
काठमाडौं । भदौ महिनामा कारोबारमा आएका कम्पनीहरूमध्ये रिडी पावर कम्पनीको सर्वाधिक रकमको शेयर खरीदविक्री भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सार्वजनिक गरेको तथ्याङ्कलाई आधार मान्दा रिडी पावरको रू. १ अर्ब ६९ करोड भन्दा बढी रकमको शेयर कारोबार भएको हो ।
रैराङ हाइड्रोपावर लिमिटेड र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड एक आपसमा मर्ज भएर रिडी पावरको नामबाट एकिकृत कारोबार सुरु गरेका हुन ।
२०७८ साल कात्तिक १७ गते मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर कात्तिक २२ गतेदेखि दुबै कम्पनीको शेयर कारोबार रोक्का रहेको थियो । मर्जर प्रकृया पुरा गरेसँगै साउन २९ गतेदेखि एकिकृत कारोबार सुरु गरेका कम्पनीहरूको मर्जरपछि कायम शेयर साउन २९ गतेनै सूचीकृत भएको थियो ।
लामो समय रोक्का रहेको कम्पनीको शेयरकारोबार खुला भएसँगै विक्री चाप बढेको देखिन्छ । घट्दो बजारमा कम्पनीको शेयर विक्री चाप बढी भएकै कारण मूल्यमा समेत असर परेको देखिन्छ ।
नेप्सेले मर्जरपछिको पहिलो कारोबारका लागि रिडी पावरको खुला मूल्य प्रतिकित्ता रू. ७०८ दशमलव ६० तोकेको थियो । भदौ मसान्तसम्मको कारोबारमा कम्पनीको अन्तिम शेयरमूल्य प्रतिकित्ता रू. ५३७ कायम भएको छ । भदौ महिनाको कारोबारमा रिडीको शेयरमूल्य प्रतिकित्ता रू. १७१ दशमलव ६० ले घटेको हो ।
भदौ महिनामा रिडी पावर कम्पनीपछि नेपाल दुरसञ्चार कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । नेप्सेका अनुसार नेपाल दुरसञ्चार कम्पनीको भदौ महिनामा रू. १ अर्ब २२ करोडभन्दा बढीको शेयर कारोबार भएको हो ।
धितोपत्र दोस्रो बजारमा सर्वाधिक दोस्रोमा कुल बजार पूँजीकरणको हिस्सा ओगटेको नेपाल दुरसञ्चार कम्पनीको शेयर कारोबारमा तिव्रता आउँदा समग्र बजारमा असर पर्ने गर्छ । कुल बजार पूँजीकरणमा सर्वाधिक हिस्सा ओगटेको नबिल बैंकको भदौ महिनामा सर्वाधिक तेस्रोमा शेयर खरीदविक्री भएको छ ।
नबिलको यो महिना रू. ९७ करोडभन्दा बढीको शेयर कारोबार भएको हो । यो महिना सर्वाधिक रकमको कारोबार हुने दश कम्पनीहरूमध्ये चार जलविद्युत कम्पनी रहेका छन् । रिडी पावरसँगै अपि पावर, अरुण कावेली पावर र हिमाल दोलखा हाइड्रोपावर पावर पनि सर्वाधिक रकमको कारोबार हुने दश कम्पनीभित्र परेका हुन ।
यीसँगै शिवम् सिमेन्ट, हिमालयन डिष्टिलरी, नेष्डो समृद्ध लघुवित्त र हिमालयन एभरेष्ट इन्स्योरेन्स पनि सर्वाधिक रकमको कारोबार हुने दश कम्पनीभित्र परेका हुन ।
प्रतिक्रिया दिनुहोस