साना तथा घरेलु व्यवसायलाई आवश्यक पर्ने स्वपुँजीका लागि वित्तीय स्रोत उपलब्ध गराउने उद्देश्यले स्थापना भएका लघुवित्त संस्थाहरूले ग्रामीण भेगका महिलाहरूको जीवन स्तर उकास्नका लागि काम भएको छ । अहिले ६५ वटा लघुवित्त संस्था हाल कार्यरत रहेका छन् । लघुवित्तहरूको सङ्ख्या धेरै भएका कारणले ग्राहकहरू खोसा भइरहेकाले लघुवित्तहरूको लगानी पनि विवादमा देखिएको छ । लघुवित्तहरूको लगानी र यसको योजनाहरूका बारेमा नेशनल माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत तथा माइक्रो फाइनान्स एसोसिएसन अफ नेपालका महासचिव रामबहादुर यादवसँग आर्थिकन्युज डटकमले कुराकानी गरेको छ । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश:
बाहिर प्रचार गरे जसरी नेपालमा माइक्रोफाइनान्सहरुले काम गर्न सकेका छन् ?
क, ख, ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू धितो लिएर मात्रै काम गर्छन् । उनीहरुकोमा धितो सुरक्षण नभएका मानिसहरू आबद्ध हुन पाएनन् । यस्तो हुँदा गरिब तहको मानिसहरू सेवाबाट वञ्चित हुनु हो । गरिब घरपरिवारलाई वित्तीय स्रोत दिनका लागि माइक्रोफाइनान्स आएको हो । माइक्रोफाइनान्सहरुले यी नै गरिब परिवारलाई बिना धितो सहज र सुलभ तरिकाले आर्थिक स्रोत उपलब्ध गराउने हो । त्यही आर्थिक स्रोतबाट उसले व्यवसाय गर्दै जीवनयापनसँगै आर्थिक र सामाजिकरुपमा रूपान्तरण गर्ने हो ।
माइक्रोफाइनान्सको इतिहास निकै लामो रहेको छ । माइक्रोफाइनान्सको कामको कुरा गर्ने हो भने यसमा दुई वटा आर्थिक र सामाजिक अब्जेक्टिभ रहेको छ । यसमा पनि बिना धितो गरिब परिवारका महिलासँग काम गर्ने हो । त्यस्ता महिलाहरूको सशक्तीकरण कसरी गर्न सकिन्छ भनेर माइक्रोफाइनान्स लागि परेका छन् ।
माइक्रोफाइनान्सले बिना धितो ऋण दिनुभन्दा अगाडी उनीहरूलाई तालिम दिने गर्छ । माइक्रोफाइनान्सले कसरी काम गर्छ, यसको नीति नियम के हो, पैसा लिएपछि के गर्दा राम्रो हुन्छ लगायत विषयहरूमा तालिम दिने गरिन्छ ।
नेपालमा वित्तीय पहुँच पुर्याउनका लागि माइक्रोफाइनान्सको निकै नै ठूलो भूमिका रहेको छ । यसमा पनि महिला सशत्तिकरणमा माइक्रोफाइनान्सको धेरै नै भूमिका रहेको छ । हालसम्म लगभग ५९ लाख घरपरिवारमा माइक्रोफाइनान्स पुगेको छ । यसको ३० प्रतिशत सहरी क्षेत्रमा रहेको छ भने ७० प्रतिशत ग्रामीण दुरदराजहरु क्षेत्रहरूमा रहेको छ ।
माइक्रोफाइनान्सले कसरी लगानी गर्छ ? ऋण दिँदा के के कुराहरू प्राथमिकतामा राखिन्छ ?
माइक्रोफाइनान्सले लघु उद्यमी विकास गर्न सुरुवातमा प्राथमिकता दिन्छ । सानो लगानीबाट शुरु गरेर भोलिका दिनमा ठूलो व्यवसायी बन्न सकुन् भन्ने हामीले उद्देश्य राखेर ऋण दिने गर्छौ । माइक्रोफाइनान्सबाट ऋण लिएर शुरु गरेको व्यवसाय भोलिका दिनमा बैंक वित्तीय संस्थाबाट ठूलो मात्रमा ऋण लिएर व्यवसाय सञ्चालन गर्न सक्नु पर्छ भनेर हामीले भन्ने गरेका छौँ ।
माइक्रोफाइनान्सबाट दुई प्रकारका ग्राहकहरू छन् । पहिलो व्यवसाय शुरु गर्न लागेको र केही गरिरहेको व्यक्ति जसले व्यवसाय विस्तार गर्न चाहन्छ । यसमा हामीलाई ऋणको लागि छनौट गर्दा केही समस्या हुने गरेको छ । सुरुवातदेखि नै व्यवसाय गर्नेहरूका लागि ऋण दिनका लागि हामीले छनौट गर्न सक्छौँ तर, जो नयाँ छ उसले व्यवसाय शुरु गर्न लागिको भनेर आएको छ भने उसको छनौटमा समस्या हुने गर्छ । उनीहरूले व्यवसाय शुरु गर्छ या गर्दैन र उसले व्यवसाय शुरु गर्छ भने सफल हुन्छ कि हुँदैन भन्ने हो । उत्पादन गर्न सक्ने क्षमतादेखि बजारीकरणसम्मको अवस्थाका बारेमा हामीले हेर्नु पर्ने हुन्छ । अनि मात्रै कुनै व्यक्तिलाई यो व्यवसाय गर्नु भयो भने सफल हुनुहुन्छ भनेर भन्न सक्छौँ ।
माइक्रोफाइनान्सले बिनो धितो लगानी गर्छ । यसो गर्दा जोखिम कतिको हुन्छ ?
‘हाइ रिस्क, हाइ गेन, नो रिस्क नो गेन’ भन्ने सबैलाई थाहा छ । माइक्रोफाइनान्सहरु हाई रिस्कमा काम गरिरहेका छन् । अहिले पनि माइक्रोफाइनान्सले लगानी गरेको साढे चार खर्बको लगानीमा ८२ प्रतिशत रकम बिना धितोको नै रहेको छ । जुन माइक्रोफाइनान्सले विश्वासको आधारमा दिएको रकम हो । यो भनेको सानोतिनो कुरा होइन । अहिले गाउँघरमा आफन्तहरूले नै विश्वास गरेर पैसा दिँदैन । तर, माइक्रोफाइनान्सले विश्वास गरेर पैसा दिएको अवस्था छ । माइक्रोफाइनान्सले काम गर्ने अवसरका लागि यसरी पैसा दिएको छ । यसरी हेर्दा माइक्रोफाइनान्सहरु हाइ रिस्कमा काम गरेको अवस्था छ ।
माइक्रोफाइनान्सहरुले गाउँगाउँ घरघरमा गएर सेवा दिनु पर्छ । माइक्रोफाइनान्सका कर्मचारीहरूले ज्यानको बाजी लगाएर काम गरिरहेका छन् । उनीहरूले गाउँमा गएर पैसा बोकेर ल्याउनु पर्ने बाध्यता छ । माइक्रोफाइनान्सले गरिबहरूको लागि काम गरिरहेका छन् । राम्रो काम गर्नका लागि जोखिम उठाउनै पर्छ । माइक्रोफाइनान्सले उच्च जोखिममा काम गरिरहेको छन् ।
जोखिम मोलेर काम गर्दा संस्थाको वित्तीय अवस्थाको तथ्याङ्कमा राम्रो प्रस्तुति देखाउन सक्नु हुन्न होला नि ?
जसको केही छैन उसको सेवा दिनका लागि माइक्रोफाइनान्स सुरु भएको हो । हाम्रो कर्तव्य र धन भनेको नै त्यही हो । जोसँग केही छैन उसले केही गर्न चाहन्छ भने माइक्रोफाइनान्सले साथ दिन्छ । बिना धितो काम गर्नु भनेको व्यवसायीक धर्म गर्नु नै हो । हामीले सानो सानो पैसा धेरै मानिसहरूलाई दिन्छौँ । थोरै पैसा धेरै सङ्ख्यामा गयो भने जोखिम कम गर्छ ।
तर, पछिल्लो समय सामाजिक दायित्वका कुराहरू कमजोर बन्दै गएका छन् । यसका साथै माइक्रो फाइनास कम्पनी धेरै भए । धेरै ठाउँबाट प्रश्न उठाउन थालियो । उसको क्षमता भन्दा बढी भयो । यसले गर्दा एनपिएल बढ्दो छ । यसमा जाने सम्भावना धेरै नै देखिएको छ । यसका साथै नन पर्ममिङ लोन एकदमै बढ्दै गएको छ । यसले चुनौती समेत थपेको अवस्था छ ।
माइक्रोफाइनान्समा जोखिम बढ्दो अवस्थामा छ । एनपिएल पनि क्रमशः बढ्दो अवस्थामा रहेको छ । जोखिम कम गर्नका लागि हामीले ऋण दिएर सञ्चालन भएका व्यवसायहरूमा ध्यान दिनु पर्छ ।
प्रतिक्रिया दिनुहोस