुने आर्थिक गतिविधिको प्रभाव शेयर बजारमा देखिएको छैन । बरु, तुरुन्तै ब्याजदर घटाउने अर्थमन्त्रीको योजनामा समेत तुसारापात भएको छ।  ब्याजदरबारे अध्ययन गरि सुझाव पेश गर्न भने सरकारले गठन गरेको समितिले बैंक ब्याजदरमा सरकारले हस्तक्षेप गर्न नहुने बरु अझै केही समय बजारलाई नै ब्याजदर निर्धारण गर्न छोड्नुपर्ने सुझाव दिएको छ।    

बैंकको ब्याजदर नघट्ने हो भने त्यसको सिधा प्रभाव शेयर बजारमा पर्ने हुँदा पुँजी बजार चलायमान हुन गाह्रो हुने कुरा लगानीकर्ताहरूले भन्दै आएका छन्। पुँजी बजार लगानीकर्ता सङ्घकी राधा पोखरेल राष्ट्र बैंकले सेयर कर्जामा कडाइ गर्दा समस्या हुने गरेको बताउँछिन्। उनी भन्छिन्, 'राष्ट्र बैंकले शेयर कर्जामा गरेको कडाइ र अहिले अत्यधिक चर्को गरि बढेको ब्याजदरले शेयर बजारलाई समस्यामा परेको छ।'  

ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष भरत रानाभाट पनि शेयर बजारले गति नलिनुमा ब्याजदर नै दोषी देख्छन्। उनी भन्छन्, 'बजार अहिले मन्द गतिमा छ । अहिले ब्याजदर पनि बढेकोले यस्तो भएको हो । ब्याजदर घट्यो र बजारमा देखिएको तरलताको समस्या पनि हट्दै गयो भने  सेयर बजारमा केही सुधार देखिएला तर, तत्कालै बजारमा धेरै घटबढ हुँदैन।' चुनावी माहौलका कारण बजारमा पैसा आउने सम्भावना प्रति भने उनी आशावादी छन् ।  

आकारको आधारमा समेत शेयर बजार धेरै तल आइसकेको  टिप्पणी गर्दै रानाभाट सकारात्मक कुराहरू आयो भने मात्र राम्रो हुन सक्ने अनुमान लगाउँछन्।  तत्कालै शेयर बजार बढ्ने सम्भावना नकार्दै उनी भन्छन्, 'आजको भोलि नै बजारमा अवस्था बदलिन सक्ने अवस्था छैन ।' बजारलाई  पैसा चाहिने हुँदा सजिलै पैसा आउने वातावरण हुनुपर्ने उनको तर्क छ । अहिले बैंक तथा वित्तीय संस्थाबाट पनि सजिलै पैसा पाउने स्थिति नरहेको र पैसा आउनका लागि पनि माहौल समेत नभएको उनको बुझाई छ ।  

अर्का लगानीकर्ता नवराज दाहाल पनि बैंकले ऋण नदिएको र तरलता अभाव रहेको भन्ने हल्लाका कारण शेयर बजारले गति लिन नसकेको बताउँछन्। उनका अनुसार शेयर बजार लयमा फर्किन नसक्नुको कारण अहिले बजारमा देखिएको तरलताको अभावको हल्ला नै हो । आवश्यक माहौलको आवश्यकता औँल्याउँदै उनी भन्छन्, 'बैंकहरूमा पैसा भए पनि बजारमा बैंकमा पैसा छैन भन्ने सन्देश गएको छ । भित्रभित्र ऋण पाइरहेको पनि छ बाहिरी रूपमा हेर्दा मात्र तरलताको अभाव देखिएको हो', उनको निष्कर्ष छ, 'समग्रमा भन्नुपर्दा पुँजी बजारलाई सुधार गर्नका लागि सकारात्मक माहौलको खाँचो देखिन्छ ।' 

सेयर बजारले लय समात्ने सम्भावनाबारे अनुमान गर्दै दाहाल लगानीकर्ताहरू आत्तिनु पर्ने अवस्था नरहेको बताउँछन् । उनी भन्छन्, ‘अहिले क्लोजिङको समय पनि हो । आम मानिसमा अब बजारमा अलिकति पैसा आउँछ, बैंकबाट ऋण पाइन्छ भन्ने अपेक्षा थियो । त्यो भएको छैन । समग्रमा भन्नुपर्दा पर्ख र हेरको अवस्था नै छ ।’    

पोखरेल भने अहिले बोनस शेयर वितरण गर्ने समय पनि भएको र बजारमा तरलताको अभाव पनि केही मात्रामा सहज बन्दै गएकोले केही आशावादी देखिन्छिन्। अब बिस्तारै बजारमा केही मात्रामा सकारात्मक सङ्केत देखिने उनको विश्वास रहेको छ । तर सेयर बजारमा सुधार आउनका लागि तरलता सहज हुनुपर्ने जनाउँदै पोखरेल भन्छिन्, 'लगानीकर्ताहरूलाई असोज मसान्तको प्रेसर पनि छ । यसले गर्दा पनि बजारमा समस्या देखिएको हो । पुँजी बजार सुधारका लागि धितो पत्र बोर्डले पनि राम्रो पोलिसीहरु ल्याएको छ ।' तर, बजारमा देखिएको तरलता अभाव र लगानीकर्ताहरूको पैसा पनि सेयर बजारमा नै डुबिरहेको कारणले समस्या परेको उनको तर्क छ । 

बजार घट्दा लगानीकर्ताहरूलाई असर पर्ने र बजारमा उतार चढाव हुने कुरालाई स्वाभाविक रूपमा लिँदै दाहाल भन्छन्, 'केही दिन अगाडी जुन अनुपातमा बजार बढेको थियो त्यही अनुपातमा नै घटेको छ । अन्तिम बिन्दुमा नै आइसकेको होइन । धेरै लगानी गरेका लगानीकर्ताहरूले पनि धेरै घाटा खाएर बेच्नुपर्ने अवस्था छैन ।' उनका अनुसार पुँजी बजारका लागि नकारात्मक कुराहरू सबै नै सकिसकेको छ । अहिले सकारात्मक माहौललाई कुरिरहेको हुँदा बजार धेरै घट्ने ठाउँ छैन ।

पछिल्लो समयमा शेयर बजारमा लगानी गर्नका लागि नयाँ लगानीकर्ताहरूको आकर्षण बढ्दो छ । सीडिएस क्लियरिङ लिमिटेडको तथ्याङ्क हेर्ने हो भने डिम्याट खाता खोल्नेहरूको सङ्ख्या ५४ लाख नाघेको देखिन्छ । 

यसरी डिम्याट खाता खोल्नेहरूको सङ्ख्या बढ्दो देखिनुले शेयर बजारमा लगानी गर्न चाहने नयाँ अनुहारहरू पनि थपिँदै छन् भन्न सकिन्छ । तर, नेपालको शेयर बजार लामो समयदेखि निरन्तर ओरालो लागिरहेको छ । यसरी सेयर बजारमा देखिएको गिरावटले डिम्याट खाता खोलेर आइपिओ भर्ने बाहेक धेरै जसो लगानीकर्ता दोस्रो बजारमा छिर्न नसकेको देखिन्छ । शायद उनीहरू पनि लगानीकर्ता सङ्घ/सङ्गठनका नेता र अगुवाहरूले भने झैँ 'पर्ख र हेर' कै नीति अवलम्बन गरिरहेका छन्।  

प्रतिक्रिया दिनुहोस