aarthiknews.com शुक्रबार, १४ असोज २०७९   Friday, 30 September, 2022
 
Everest Bank
British College
Blue Diamond

दुई खर्ब ३ करोडको निर्यात हुँदा १९ खर्ब २० अर्बको आयात, व्यापार घाटा १७ खर्ब २० अर्ब नाघ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ साउन २०७९
Sanima Bank
दुई खर्ब ३ करोडको निर्यात हुँदा १९ खर्ब २० अर्बको आयात, व्यापार घाटा १७ खर्ब २० अर्ब नाघ्यो
LBF

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा कुल वस्तु निर्यात ४१.७ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा गत आवमा कुल वस्तु निर्यात ४१.७ प्रतिशतले वृद्धि भई रु.२०० अर्ब ३ करोड पुगेको उल्लेख छ । अघिल्लो वर्ष यस्तो निर्यात ४४.४ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ४५.९ प्रतिशत र ३०.४ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २०.४ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, ऊनी गलैचा, धागो (पोलिष्टर तथा अन्य), जिंक शिट, जुस लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, अलैंची, चिया, औषधी (आयुर्वेदिक), तार लगायतका वस्तुको निर्यात घटेको छ ।

समीक्षा वर्षमा कुल वस्तु आयात २४.७ प्रतिशतले वृद्धि भई रु.१९२० अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात २८.७ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २३.५ प्रतिशत, १३.२ प्रतिशत र ३६.३ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, स्पंज आइरन, सुन लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, सिमेन्ट, धान तथा चामल, दाल, मेडिकल उपकरण लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ कन्चनपुर भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात समीक्षा वर्षमा वृद्धि भएको छ । आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।  

समीक्षा वर्षमा कुल वस्तु व्यापार घाटा २३.० प्रतिशतले वृद्धि भई रु.१७२० अर्ब ४२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा २७.३ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा निर्यात–आयात अनुपात १०.४ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ९.२ प्रतिशत रहेको थियो ।

समीक्षा वर्षमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.२१३ अर्ब ५३ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्ष यस्तो आयात रु.१९० अर्ब ५४ करोड बराबरको भएको थियो ।

प्रतिक्रिया दिनुहोस