aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

आठ महिनामा तीन लाख २३ हजार पर्यटकले गरे नेपाल भ्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० भदौ २०७९
आठ महिनामा तीन लाख २३ हजार पर्यटकले गरे नेपाल भ्रमण
NIBL

काठमाडौं । सन् २०२२ को आठ महिनाको अवधिमा तीन लाख भन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । जनवरीदेखि अगस्टसम्मको आठ महिनाको अवधिमा विभिन्न देशका तीन लाख २३ हजार ३६८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।   

अध्यागमन विभागको तथ्यांक अनुसार सन् २०२२ को जनवरी महिनामा १६ हजार ९७५ पर्यटक नेपाल भित्रिएका थिए । त्यस्तै, दोस्रो महिना अर्थात फेब्रुअरी महिनामा १९ हजार ७६६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । जनवरी महिनाको तुलनामा फेब्रुअरी महिनामा तीन हजारभन्दा बढी संख्यामा पर्यटक नेपाल  आएको देखिन्छ । 

त्यस्तै, सन् २०२२ को मार्च महिनामा ४२ हजार ६ जना पर्यटक नेपाल भित्रिएका थिए । यो संख्या फेब्रुअरी महिनाको तुलनामा दोब्बर भन्दा धेरै हो । उक्त महिना सबैभन्दा बढी भारतबाट पर्यटक आएको तथ्यांकमा उल्लेख छ ।   

आठ महिनाको अवधिमा अप्रिलमा सबैभन्दा बढी पर्यटन नेपाल भित्रिएको देखिन्छ । विभागका अनुसार सन् २०२२ को अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका हुन् । जनवरीदेखि अप्रिलसम्मको अवधिमा विदेशी पर्यटन भित्रिनेको संख्या बढ्दै गएको थियो ।

तर, अप्रिल पछि भने विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको तथ्यांकमा देखिन्छ । अप्रिल महिनापछि पर्यटक आगमनको सिजन नभएकोले पनि नेपालमा विदेशी पर्यटक आवागमनको संख्या विस्तारै कम हुँदै गएको विभागले जनाएको छ । गत अप्रिल महिनाको तुलनामा मे, जुन, जुलाई र अगस्ट महिनामा विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको हो ।   

अध्यागमनको तथ्यांक अनुसार सन् २०२२ को मे महिनामा पर्यटकीय गतिविधिमा सुधार आएपनि पर्यटक भित्रिनेको संख्या घटेको देखिन्छ । मे महिनामा ५३ हजार ६०८ जना पर्यटक नेपाल भित्रिएका थिए । अप्रिल महिनाको तुलनामा यस महिना ४ हजार ७४० पर्यटक कम आएका हुन् ।  

त्यस्तै, मे महिनाको तुलनामा जुन महिनामा पनि पर्यटक आउने क्रम घटेको देखिन्छ । गत जुन महिनामा ४६ हजार ९५७ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या गत मे महिनाको तुलनामा ६ हजार ६५१ कम हो । जुन महिनाको तुलनामा जुलाईमा पनि २ हजार २९५ जना कम पर्यटक नेपाल भित्रिएका छन् । गत जुलाई महिनामा ४४ हजार ४६२ जना विदेशी पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागले जनाएको छ ।   

गत अगस्ट महिनामा ४१ हजार ३०४ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएको देखिन्छ । यस महिना सबैभन्दा बढी पर्यटकहरु भारतबाट नेपाल भ्रमणमा आएका छन् ।  अगस्ट महिनामा १६ हजार १४७ जना भारतबाट नेपाल भ्रमणका लागि पर्यटकहरु आएको अध्यागमन विभागको तथ्यांकमा उल्लेख छ । 

हिमाल आरोहणका लागि २३७ जनाले लिए अनुमति, २ करोड ९० लाख रोयल्टी संकलन 
नेपालका विभिन्न हिमाल आरोहणका लागि २३७ जनाले अनुमति लिएका छन् । यस वर्षको शरद याममा विभिन्न १९ देशका २५ वटा टीमले हिमाल आरोहणको अनुमति लिएका हुन् ।

पर्यटन विभागको तथ्याङक अनुसार आरोहणको अनुमति लिनेमा १८३ जना पुरुष र ५४ जना महिला रहेका छन् । जसबाट २ करोड ९० लाख १४ हजार रुपैयाँ रोयल्टी प्राप्त भएको छ ।  

विभागका अनुसार हिमाल आरोहणमा अनुमति लिएकाहरुमा सबैभन्दा धेरै मनास्लुका लागि २१४ जनाले अनुमति लिएका छन् । मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएकाहरुबाट २ करोड ४५ लाख सात हजार ९ सय रुपैयाँ रोयल्टी प्राप्त भएको छ ।

त्यस्तै, हिमलुङ हिमालका लागि सात जनाले अनुमति लिएका थिए । जसबाट २ लाख २२ हजार रुपैयाँ रोयल्टी संकलन भएको छ । त्यसैगरी, धौलागीरी हिमाल आरोहणमा लागि पाँच जनाले अनुमति लिँदा ५ लाख ७३ हजार ५२५ रुपैयाँ रोयल्टी प्राप्त भएको छ । 

पर्यटन विभागका अनुसार नुप्सेका लागि पनि पाँच जनाले अनुमति लिँदा एक लाख ९१ हजार र सगरमाथा हिमाल आरोहणका लागि अनुमति लिएका पाँच जनाबाट ३५ लाख ३ हजार ५ सय रुपैयाँ रोयल्टी संकलन भएको छ । त्यस्तै, हिमाल शारीबुङ हिमाल आरोहणका लागि एक जनाले अनुमति लिएका थिए । जसबाट १५ हजार ८७७ रुपैयाँ रोयल्टी संकलन भएको छ ।   
 

प्रतिक्रिया दिनुहोस