सुपारीको पातले ल्याएको परिवर्तन - Aarthiknews
aarthiknews.com मंगलबार, ३१ भदौ २०७६   Tuesday, 17 September, 2019
 

सुपारीको पातले ल्याएको परिवर्तन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३२ साउन २०७६
Sunrise bank
सुपारीको पातले ल्याएको परिवर्तन
LBEF
NCH-IPS

‘चिने श्रीखण्ड, नचिने खुर्पाको बिंड’ त्यसै भनिएको होइन रहेछ । यो उखानलाई झापामा केही युवाले चरितार्थ गरेपछि उनीहरुको कथा रोचक बनेको छ ।

नेपालमा व्यवसायिक रुपमा झापा, मोरंग, सुनसरी र इलामका दक्षिणी भेगमा मात्र हुने सुपारी खेतीबाट निस्कने हालसम्म खेर गइरहेका पातहरु दुना, टपरीको रुपमा काठमाडौंका भाटभटेनी सुपर स्टोर र होटलमा मात्र होइन अष्टेलिया, जापान र युरोपमा समेत पुग्न थालेको छ ।

यस्ता वस्तुहरुलाई व्यवसायिक उत्पादनमा लैजान झापा धुलाबारीका कृषक हरि दाहाल  र अन्य तीन इन्जिनियरहरु दाङंका स्वाभिमान आचार्य, विधान पोखरेल र हेटौडाका कोविद सिंह बानिया अथक मेहनतका साथ लागि परेका छन् ।

एउटै संस्थामा प्लस टु पढी अलग अलग विषयमा इन्जिनियरीङ्ग सकेका तीन इन्जिनियरहरु जब सुपारी खेतीबारे अध्ययन गरेका हरि दाहालसँग भेट हुन्छ तव नयाँखाले उद्यमको जन्म भयो र कम्पनीको नाम जुर्यो, लिफ प्लस प्रा.लि. ।

यहि लिफ प्लस प्रा.लि. अहिले खेर गइरहेका सुपारीका पातबाट बार्षिक लगभग चालिस लाख दुना टपरी उत्पादन गर्न सफल भएको छ । जसले भरपर्दो गरी नेपालको बजार पनि पाएको छ, भाटभटेनी सुपर मार्केट मार्फत ।

प्लाष्टिक कि सुपारी ?

विश्वभर नै प्लाष्टिकका थाल, गिलास, बटुका प्रयोगमा बन्द गर्ने कानुनी व्यवस्था बन्दै गएको छ । नेपालमा समेत केही स्थानीय तहहरुले सार्वजनिक स्थानहरुमा प्लाष्टिकका त्यस्ता थाल,  बटुकाले स्वास्थ्यमा मात्र नभई बातावरणीय र जैविक असर गरेको भन्दै बन्द गर्न थालेका छन् । यस्तोमा सुपारीको पातबाट निर्मित यस्ता उत्पादन उचित विकल्प बन्न सक्नेमा दुइमत छैन । त्यसो त राज्यले नै नीति बनाएर त्यस्ता मानव स्वास्थ्यमा असर गर्ने र वातावरणमा समेत प्रभाव पार्ने प्लाष्टिकजन्य बस्तु निषेध गर्ने व्यवस्था माग भईरहेको छ ।

जहाँ सुपारी त्यहाँ रोजगारी

लिफ प्लसले एउटा नारै बनाएको छ, “जहाँ सुपारी त्यहाँ रोजगारी ।” कम्पनीले सुपारी खेती भएका स्थानहरुमा आफ्नै खर्चमा प्लाष्टिक टनेल बनाइदिएर सुपारीका पात संकलन केन्द्र स्थापना गरेको छ । हरेक संकलन केन्द्रमा एक जना प्रत्यक्ष पात संकलकले रोजगार पाइरहेका छन । पात संकलनमा व्यस्त हरि दहाल भन्छन् “हामी त अझ पात संकलक नभनेर व्यवसायी भन्छौ, किनभने हाम्रो खर्चमा बनेको सेडहाउसमा अतिरिक्त मुल्य दिएर हामी आफै पात खरिद गर्छौ ।”

झापाको धुलाबारी, हेटौडा र काठमाडौं अफिस समेतमा गरि १८ जनालाई कम्पनीले प्रत्यक्ष रोजगार दिइरहेको छ भने कम्पनीमा पात संकलकका रुपमा दुईवटा समुह समेत गरि अहिले २२ वटा संकलन केन्द्र रहेका छन् र त्यसमा समेत २२ जनाले रोजगारी पाइरहेका छन् ।

बचत समुहमा नयाँ आयाम

कम्पनीले स्थापना गरेको पात संकलन केन्द्रका रुपमा मेचीनगर नगरपालिका र बुद्धशान्ति नगरपालिकाका २ वटा बचत समुहहरु पात संकलकका रुपमा रहेका छन् । पाक्षिक र मासिक नगद बचत गर्नुपर्ने समुहमा व्यक्तिले नगदको सट्टा पात ल्याउँदा हुने व्यवस्था गरेपछि बचत समुहमा नयाँ आयाम थपिएको छ । दहाल यसबारे भन्छन् “सुरुमा मैले नै प्रस्ताव ल्याउँदा धेरैलाई अपत्यारिलो लागेको थियो तर अहिले बुद्धशान्ति भोटेटारको एउटा बचत समुह नगद बचत गर्दैन, नगदका सट्टामा पात लिन्छ र जति पात आयो सोही अनुसार उसको खातामा नगद जम्मा हुने व्यवस्था मिलाइएको छ ।”

त्यति मात्र होइन सिंगो बचत समुह पात संकलनमा लाग्ने र संकलन गरेर विक्री गरेको पातबाट आउने अतिरिक्त मुल्य बचत समुहको सामुहिक खातामा पुजीँका रुपमा जम्मा हुने भएपछि बचत समुहमा समेत नयाँ क्रान्ति नै थपिएको छ र त्यसका नायक बनेका छन्, बचत समुहका अध्यक्ष भोटेटारका चन्द्र वाग्ले ।

बजार कि हजार

नेपालीमा उखान छ “बजार कि हजार”। बजारमा एउटै कामका लागि प्रयोगमा आउने विभिन्न किसिमका सामान पाइने भनेर पनि त्यसो भनिएको होला । तर, सुपारीको पातबाट बनेको दुना टपरीको विशेषताबारे जानकारी दिँदै संस्थाका अर्का सदस्य कोविद सिंह भन्नु हुन्छ “हो बजारमा प्लाष्टिकका सस्ता थाल बटुका, पातकै सस्ता सस्ता टपरी र अहिले चाइनाबाट आउने क्रनस्ट्राच समेत पाइन्छ, तर हाम्रो जस्तै प्राकृतिक, स्वास्थ्य र वातावरणलाई असर नगर्ने, नचुहिने र माइक्रोवेभ ओभनमा समेत राख्न मिल्ने कुनै पाइँदैन ।”

“म नेपाल मै बनेको वस्तु प्रयोग गर्छु भन्ने भावना लिने हो भने नेपाली उत्पादनले राम्रो बजार पाउन सक्छ, यही रोजगारी सिर्जना हुन्छ, आर्थिक विकास हुन्छ त्यता तिर पनि व्यक्ति व्यक्तिले ध्यान दिनु जरुरी छ,” दहाल भन्छन्, “हाम्रो बजार हामीले बनाउने हो र हाम्रो देश हामीले, कोही फुत्त रोजगारी दिने अनि सबै रोजगार भइने होइन ।”

अहिले कम्पनीको उत्पादन भाटभटेनीका सबै आउटलेटमा पाइने भएपनि सर्वसाधारणका लागि समेत सुपारीको पातका दुना टपरी सहज बन्न थालेको छ । यही सहजताले कम्पनीले थप मेसिन आयात गर्न भारत जाने तयारी गदै गरेको जानकारी संस्थाका अर्का सदस्य पोखरेलले दिएका छन् ।

अहिले दाहाल, आचार्य, बानिया र पोखरललाई जागिर खोज्न कहाँ जाने, कसले देला जागिर भन्ने चिन्ता भन्दा पनि कसरी बढी भन्दा बढी स्थानीयलाई जागिर दिन सकिन्छ भन्ने चिन्ता छ । यतिभए आजका युवालाई अरु के चाहियो ?

प्रतिक्रिया दिनुहोस