aarthiknews.com बुधबार, २० मंसिर २०८०   Wednesday, 06 December, 2023
 
Royal Enfield

‘व्यवसाय गर्ने मानिस राजनीतिमा आउने हो भने शुद्धता हुन आवश्यक छ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ भदौ २०७९
Global IME
‘व्यवसाय गर्ने मानिस राजनीतिमा आउने हो भने शुद्धता हुन आवश्यक छ’
DHI
nmb

राजनीति क्षेत्रमा व्यवसायीहरूको बलियो उपस्थिति देखिन्छ । प्रमुख राजनीतिक दलहरू नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी पार्टीहरूमा पनि व्यवसायीहरूको धेरै नै सहभागिता रहेको छ । वडादेखि केन्द्रसम्म नेतृत्वमा व्यवसायीहरू आएका उदाहरणहरु उहाहरणहरुप्रशस्तै रहेका छन् । व्यवसायीहरूको राजनीतिक सक्रियतालाई कतिपयले आफ्नो फाइदा र व्यवसाय बढाउने साधनका रूपमा पनि विश्लेषण गर्ने गरेको पाइन्छ । तर, करिब ४० वर्षदेखि व्यवसाय र राजनीतिमा सक्रिय रहेका मेरिना इम्पेक्सका सञ्चालक तथा नेपाली काँग्रेसमा क्रियाशील सदस्य गोकुल खड्का भने आफ्नो फाइदाको लागि राजनीतिमा जोडिन नहुने तर्क राख्छन् । व्यवसाय गर्ने मानिस राजनीतिमा जोडिनेबारे उनै खड्कासँग आर्थिक न्युज डटकमकी सम्वाददाता रिता राउतले कुराकानी गरेकी छिन् । प्रस्तुत छ, सोही कुराकानीको सम्पादित अंश:    

करिब ४० वर्षदेखि व्यवसाय सञ्चालन गर्दै आउनु भएको छ । यो बिचको अनुभव कस्तो रह्यो ? 
म करिब ४० वर्षदेखि निरन्तर व्यावसायिक रूपमा आबद्ध छु । मेरो व्यावसायिक यात्रामा धेरै नै उत्तारचढावहरू आए । मैले सटिङ, सुटिङ र टेलरिङमा व्यवसाय सुरु गर्दा सरकारले साथ दिएन । बरु उल्टै दुःख दियो । तर, पनि म विभिन्न अप्ठ्यारा परिस्थितिसँग लड्दै यहाँसम्म आइपुगे ।

मैले सटिङ, सुटिङ र टेलरिङको व्यवसाय सुरु गर्दा नेपाली कामदार पाउनै मुस्किल रहेको थियो । धेरैजसो भारतीय मात्रै कामदार पाइन्थे । यस क्षेत्रमा नेपालीहरूले दक्षता एकदम कम रहेको थियो । तर, पनि हामीले नेपालीहरूलाई खोजी खोजी काम दिन्थ्यौँ । मैले दाङदेखि नेपालीहरूलाई ल्याएर काम दिए । 

मेरिना इम्पेक्स, जसले सटिङ सुटिङ र टेलरिङमा आफ्नो छुट्टै छाप बनाएको छ । यो कसरी सम्भव भयो ? 
चार दशकदेखि मेरिना इम्पेक्सले सटिङ, सुटिङ र टेलरिङको सेवा दिइरहेको छ । धारणा परिवारले मात्रै सटिङ सुटिङका कपडा लगाउने त्यो पनि चाडपर्व वा वर्षमा एक पटक लगाउने चलन भएको बेलादेखि सुरु भएको यो व्यवसाय अहिले सदाबहार र जो कोहीले पनि लगाउने सकिने बेलासम्म आइपुगेको छ ।  

हामीले यो व्यवसाय सुरु गर्दा ग्राहकहरूलाई क्यालिटिको खासै मतलब हुँदैन थियो । जस्तो बनाइदिए पनि ठिकै मान्नु हुन्थ्यो । अहिले त ग्राहकहरू धेरै नै चनाखो भइसक्नु भएको छ । यसले गर्दा पनि हामीले गुणस्तरलाई एकदमै केन्द्रित रहेर काम गरिरहेका हुन्छौँ । 

मेरिना इम्पेक्सले ग्राहकको मन जित्न सकेको छ । हाम्रोमा आएको ग्राहकहरू हाँसेर फर्किनु हुन्छ । हाम्रो सेवाका कारण धेरै ग्राहकहरू पटक पटक हाम्रोमा आइराख्नु हुन्छ । मेरिना इम्पेक्सले अहिले चार ठाउँबाट सेवा दिइरहेको छ । जुन काठमाडौंको न्युरोड, बागबजार, गावाहाल पाटन र सामाखुसीबाट यो सेवा प्रदान गरिरहेका छौँ । 

अहिले धेरैले क्वालिटीको कुरा गर्छन् तर, सेवा दिँदा त्यस्तो हुँदैन । तर, हामीलाई ग्राहकहरूको दिएको सल्लाह सुझावलाई लिएर हामी अगाडी बढेका छौँ । हामीले ग्राहकको आवश्यकता र रुचिलाई ध्यानमा राखेर नै यहाँसम्म आइपुगेका छौँ । अहिले हाम्रो छुट्टै ब्रान्ड छ ।  हाम्रो छुट्टै ब्रान्ड बन्नुमा ठूलो हात ग्राहकको नै रहेको छ । 

व्यवसायसँगै यहाँ राजनीतिक क्षेत्रमा पनि आबद्ध हुनुहुन्छ । नेपाली काँग्रेसमा करिब ५० वर्षदेखि क्रियाशील सदस्य रहँदै आउनु भएको तपाई अहिलेसम्म नेपाली काँग्रेसको जिम्मेवार पदमा नाम सुनिँदैन । किन गुमनाम हुनु भयो ? 
मलाई राजनीति एकदमै मन पर्ने शब्दावली हो । राजनीति नभएको भए अरू नीति हुने थिएन । राजनीति भनेको हरेर पाइलामा हुने चिज हो । यसले पदको मूल्य राख्दैन । म पदभन्दा बढी काम नै मन पराउँछु । ललितपुर क्षेत्रमा मैले विनापद रहेर पनि धेरै काम गरेको छु । केही पदमा बसेर पनि काम गरेको छु  । सुशील कोइराला सभापति भएको बेलामा सङ्गठन विभागको केन्द्रिय सदस्य समेत भएको थिए । केन्द्रिय विभागमा रहेर विभिन्न काम गर्दै आएको छु ।

तर, म मिडियामा बाहिर आउन चाहिन । मैले यति काम गरे भन्दै बाहिर प्रचार गर्न म चाहन्न । म २०४९ सालदेखि ५४ सालसम्म खेलकुद विकास समितिका अध्यक्ष भए । पहिले त्यो पदमा सिडिओ हुन्थे । त्यति बेला मैले त्यो पद ग्रहण गर्ने पहिलो नेपाली म नै थिए । त्यति बेला मैले गरेको काम धेरैले मेरो प्रशंसा गरे । कतिपय पदहरू मैले पाउँदा पनि लिइन । बिना पद नि काम गरे । 

पछिल्लो समय राजनीति खराब बाटोमा गइरहेको छ । तपाईँको अनुभवले कसले के गर्‍यो भने यो नीति सुधार्न सकिन्छ ? 
राजनीति खराब पाटोमा गएको होइन, राजनीति गर्ने व्यक्तिहरू खराबमा गएको हो । यसले गर्दा राजनीति धुमलिएको मात्रै हो । कहिले पनि राजनीति आफैमा खराब हुँदैन । राजनीति गर्ने हामी नै खराब हो । हामीले हाम्रो दायित्वको मर्यादा नबुझ्दा यस्तो भइरहेको छ । आफ्नो मर्यादाभित्र बसेर राजनीतिलाई शुद्ध बनाउने हो । 

समृद्ध नेपाल बनाउने भनेर लागि परिरहेका छौँ । पहिलो कुरा नेपाल समृद्ध हुनका लागि हाम्रो दिमाग समृद्ध हुनुपर्‍यो । हामी नैतिकवान्, चरित्र वान हुन सकेनौँ भने समृद्ध हुनु सक्दैन । एउटा सचिवले ईमान्दारका साथ काम गर्ने हो भने मन्त्री पनि राम्रो बाटोमा नै हुन्छ । किनभने मन्त्रीहरूले भन्दा जान्ने बुझेका सचिवहरू हुन्छन् । त्यसैले सचिवले खबरदारी गर्ने हो भने धेरै कुराहरू राम्रो हुन्छ । 

संघ र प्रदेशको निर्वाचन नजिकिँदै छ । यहाँ पनि सहभागी हुँदै हुनुहुन्छ भनेर सुनिन्छ । कसरी सहभागी हुने तयारी गर्नु भएको छ ?  
ललितपुरमा भएका नेताहरूमध्ये म आर्थिक सामाजिक कुनै रूपमा पनि कमजोर छैन । यसले गर्दा पनि म प्रदेशको उम्मेदवारमा दाबेदार छु । ईमान्दारिता मानिसको सबैभन्दा ठूलो सम्पत्ति हो । आजका दिनसम्म म इमान्दारिताका साथ टिकिरहेको छु । मेरो इमान्दारिताका कारण पनि धेरैले प्रदेशको निर्वाचनमा सहभागी हुन सिफारिस गर्नु भएको हो । म ईमान्दार थिइन भनेर नातावादमा चलेको यो राजनीतिमा मेरो सिफारिस नै हुँदैन थियो होला । 

प्रदेश सभामा मेरो उम्मेदवारी हुनुपर्छ भनेर धेरैले सिफारिस गर्नु भएको छ । र, मैले पनि दाबेदारी रहेको छ । मैले नेपाली काँग्रेसमा धेरै नै योगदान गरेको छु । यसको मूल्याङकन गर्नु पर्छ र मलाई पार्टीले टिकट दिनु पर्छ भन्ने मेरो माग हो । नेतृत्वमा विवेकशील व्यक्तित्व रहनु भयो भने मलाई टिकट दिनु हुन्छ । 

म राजनीतिमा आबद्ध भएदेखि अहिलेसम्म जनमत लिने प्रयत्न गरिन् । यस पटक भने मैले मेरो जनमत कति छ र मैले काँग्रेस बनाएको कति रहेछ भनेर परीक्षण गर्न चाहन्छु । आगामी चुनावमा बागमती प्रदेशको सदस्यका लागि ललितपुरको क्षेत्र नं. ३ को क बाट उम्मेदवारी दिने तयारीमा छु । 

लामो समयदेखि सक्रिय सदस्य रहनु भएको यहाँ संघमा छोडेर किन प्रदेश रोज्नु भयो ? 
संघको लागि मैले प्रयत्न नै गरिन् । मेरो जिल्लामा रहेका अन्यहरू नेताहरूलाई हेरेर म प्रदेशमा जाने निर्णय गरेको हो । मेरो चाहाना पदमा भन्दा पनि एक पटक जनमत हेरौँ र सानो पदमा भए पनि काम गरौँ भन्ने हो । मलाई पद सानो र ठूलोसंग मतलब छैन । 

संघ र प्रदेशबिचमा समन्वय हुनुपर्नेमा त्यो भएको पाइएको छैन । संघ र प्रदेशबिचको समन्वयको पुल ब्रेक छ । आफ्नै आफ्नै तालमा चलेको पाइन्छ । मैले प्रदेशमा जिते भने यो समन्वयको पुललाई जोड्ने प्रयत्न गर्नेछु । मलाई यसका लागि मनमा खड्केको पनि छ । पैसा खर्च गर्नु राज्यका लागि ठूलो कुरा होइन । त्यो पैसाले विकास भयो भएन भन्ने कुराले महत्त्व राख्छ । राज्यले पैसाभन्दा पनि मानसिकता ठूलो बनाउनु पर्छ । 

ताला साँचो सबै संघले लिने अनि प्रदेशले काम गरेन भन्ने गरिन्छ । यसो गर्न हुँदैन । संघलाई पनि अधिकार दिनु पर्छ । यसका लागि म आवाज उठाउँछु । यसका लागि मेरो आत्मबल रहेको छ । भ्रष्टाचारीहरूको आत्मबल हुँदैन, ईमान्दारीको आत्मबल हुन्छ । इमान्दारीका साथ मैले पनि आवाज उठाउने हो । 

प्रदेशमा निर्वाचित हुनु भयो भने के के काम गर्नु हुन्छ ? बागमती प्रदेशलाई कसरी विकसित बनाउनु हुन्छ ? 
पहिलो कुरा नेपाली काँग्रेसभित्र टिकट पाउनु नै ठूलो जित रहेको छ । यस पटक नेपाली काँग्रेसले इमान्दार र बेइमान मानिसहरूलाई चिन्नु पर्छ । म इमान्दार मानिस हो । मलाई पार्टीले टिकट दियो भने मेरो जित निश्चित छ । टिकट पाएर बागमती प्रदेशमा म निर्वाचित भए भने पहिला शुद्धतामा केन्द्रित रहन्छु । मैले जिते भने यो यो काम गर्छु भन्ने भन्दा पनि पहिलो जितेर देखाऊ त्यसपछि काम त भइजान्छ नि । हिँड्न थालेपछि बाटो त देखिहालिन्छ नि । 

नेपालमा जति पनि निर्वाचनहरूमा व्यवसायीहरू धेरै आएको देखिन्छ । पैसा धेरै खर्च गर्न पर्नु भएर हो की व्यवसायीलाई राजनीतिप्रति बढी मोह बढेर हो ?
व्यवसाय गर्ने मानिसहरूले राजनीति गर्न हुँदैन भन्ने कुरा होइन । तर, व्यवसाय गर्ने मानिस राजनीतिमा आउने हो भने शुद्धता हुन आवश्यक रहेको छ । व्यवसाय गर्ने व्यवसायीहरूले राजनीति गर्न राम्रो हो । व्यवसायीले राजनीति गर्‍यो भने सानोतिनो लोभ गर्दैन् । 

व्यवसाय गर्ने मानिसहरू राजनीतिमा आबद्ध हुने अहिले धेरै नै रहेका छन् । एकथरी आफ्नो कर छल्नका लागि राजनीतिमा आएको देखिन्छ । एकथरि भ्रष्टाचार गर्न पाइन्छ भनेर आउनु भएको छ । एकथरि समस्यामा परेका आफ्नो मानिसहरूको उद्धारका लागि आउनु भएको छ । तर, यस्ता कामका लागि म राजनीतिमा आएको होइन । म यस्तो मानिस हो जसलाई राजनीतिबाट आर्थिक लाभ लिनु नै पर्दैन । म आर्थिक रूपमा कमजोर छैन । मेरो कमाउने व्यवसाय छुट्टै छ । 

 

प्रतिक्रिया दिनुहोस