aarthiknews.com बुधबार, २४ असार २०७७   Wednesday, 08 July, 2020
 
Citizen life
शेयर बजारमा छेपारो कथा

बढ्दा सेलाउने र घट्दामात्रै उठ्ने यी दुई मुद्दा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ साउन २०७६
Sunrise
HIb
बढ्दा सेलाउने र घट्दामात्रै उठ्ने यी दुई मुद्दा
LBEF

काठमाडौंं  । शेयर बजार जतिबेला ओरालो लाग्छ त्यति बेला शेयर बजार सुधारका कुरा उठने गर्छन् । शेयर बजारमा मन्दी आएका बेला सुधारको गफ गर्ने मेलो बन्ने गर्छ ।  बजार बढ्दा भने सरकार मातहतका निकायका प्रमुखहरु जस लिन तल्लिन हुन्छन् । लगानीकर्ता पनि नाफा निकाल्नै केन्द्रित हुने गर्छन् । केही महिनायता शेयर बजार ओरालो लाग्दै आएको हुँदा अहिले फेरि सुधारका कुरा उठ्न थालेका छन् । नेपालको शेयर बजारमा गैरआवासीय नेपाली (एनआरएन) लाई भित्र्याउनुपर्ने भन्न थालिएको करिब १० वर्ष हुन लाग्यो । शेयर बजार नियामक निकाय धितोपत्र बोर्डले पनि एनआरएनलाई शेयर बजारमा भित्र्याउन आवश्यक नीति निर्माण गर्न नसक्दा एनआरएनलाई शेयर बजारमा भित्र्याउन सकिएको छैन ।

धितोपत्र बोर्डले ९ वर्ष अगाडि नै ५ वर्षे गुरुयोजना तयार पारेको थियो । त्ससबेला तयार पारेको गुरुयोजनामा एनआरएनलाई पुँजी बजारमा भित्र्याउने उल्लेख छ ।  अर्थ मन्त्रालयले समेत पुँजी बजार विकासका लागि एनआरएनको आवश्यकता महशुस गरेको थियो । अर्थ मन्त्रालयले त्यसलाई मुख्य काम ठानेर प्राथमिकताको सूचीमा राखेको थियो । तर, बाग्मतीमा धेरै पानी बग्दा पनि काम भने अझै उस्तै छ । ९ वर्षअघि अर्थ मन्त्रालयले नै देखाएको सपना अहिलेसम्म साकार हुन भने सकेको छैन । 

चालू आर्थिक वर्षको बजेटमा ‘गैरआवासीय नेपालीहरुले दोस्रो बजारमार्फत पनि लगानी गर्न सक्ने गरी पुँजी बजारलाई फराकिलो बनाइने छ’ भन्ने उल्लेख गरिएको छ । यसअघि आर्थिक वर्ष २०६७/०६८ मा सुरेन्द्र पाण्डेले ल्याएको बजेटमा पुँजी बजारमा पनि एनआरएनलाई भित्र्याउने उल्लेख छ । आव २०७०/०७१ मा शंकरप्रसाद कोइरालाले र आव २०७१/०७२ मा डा. रामशरण महतले ल्याएको बजेटले त्यही कुरा दोर्होयाइएको छ । एनआरएनलाई पुँजी बजार भित्र्याउनका लागि पहल गर्ने भने पनि कार्यान्वयनमा भने आउन सकेको छैन । आवश्यक नीति नियम नभएको कारण एनआरएनलाई शेयर बजारमा भित्र्याउन सकिएको छैन । 

‘एनआरएनलाई शेयर बजारमा भित्र्याउन सकिएको खण्डमा बजार यतिधेरै तल आउने थिएन्,’ एक ब्रोकरले भने–‘एनआरएनलाई शेयर बजारमा भित्र्याउने भन्ने कुरा पनि छेपाराको उखान जस्तै भएको छ ।’ जाडो भएर रातभरी कठग्रिदा छेपाराले भोलि त घर नबनाई छोडदिन भन्छ, भोलिपल्ट दिनको रापिलो घामले उसको त्यो घर बनाउने सपना तुहिन्छ । शेयर बजारमा पनि एनआरएन भित्र्याउने कुरा त्यस्तै भएको छ । बजार ओरालो लाग्दा एनआरएनको आवश्यकता महशुस हुन्छ, बढ्यो भने एनआरएनलाई भित्र्याउने कुरा सेलाउँछ ।

‘लगानी लैजाँदा नियामक निकाय राष्ट्र बैंकसँग पटक–पटक अनुमति लिइरहनुपर्ने भएकाले पनि एनआरएनलाई आकर्षित गर्न सकिएको छैन,’ नेप्सेका एक अधिकारीले भने । दोस्रो बजारमा शेयर खरिद गर्न नागरिकता आवश्यक पर्ने भएकाले पनि प्रक्रियागत समस्या रहने गरेको ती अधिकारीले बताए ।एनआरएनलाई भित्र्याउन भन्दै धितोपत्र बोर्ड, नेप्से, अर्थ मन्त्रालय, राष्ट्र बैंकका अधिकारीहरुको संलग्नतामा एउटा समिति पनि बनेको थियो । त्यो कमिटी पनि एकपटक बाहेकको दोस्रोपटक बैठक बस्न सकेको छैन । 

यसैगरी, संस्थागत लगानीकर्ता अर्थात मार्केट मेकर भित्र्याउने कुरा पनि एनआरएनलाई शेयर बजारमा भित्र्याउने जस्तै भएको छ । करिब एक दशक अघिदेखि नै बजार उच्च घट्दा शेयर किन्ने र बढ्दा बेचेर बजारलाई स्वभाविक गति दिनेगरि मार्केट मेकर अर्थात बजार निर्माता ल्याउने पहल थालिएको थियो ।

धितोपत्र बोर्डले मार्केट मेकर सम्बन्धी कायविधि नै तयार गरेको छ । कम्तिमा पाँच अर्बको कोष बनाएर नागरिक लगानी कोष वा कर्मचारी सञ्चय कोषलाई मार्केट मेकरको रुपमा भित्र्याउने पहल भएको पनि भएको थियो । तर, अहिलेसम्म त्यो कार्यान्वयनमा आउन सकेको छैन ।अहिले शेयर बजार १२२४.०३ अंकमा आइपुगेको छ । नेप्से ओरालो लागेको बेला एनआरएन र मार्केट मेकरको चर्चा पनि फेरि चल्न थालेको छ । 
 

प्रतिक्रिया दिनुहोस