
काठमाडौं । चालु आर्थिक वर्षको भदौ महिनामा उद्योगका लागि ३१ अर्ब रुपैयाँ भन्दा बढि लगानी प्रस्ताव आएको छ । उद्योग विभागका अनुसार यस अवधिमा विभिन्न क्षेत्रका ३९ वटा उद्योगका लागि ३१ अर्ब ८५ करोड २६ लाख ७९ हजार रुपैयाँ लगानी प्रस्ताव आएको हो ।
विभागका अनुसार यस अवधिमा सबैभन्दा बढि लगानी जलविद्युत क्षेत्रमा आएको छ । भदौ महिनामा जलविद्युत क्षेत्र ९ वटा उद्योगका लागि १८ अर्ब ६९ करोड ३ लाख ७५ हजार रुपैयाँ लगानी प्रस्ताव आएको हो ।
भदौ महिनामा दर्ता भएका हाइड्रोपावरमध्ये गोर्खामा दर्ता भएको यारु हाइड्रोपावरका लागि सबैभन्दा बढि लगानी प्रस्ताव आएको छ । यस अवधिमा उक्त हाइड्रोपावरका लागि ५ अर्ब ८१ करोड ४ लाख ५० हजार रुपैयाँ लगानी प्रस्ताव आएको हो ।
त्यस्तै,सोलुखुम्बुमा दर्ता भएको नुम्बुर हाइड्रोपावरका लागि २ अर्ब १६ करोड २ लाख १८ हजार रुपैयाँ लगानी प्रस्ताव आएको विभागको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी, सेवामुलक क्षेत्रका चार उद्योगका लागि ५ अर्ब ८३ करोड ६६ लाख ८८ हजार रुपैयाँ लगानी प्रस्ताव आएको छ । सेवामुलक क्षेत्रमा दर्ता भएका उद्योगमध्ये शिवम् होल्डिङग्स् लिमिटेडका लागि ५ अर्ब ५० करोड रुपैयाँ लगानी प्रस्ताव आएको छ ।
विभाग अनुसार यस अवधिमा पर्यटन क्षेत्र १३ वटा उद्योगका लागि ३ अर्ब ४७ करोड ५० लाख रुपैयाँ लगानी प्रस्ताव आएको विभागको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी यस अवधिमा निर्माण क्षेत्रका १२ वटा उद्योगका लागि ३ अर्ब ८० करोड ६ लाख १६ हजार रुपैयाँ लगानी प्रस्ताव आएको छ । भने सूचना प्रविधिको क्षेत्रमा ५० करोड रुपैयाँ लगानी प्रस्ताव आएको विभागको तथ्यांकमा उल्लेख छ । विभागको तथ्यांक अनुसार भदौ महिनामा वैदेशिक लगानी भने शुन्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस