
एजेन्सी । भारतीय अर्बपति गौतम अडानी १५४.७ बिलियन डलरको सम्पत्तिका साथ विश्वको दोस्रो धनी व्यापारी बनेका छन्। फोर्ब्सको रियल टाइम अर्बपतिहरूको सूची अनुसार गौतम अडानीले फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै यो स्थान हासिल गरेका हुन् । फोर्ब्सको अर्बपति सूचकांकको शीर्ष २ मा एसियाली व्यक्ति प्रवेश गरेको यो पहिलो पटक हो ।
अब गौतम अडानी वरियतामा इलोन मस्कभन्दा एक कदममात्रै पछि छन् । टेस्लाका संस्थापक एलोन मस्क २७३.५ बिलियन डलरको कुल सम्पत्तिका साथ पहिलो नम्बरमा छन्। बर्नार्ड अर्नाल्ट १५३.८ बिलियन डलरको कुल सम्पत्तिका साथ तेस्रो र जेफ बेजोस १४९.७ बिलियन डलरको कुल सम्पत्तिको साथ सूचीमा चौथो स्थानमा छन्।
एशियाको सबैभन्दा धनी व्यक्ति अदानी बाहेक, रिलायन्सका अध्यक्ष मुकेश अम्बानी फोर्ब्सको शीर्ष १० सूचीमा समावेश हुने दोस्रो भारतीय हुन्। मुकेश अम्बानी ९२.१ बिलियन डलरको कुल सम्पत्तिको साथ विश्वको आठौं धनी व्यक्ति हुन्।
१७ दिनअघि अदानी विश्वको तेस्रो धनी व्यापारी बनेका थिए । अडानीले २०२२ मा मात्रै आफ्नो कुल सम्पत्तिमा ७८.२ बिलियन डलर थपेको छ। यो कुनै पनि व्यापारीको भन्दा ५ गुणा बढी हो । उनले पहिलो पटक रिलायन्सका अध्यक्ष मुकेश अम्बानीलाई फेब्रुअरीमा सबैभन्दा धनी एशियालीको रूपमा उछिनेका थिए।
प्रतिक्रिया दिनुहोस