aarthiknews.com सोमबार, २९ असार २०७७   Monday, 13 July, 2020
 
Citizen life

चुरे अतिक्रमणले साउनमै नदीमा पानी सुक्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ भदौ २०७६
Sunrise
HIb
चुरे अतिक्रमणले साउनमै नदीमा पानी सुक्यो
LBEF

चुरे अतिक्रमणका कारण साउनमै नदीमा पानी सुकेको छ। पूर्वाधार निर्माणका क्रममा मनपरी र चुरे क्षेत्रमा रहेका ढुंगाखानी उत्खननको असर हो यो। सिन्धुली, मकवानपुर, उदयपुर, सुनसरीका हजारौं बिघा उर्वर भूमि बगरमा परिणत भएका छन्। दुर्लभ वन्यजन्तुको अस्तित्व संकटमा परेको छ भने काठदाउरा र गिटी बालुवाको चोरी निकासी बढिरहेको छ।
प्रदेश १ का सात जिल्लामा फैलिएको चुरे वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ। चुरे वन क्षेत्र रूख, वन्यजन्तु साथै गिटी र बालुवा चोरी निकासी गर्नेका लागि सहज स्थान बनेको छ। अवैध गिटी बालुवा उत्खननका कारण पहिरो र कटान हुने क्रम बढेको छ। इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटा र भोजपुरलाई चुरे वन क्षेत्रले समेटेको छ।
काठदाउरा र गिटी बालुवाको चोरी निकासी बढिरहेको चुरे संरक्षण क्षेत्रमा पर्ने इलाम माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिंगोले बताए। ‘पहिले घना देखिएको वन पातलो बन्दै गएको छ, रूखबिरुवा र गिटीबालुवाको चोरी निकासीले रातारात वन विनाश भइरहेको छ।’

अध्यक्ष इदिंगोले भने। इलाममा माई नगरपालिका, चुलाचुली गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र रोङ गाउँपालिकाको तल्लो क्षेत्र चुरे क्षेत्रमा पर्छ। इलामको झापासँग जोडिएको क्षेत्रमा अनुगमन कम हुँदा चोरी तस्करी बढेको झापा अर्जुनधारा नगरपालिका ८ का स्थानीय रुद्रप्रसाद बेघा बताउँछन्।

‘चुरे क्षेत्रमै क्रसर र काठमिल छन्, अनुगमन छैन। वन उजाड बन्न लाग्यो,’ बेघाले भने। मोरङमा राष्ट्रपति चुरे संरक्षण क्षेत्रमै अवैध रूपमा ढुंगाखानी सञ्चालन गरी प्राकृतिक स्रोतको दोहन भइरहेको छ। मोरङको याङसिलामा फैलिएको चुरेमा मोरङ र सुनसरी दुवैतर्फबाट वन फँडानी र तस्करी वर्षौंदेखि जारी छ। धरानका ठेकेदारले डोजर, स्काभेटर प्रयोग गरी ढुंगा निकाल्ने र ट्याक्टरबाट ओसार्ने काम गरिरहेका छन्।
साबिकको याङसिला गाविस चुरेमा पर्ने र जिल्ला समन्वय समितिले ढुंगा÷गिटी उत्खननलाई प्रतिबन्ध लगाए पनि राज्यका आँखा नपर्ने भएकाले चुरे दोहनमा ‘गिरोह’ लाई फाइदा पुगेको स्थानीय रामभक्त लिम्बू बताउँछन्। चुरेको वन मासिँदा र गिटीबालुवा तस्करीले पहिरो झर्ने, वन्यजन्तु मासिने र मुहान सुक्ने समस्या देखा परेको छ। उदयपुर, सिरहा र सप्तरी सिमानामा पानीको स्रोत सुक्दै गएको छ।
दुर्लभ वन्यजन्तु सालक, नीलगाई, हरिण, जरायो, घोरल, बँदेललगायतका जन्तु संकटमा छन्। पानीको स्रोतमा असर पारिरहेको प्रकोप न्यूनीकरण अभियानमा संलग्न दुर्गानन्द चौधरी बताउँछन्। सुक्खायाममा मानव बस्तीसम्म वन्यजन्तु आउने गरेका उदयपुर हडियाका शिक्षक प्रेम खड्काले बताए।
कटुन्जे सामुदायिक वन उपभोक्ता समूुह उदयपुरका पूर्वअध्यक्ष लक्ष्मीप्रसाद दाहाल अनुगमन गर्ने निकाय नै मिलेमतामा लागेकाले जनस्तरको काम प्रभावकारी हुन नसकेको बताउँछन्।
चुरे क्षेत्रको विनाशले १० हजार बिघा उर्वर भूमि बगरमा परिणत हुँदै गएको छ। देशमै सबैभन्दा बढी चुरे क्षेत्र भएको सिन्धुलीका अधिकांश चारकोसे जंगल पनि चुरेमै छन्। सामुदायिक वनका पदाधिकारी र स्थानीयकै संलग्नतामा वन क्षेत्र विनाश हुँदै गएको हो। सिन्धुलीमा चुरेको क्षेत्रफल १ लाख १२ हजार ६ सय ३१ हेक्टर छ। त्यसमा एक लाख हेक्टर जंगल सरकारी स्वामित्वमा छ।
बाँकी समुदायमा हस्तान्तरण भइसकेको छ।वन कार्यालय, सामुदायिक वन उपभोक्ता समिति र ठेकेदारको मिलेमतोमा अधिकांश चुरे जंगल फँडानी गरी बस्ती बसालिएको छ। सिन्धुलीमा ५ सय ८ सामुदायिक वन छन्। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस