aarthiknews.com मंगलबार, १३ मंसिर २०७९   Tuesday, 29 November, 2022
 
Everest Bank
British College
Blue Diamond

स्याउको ढुवानी भाडा नै किलोको ४० रुपैयाँ, उपभोक्ताले कतिमा किन्नु ?

  • रासस
    रासस
  • विहीबार, १३ असोज २०७९
स्याउको ढुवानी भाडा नै किलोको ४० रुपैयाँ, उपभोक्ताले कतिमा किन्नु ?
ismt college
nabil bank

बाजुरा । बाजुरा जिल्लामा फलेको स्याउ धनगढी बजारसम्म पुर्‍याउन  पवन कट्टेलले प्रतिकिलो ढुवानी भाडा रु ४० खर्च व्यहोर्नु पर्‍यो । 
  
चाडपर्वका समयमा स्याउको कारोबार गरेर आम्दानी गर्ने सोचसहित धनगढीमा बजारीकरण गरिरहेको भेटिनुभएका कट्टेलले ढुवानी भाडा चर्को भएपछि स्याउको व्यापारमा घाटा लागेको गुनासो गरे ।
   
किसानको बारीमै पुगेर प्रतिकिलो रु ३० देखि रु ४० मा थोक मूल्यमा स्याउ खरिद गरेका उनले भने, “सडकको सुविधा नहुँदा बजारसम्म पुर्‍याउन मुश्किल छ, बारीमा लटरम्म फलेका स्याउ बिक्री हुन नसकेर त्यसै सडेर खेर गएका मात्र नभई पशुचौपायालाई खुवाउनुपर्ने किसानको बाध्यता छ ।”
   
उनले बारीमा बोटबाट स्याउ टिप्नेलाई ज्यालाबापत प्रतिकिलोको रु १० व्यहोरेका थिए । प्रतिकिलो ढुवानी खर्च बाजुराको जुकोटलेसीबाट त्रिचोर गाउँसम्म रु १८ र त्रिचोरबाट कालीकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया हुँदै कैलालीको धनगढीसम्म रु १२ खर्च उनले व्यहोरे । 
 
बर्खायाममा गएको पहिराले ठाउँठाउँमा बाटो भत्किएपछि उत्पादित स्याउ आफ्नै प्रदेशको सडकमार्फत बजारसम्म पुर्‍याउन नसकिएको किसानको भनाइ छ । धनगढी बजारमा कट्टेलले प्रतिकिलो रु ७० देखि ८० मा स्याउ बिक्री गर्न सके ।
   
बाजुराको स्वामीकात्तिक गाउँपालिकामा उत्पादन भएको स्याउ सडकको असुविधाले आफ्नै प्रदेशमा पर्ने धनगढीसम्म बजारीकरण गर्न कर्णाली र लुम्बिनी प्रदेशका जिल्ला भएर ढुवानी गर्नुपर्ने बाध्यता छ ।
  
बाजुराको हिमाली भेकका पाण्डुसैन, बूढीनन्दा, स्वामीकात्तिक र जगन्नाथ गाउँपालिका अर्गानिक स्याउ उत्पादनका लागि प्रख्यात छन् । स्याउको बजारीकरण गर्न भइरहेको समस्यासँगै किसान र व्यापारीले यसको उचित मूल्य पाउन सकिरहेका छैनन् । उत्पादन स्थलसम्म कृषि सडकको अभाव देखिनु, भएका सडक पनि बर्खायामा भत्किएर बन्द हुनु, भण्डारणका लागि उचित व्यवस्था नहुनु जस्ता समस्याले उत्पादित स्याउ बजारसम्म पुर्‍याउन समस्या हुने गरेको किसानको भनाइ छ ।
  
स्वामीकात्तिक गाउँपालिका–३ का किसान पदमबहादुर शाहीले सरकारी निकायबाट किसानको अपेक्षाअनुसार सहयोग नपाउँदा स्याउको बजारीकरणमा समस्या भइरहेको बताए । झण्डै २० बिघा क्षेत्रफलको जग्गामा स्याउ खेती गर्नुभएका उनले भने, “किसानले स्याउको उचित मूल्य पनि पाइरहेका छैनन्, उत्पादन भएको स्याउ बारीमा त्यसै खेर जानुभन्दा निकै कम मूल्यमा बिक्री गर्नुपरेको छ ।”  
   
बाजुराको अर्गानिक स्याउ धनगढी पुगेपछि स्थानीय उपभोक्ताले पनि यसको स्वाद पनि लिन पाएका छन् । सुदूरपश्चिम प्रदेशको धनगढी लगायतका सहरी क्षेत्रका फलफूल बजारमा भारतबाट आयात हुने ठूलो परिमाणको स्याउको कारोबार हुने गरेको छ ।
 
किसान शाही आफ्नै देशको माटो र हावापानीमा उत्पादन भएको अर्गानिक स्याउको बजार माग बढाउन नसकिएको बताउनुहुन्छ । अर्गानिक स्याउखेती गरिँदा कुनै प्रकारको विषादी प्रयोग गरिँदैन । बाजुरा पुगेर फर्किनेको कोसेली त्यहाँ उत्पादन हुने अर्गानिक स्याउ नै हुने गरेको छ ।  

कृषि प्राविधिकले हिमाली जिल्लामा उत्पादन हुने स्याउलगायतका कृषिउपजको बजारीकरणमा ठूलो समस्या रहेको बताए । कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले कृषि सडकको व्यवस्थाका साथै उत्पादित स्याउको भण्डारण, न्यूनतम समर्थन मूल्य तोकिदिने जस्ता सेवा सुविधा उपलब्ध गराउन सकिएमा उत्पादित स्याउलगायतका कृषिउपज बजारीकरणमा सहयोग पुग्ने बताए ।
  
कुनै पनि विषादी र हर्मन प्रयोग नगरी उत्पादन हुने अग्र्यानिक स्याउ उपभोक्ताको रोजाइ हुनुपर्नेमा उपभोक्तामा चेतनाको अभावका कारण भारतबाट आयातित हरमन वा अन्य विषादीको प्रयोग गरिएको स्याउको माग फलफूल बजारमा बढी देखिने गरेको बताइन्छ । कृषि ज्ञान केन्द्रले ढुवानी अनुदानबापत प्रतिकिलो रु २७ उपलब्ध गराएको कृषकले बताएका छन् । ज्ञान केन्द्रले यसअघि पनि उत्पादित अर्गानिक स्याउको ढुवानीमा अनुदान दिएको थियो । 
   
अर्गानिक स्याउको स्वाद लिनुभएका स्थानीय राजेन्द्र भट्टले भने, “स्याउ रसिलो र स्वादिलो छ, आफ्नै देशको हावापानीमा उत्पादन भएको स्याउ नेपालका बजारमा पु¥याउन किसानले झेलेको समस्या देखिनु विडम्बना हो ।”

प्रतिक्रिया दिनुहोस