aarthiknews.com शुक्रबार, १४ असोज २०७९   Friday, 30 September, 2022
 
Everest Bank
British College
Blue Diamond

‘ठूला–ठूला घरानाका खराब कर्जाहरु अहिले पनि विद्यमान छन्’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ भदौ २०७९
Sanima Bank
LBF

राष्ट्रिय बाणिज्य बैंक ९९.९७ प्रतिशत सरकारी स्वामित्व भएको एक मात्र सरकारी  हो । नेपाल औद्योगिक विकास निगम यसमा गाभिएपछि अझ यसको सम्पत्ति र पुँजी वृद्धि भएको छ । पूर्ण सरकारी बैंक भएकाले केहि समयअघि सम्म धेरै समस्याबाट गुज्रिदै आज निजी क्षेत्रबाट सञ्चालिन बैंकहरुसँग प्रतिस्पर्धा गर्न सक्षम भएको छ । देशमा सबैभन्दा धेरै नेटवर्क रहेको बैंक समेत राष्ट्रिय बाणिज्य बैंक नै हो । बाणिज्य बैंकलाई प्रविधि र युवा जनशक्तिले निपूर्ण बनाएको यस बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) किरणकुमार श्रेष्ठले दावी गरेका छन् । बाणिज्य बैंकलाई यो प्रतिस्पर्धी बजारमा कसरी अगाडि बढ्दै छन भन्ने विषयमा आर्थिक न्युजडटकमले प्रमुख कार्यकारी अधिकृत श्रेष्ठसँग कुराकानी गरेको छ । प्रस्तुत छ उनै सिइओ श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंशः 

पछिल्लो समय बैंकहरुमा तरलता अभाव अझै धेरै देखिरहेको ? राष्ट्रिय वाणिज्य बैंकले कसरी व्यवस्थापन गरिरहेको छ  ?
कोरोना महामारी विस्तारै कम हुँदैगएपछि आर्थिक क्षेत्र पनि चलायमान हुँदै गयो । वित्तीय क्षेत्रमा कर्जाको माग पनि बढ्दै गयो । तर, त्यही अनुपातमा निक्षेप संकलनमा वृद्धि नहुँदा कर्जा र निक्षेपको बीचमा असुन्तुलन देखिएको हो । अहिले कर्जा निक्षेप अनुपात (सिडी रेसियो) पनि ९० प्रतिशतको हाराहारीमा छ । अहिलेको अवस्था अलि कठिन नै छ तसर्थ नयाँ विकल्प पनि खोज्नुुपर्छ भनेर हामी लागिरहेका छौं  । 

अरु निजी क्षेत्रका वाणिज्य बैंक र यो सरकारी बैंकमा तरलताको व्यवस्थापनमा केही सहज छ की अप्ठ्यारो छ ? 
विगतको अवस्था हेर्ने हो भने तरलता र सिडी रेसियोमा हामी चाहि सहज अवस्थामा नै छौं । हिजोको चुनौती तोकिएको सिडी रेसियोसम्म कसरी पुग्ने र विजनेशलाई कसरी अगाडी बढाउने भन्ने थियो । तर, अहिले ७५३ स्थानीय निकाय भएपछि बैंकहरु धमाधम गएइरहेका छन् । सबै निकायहरुमा सरकारी बैंकहरु जाने स्थिति नबन्दा राष्ट्र बैंकले नीजि क्षेत्रका अरु बैंकहरुमा पनि जान सक्ने नीति बनाइदियो । अहिले धेरै निकायहरुमा बैंकहरु पुगिसकेका छन् ।  यसले गर्दा पनि हिजो हामीसँग भएको स्रोतका सार्थ निक्षेप पनि बाँडिएको छ । यसले गर्दा पनि बजारमा यस्तो स्थिति देखा परेको हो । 

अहिले कर्जामा भन्दा निक्षेपको क्षेत्रमा पनि धेरै प्रतिस्पर्धा छ । विगतका दिनहरुमा जस्तो सहजता नभएका कारण पनि यो अवस्था आएको हो । सरकारी बैंक भएपनि हिजो र अहिलेको सहजतामा फरक छ । 

कतिपय सरकारी फण्डहरु राष्ट्रिय वाणिज्य बैंकले मात्र चलाउन पाउँदा पनि तरलताको व्यवस्थापन  गा¥हो भएको छ  ? 

संरचनागत रुपमा ठूलो परिवर्तन आयो । सेवामा पनि विस्तार हुँदै गयो । ती सेवाहरुलाई दुई तीन वटा बैंकहरुहरुले मात्र धान्न नसक्ने भए । स्वभाविक रुपमा सेवामा पनि विविधिकरण हुँदै गएपछि बाँडिने स्थिति आयो । अहिले ग्राहकको माग र कारोबारको चापले पनि बाँडिनु स्वभाविक हो ।

गत आर्थिक वर्षको अन्त्यमा बैंकहरुले १४.४ प्रतिशतको वृद्धि देखाए । सबै बैंकहरुको वित्तीय अवस्था हेर्दा अझै वृद्धि गर्न सकिने ठाउँ कहाँ देख्नुभयो ?
हामीले कर्जाको वृद्धिमा भने १८ प्रतिशतको लक्ष्य पुरा गरेका छौं । तर, निक्षेप वृद्धिको लक्ष्य भने हासिल गर्न सकेनौं । अझै हामीपछि नै परेको स्थिति छ । अहिलेको संरचनाको परिवर्तन नै एउटा चुनौति रहेको छ । अmझै पनि नेपालका ३५ प्रतिशत जनता बैंकको पहुँचमा पुगेका छैनन् । 
सरकारी राष्ट्रिय बैंकको दायित्व पनि सबै नेपालीको बैंक खाता र सबै नेपालीहरु बैंकको पहुँचमा पुगुन भन्ने छ । यसलाई पनि आधार बनाएर जाने र छरिएर निष्क्रियको अबस्थमा रहेको स्रोतहरुको परिचालन गरी फरक ढंगले जानुपर्छ भनेर पनि हामी लागेका छौं ।

अहिले धेरै बैंकहरु मर्ज भएर प्रविधिमा पनि अब्बल बन्दै गएका छन् । सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकमा सरकारको पनि हस्तक्षेप होला । नीजि क्षेत्रका बैंकसँग प्रतिस्पर्धा गर्न के के कुराको अप्ठ्यारो देख्नु भएको छ ?
नीजि र सरकारी बैंकले दिने बैंकिङ सेवा एउटै हो । प्रविधिको विस्तारमा पनि प्रतिस्पर्धा गर्न सकिएन भने विजनेश विस्तार गर्न सकिदैन । तसर्थ, प्रविधिलाई  पनि सँगसँगै उन्नति गर्नुपर्छ । ढड्डा सिस्टमबाट आएको कारणले पनि कतिपय समस्याहरु आएका थिए र केही समस्याहरु छन् पनि । तर, अहिले आइटी सिस्टमलाई पनि वृद्धि गरेका छौं । पछिल्लो समय जुन तरिकाले प्रविधिको विकास भएको छ । ग्राहकहरुले प्रयोग गरिरहेको प्रविधि छ त्यो पर्याप्त छैन । यसले गर्दा भोलि हामी अझै पछि पर्न सक्छौं भनेर प्रविधिको विकास र रुपान्तरणमा पनि लागिरहेका छौं ।  

अहिले बैंकले सुरुवातदेखिका ढड्डाहरुलाई डिजिटाइजेशन गरिसक्यो की बाँकी छ ? 
हामीले पहिलेका सबै फाइलहरु डिजिटाइजेशन गरिसक्यौं । कुनै पनि शाखा र विभागमा चिठी पत्र लेख्ने बाहेक अरु कुनै पन िकाम म्यान्नुअल्ली हुँदैन  । 
 
वाणिज्य बैंकमा सबैसँग प्रविधिमैत्री प्रतिस्पर्धा गर्दा अहिले सबैले मोबाइलमा नै बैंक चलाउन खोज्छन् । त्यसका लागि यो बैंकले के–के प्लाटफर्महरु बनाएको छ ? 
अहिले हामीसँग इन्टरनेट लगायत मोबाइल बैंकिङका सबै सुविधाहरु रहेका छन् । यस्तै, अनलाइन खाता खोल्ने देखि क्युआर कोडसम्म अहिले भएका सबै प्रविधिका सुविधाहरु छन् । हाम्रो ३६ लाख ग्राहकमध्ये ५० प्रतिशत ग्राहक मोबाइल बैकिङ प्रयोगकर्ताहरु छन् । झण्डै १५ लाखभन्दा बढिको मोबाइल बैकिङ छ । अहिलेको नयाँ पुस्तालाई पनि ध्यानमा राखेर सबै खाले प्रविधिको विकास गरेका छौ । बजारको माग अनुसार नै सेवालाई विस्तार गरिरहेका छौं । 

पुरानो शैलीमा काम गरिरहेका बेला बैकिङ क्षेत्रमा नयाँ प्रविधि विकास र विस्तारमा कर्मचारीको व्यवस्थापन कसरी गर्नुभएको छ ? 
हाम्रो ५७ वर्षको लामो इतिहास छ । यो अवधिमा धेरै उतारचढावहरु पनि आए । हिजो ढड्डाको सिस्टममा थियौ भने अहिले डिजिटलाइजेशनमा गएका छौं । जनशक्तिको कुरा गर्ने हो भने हाम्रो कर्मचारीको औसत उमेर जम्मा ३६ वर्षको छ । अहिले हामी ८३६ जना नयाँ कर्मचारी भर्ना गर्दैछौं । नयाँ कर्मचारी आएपछि औसत रुपमा हेर्ने हो हाम्रोमा काम गर्ने कर्मचारीको उमेर ३४ वर्षको हुन्छ । यो युवा जनशक्ति हो । उनीहरुमा नयाँ सोच र विचार छ । संख्यात्मक हिसाबले हाम्रो दरबन्दी अनुसार कर्मचारी नभएकोले समस्या छ । यसले गर्दा हामीले दिने सेवा पनि प्रभावित भएको छ । गुणस्तरीय सेवा प्रदान गर्न पनि बाधा पुगेको छ । 

आवश्यकता अनुसार कर्मचारी राखेर गर्नुपर्ने ठाउँमा पनि कर्मचारी कम हुँदा सूचना प्रकाशन र प्रतिवेदन पनि ढिला भएको छ । तर, हाम्रो आउने कर्मचारीहरु लोकसेवाबाट प्रतिस्पर्धा गरेर आउने हुन् । अहिलेको हाम्रो ८३६ जनाको आवेदनमा पनि १ लाख ३२ हजारको आवेदन परेको थियो । गुणात्मक रुपमा हाम्रा कर्मचारीहरु एकदमै प्रतिस्पर्धी छन् ।

उढ्न बाँकी रहेका पुराना ऋणहरुको सेटलमेन्ट कसरी गर्दै हुनुहुन्छ ? 
विगतका दिनहरुमा जस्तै ठुला–ठुला घरानाका खराब कर्जाहरु अहिले पनि विद्यमान छन् । हामीले त्यसलाई उठाउनुपर्ने दायित्व कानुनी र प्राविधिक दुवै रुपमा जस्ताको तस्तै छ । तर अहिले हामीले योजना बनाएर कामहरु अगाडी बढाएका छौैं । सानातिना कर्जाहरु भने धेरै मात्रामा उढाइसकेका छौं । अहिले उनीहरुलाई परिस्थिति जन्य र योजनावद्ध गरी छुट्याएका छौं । जसले चाहेर पनि विविध कारणले ऋण दिन सकिरहेको छैन उसलाई पनि माथि उठाउन कामहरु गरिरहेका छौं । र, बैंकबाट ऋण लिएर नतिर्ने मनसाय भएकाहरुलाई पनि एक्सन लिएर काम गरिहेका छौ । यसरी केही तालिका र योजनाहरु बनाएर खराब कर्जा उढाउनका लागि पनि लागिपरेका छौं ।

यसरी तालिका बनाएर नै जाँदा उढ्न सक्ने ऋण कति छ र नउठ्ने कति छ ? 
रकम उठेन । तर, रकम वापतको जग्गा लिलाम गर्दा पनि गएन । सरकारी बैंकहरुबाट कुनै पनि धरौटी बिना कर्जा नजाने हुँदा ऋण उठाउन सहज छ । केही धरौटी  कमजोर भएपनि हिजो कमजोर मानिएका ठाउँहरु विकासको परिवर्तनले मुल्यवान भएका छन् । यसले गर्दा पनि हामीलाई ऋण उठाउन सहज भएको छ । 

पुराना र नयाँ ऋणमा राजनितिक दवाब कतिको आउँछ ? 
हामी कहाँ परम्परागत र सांस्कृतिक कारण पनि जोडिएका छन् । र, परिवेश जन्य पनि कहिले काही यस्तो अबस्था आउन सक्छ  । सुपरिवेक्षणको हिसाबले हेर्ने हो भने बैंकहरु कसिलो संस्था हो भन्ने बुझेका छन् । कुनै पनि व्यक्तिको चाहना र दवाबमा हुँदैन । 

गएको दुई वर्षदेखि महामारीले गर्दा धेरै उद्योगहरु बन्द भएका छन् । भएका पनि चल्न नसक्ने अवस्थामा छन् । ऋणको पोर्टफोलियोको कुरा गर्दा अहिले भएका उद्योगहरुको लगानीको सुरक्षा कत्तिको देख्नु भएको छ ? 
कोरोना महामारीको समयमा राष्ट्र बैंकले ऋणको समयमावधि थप गरिदिने, ब्याज छुट गरिदिने जस्ता विभिन्न प्याकेज ल्याएका कारण पनि धेरैलाई राहत मिलेको छ ।  अहिले धेरै उद्योग र कलकारखानाहरु चल्न सक्ने स्थितिमा आएका छन् । अहिले बजारमा सहज ढंगले ऋणको माग बढिरहेको छ । यसलाई आइशोलेट गरेर हेर्न मिल्दैन । हाम्रो विकासको गति र मागको आधारमा नै आपूर्ति गर्ने ठाउँहरमा सन्तुलन हुने गर्छ । बजारको माग अनुसार औद्योगिक क्षेत्रको लगानीमा अझै सम्भावना छ र यसमा समस्या आउँछ जस्तो पनि लाग्दैन । 

यो बैंकमा सरकारी स्वामित्व धेरै रहेपनि थोरै लगानी पब्लिकको पनि छ ? पब्लिकहरुलाई लाभांशको व्यवस्थापन कसरी गर्छं राष्ट्रिय वाणिज्य बैंकले ?
०.०३ प्रतिशत अहिले पनि सर्वसाधारणको शेयर छ । हामीले नियम अनुसार उनीहरुले पाउने लाभांश वितरण गरिहेका छौं । यदि उहाहरुले आफ्नो शेयर बेच्न चाहेमा नेप्सेको ओटिसी मार्फत उनीहरुले बेच्न पनि पाउँछन् । 

उनीहरुले बेचेको अवस्था छ की छैन ? 
छैनन् । बैंकको शेयरको मूल्यको कारणले विभेद भयो भन्ने मुद्दाहरु थियो । त्यो मुद्दाहरु पनि उहाँहरुकै पक्षमा गयो । अहिले बेचेको कुरा सुनिएको छैन । 

राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिकम मिलेर कम्पनी पनि खोलेको थियो त्यसको अवस्था के छ अहिले ? 
हामीले नेपाल डिजीटल पेमेन्ट कम्पनी खोलेका थियौं । यसको अगुवाई टेलिकमले गर्ने भनिएको थियोे । दुवैसँग धेरै ग्राहक भएको आधारले बजारमा राम्रो उपस्थिति जान्छ भन्ने थियो । अहिले हामी त्यसको फ्रेमवर्क बनाउने काम गरिरहेका छौ. । विधिगत रुपमा सुरुवात गरेपनि फूलफेजमा गएको छैन । तर, मानिसले जुन अपेक्ष गरेका छन् त्यस अनुरुप नरहेको गुनासो भने आइरहेको छ । यसमा अझै काम गर्न बाँकी रहेको छ । 

अहिलेको आर्थिक वर्षमा राष्ट्रिय वाणिज्य बैंकले के–के काम गर्दै छ ? 
हाम्रो नियमित विजनेशको काम चलिरहेको छ । निक्षेपमा जुन ंढगका चाप परिरहेको छ । त्यसमा परम्परागत रुपमा मात्र गएर हुँदै भन्ने लागेको छ । तसर्थ, शाखाहरुमा पनि विस्तार गर्नुपर्छ । डिबेञ्चर निकाल्ने पनि निरन्तर रुपमा लागिरहेका छौं । यसँगै वैदेशिक स्रोतहरुलाई पनि भित्र्याउने योजनामा हामी लागिरहेका छौं । अहिले बजारमा विजनेश पनि प्रतिस्पर्धी भएर गइरहेको छ । यदि हामीले सेवाको गुणस्तर बढाउन सकेनौ भने हामी अर बैकहरुसँग प्रतिस्पर्धी हुन सक्तैनौं भन्ने बुझेका छौ. । तसर्थ हामी यतातिर पनि लागेका छौ. । अहिले पनि करिब ३० अर्ब रुपैयाँको अचल सम्पत्ति छ । त्यसलाई पनि व्यवस्थापन गर्नुपर्ने छ । यीनै कुरालाई प्राथमिकतामा राखेर योजना बनाएका छौं । 

राष्ट्रिय वाणिज्य बैंकलाई विदेशबाट ऋण ल्याउन यसको कार्ययोजना कति अघि बढेको छ ? 
मन्त्रालयबाट हामीले स्विकृति लिइसकेका छौं । यसका लागि हामीले केही प्रक्रिया र गाइडलाइन पनि बनाइसकेका छौं । कुन ठाउँबाट ल्याउँदा हाम्रो लागि उपर्युक्त हुन्छ भनेर खोजी गरिरहेका छौं । यो आर्थिक वर्षमा विदेशबाट ऋण ल्याउँछौं । 


 

प्रतिक्रिया दिनुहोस