काठमाडौं । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहले आफ्नो पदको दुरुपयोग गरेको आरोप लागेको छ । परिषद्को अध्यक्ष रहेका साहले कुनै पनि सेवा सुविधा लिन नमिल्ने भए पनि उनले आफूखुसी सेवा सुविधा लिइरहेको आरोप लागेको हो ।
परिषद्को स्रोतका अनुसार अध्यक्षले परिषद्मा रहँदा यसबाट कुनै पनि सेवा सुविधा लिन पाउँदैनन् । तर, अध्यक्ष साहले राजनीतिक पहुँचका आधारमा परिषद्बाट सेवा सुविधा एकलौटी तरिकाले पास गर्न दबाब दिने गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले गत असार १४ गते साहलाई अध्यक्ष पदमा नियुक्त गरेका थिए । मन्त्री श्रेष्ठका नजिकका मानिने साहले पदको दुरुपयोग गरेको उक्त परिषद्का एक कर्मचारीले आर्थिकन्युज डटकमलाई बताए ।
‘साहलाई कुनै पनि आर्थिक तथा प्रशासनिक अधिकार दिइएको छैन । तर, उनले आफ्नो पदको दुरुपयोग गर्दै परिषद्बाट नै पेट्रोल र डिजेल प्रयोग गर्ने गरेका छन्’, परिषद् स्रोत भन्यो, ‘परिषद्को कामको लागि भन्दा पनि राजनीतिक पार्टीको लागि बढी खटिने गरेको समेत साहमाथि आरोप छ । दैनिक जसो परिषद्मा ५०/६० जनाको हाराहारीमा कार्यकर्ता बोलाएर छलफल गरेर बस्ने गरेका छन् ।’
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का लागि वार्षिक तीन करोड रुपैयाँ बजेट आउने गर्छ । उक्त बजेट जानकी मन्दिर लगायतको मन्दिरको मर्मत सम्भारमा खर्च गर्नु पर्ने हुन्छ । तर, अध्यक्ष साहले उक्त बजेट त्यसका लागि मात्रै खर्च नगर्ने गरेको स्रोतको भनाई छ । यसका साथै साहले सोही स्थानमा रहेको यात्री निवास भवनमा समेत यात्रीहरूलाई नराखी आफैले प्रयोग गर्ने गरेको स्रोतको दाबी छ ।
उता, अध्यक्ष साहले भने आफूले पदको दुरुपयोग गरेको पुष्टि गर्न चुनौती दिएका छन् । उनले आर्थिक न्युज डटकमसँग भने,‘म परिषद्मा नियुक्ति भएको तीन महिना भएको छ । यस अवधिमा मैले अध्यक्ष पदको कुनै पनि दुरुपयोग गरेको छैन । पदको दुरुपयोग गरेको प्रमाण सहित पुष्टि गर्नु पर्छ ।’
अहिले आफूले सरकारले दिएको एउटा गाडी प्रयोग गरेको उनले बताए । उक्त गाडीमा इन्धन बापत तीन महिनाको अवधिमा तीस हजार रुपैयाँ लगाएको बताए । तर, त्यहाँका कर्मचारीहरूले तीस हजारको इन्धन प्रयोग गर्दा तीन लाखको भनेर कागजात मिलाउने गरेको उनको आरोप छ ।
साथै उनले परिषद्को अध्यक्षले सेवा सुविधा लिन नपाउने भन्दा पनि राज्यमन्त्री सरहको सेवा सुविधा पाउने उनको भनाइ छ । अध्यक्ष साहले दाबी गर्दै भने, ‘यस परिषद्को अध्यक्षले राज्यमन्त्री सरहको सेवा सुविधा पाउँछन् । यसअघिका अध्यक्षले पनि लिएका थिए ।त्यही अनुसार मैले पनि सेवा सुविधा पाउनु पर्छ । यो बाहेक मैले कुनै पनि भ्रष्टाचारजन्य काम गरेको छैन । र, भोलिका दिनमा समेत गर्नेवाला छैन ।’
काम नगर्ने कर्मचारीहरूलाई आफूले काम गर्न दबाब दिँदा आफू विरुद्ध कर्मचारीले झुटो आरोप लगाएको उनले गुनासो गरे । उनले भने,‘परिषद्का कर्मचारीहरू काम नै गर्न चासो राख्दैनन्। उनीहरूले काम नगरेका कारण मैले काम गर्न दबाब दिँदा म विरुद्ध झुटा आरोप लगाएका हुन सक्छन् ।’
आर्थिकन्यूज
प्रतिक्रिया