
काठमाडौं । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन गरेको आरोपमा तीन जना विदेशी नागरिक विरुद्ध मुद्दा दायर गरेको छ । विभागले सोमबार काठमाडौं जिल्ला अदालतमा दुई पाकिस्तानी नागरिक र एक भारतीय नागरिक विरुद्ध मुद्दा दायर गरेको हो ।
विभागका अनुसार पाकिस्तानी नागरिक हाफिज अत्तिक्यु अर रेहमान, पाकिस्तान घर भई हाल सशस्त्र प्रहरी गुल्म जगन्नाथ देवलमा संगठित अपराध मुद्दामा थुनामा रहेका ५९ वर्षिय जाबेद अस्लाम खान र भारतको बनारस घर भई भिमफेदी कारागारमा संगठित अपराध मुद्दामा थुनामा रहेका चाँदबाबु मोहम्मद सरिफ विरुद्ध मुद्दा दायर गरिएको छ । उनीहरु तीनै जनाले विदेशी विनिमय अपचलन गरेको विभागको आरोप छ ।
विभिन्न देशका मुद्रा लुकाइ छिपाई नेपालबाट बाहिरी मुलुकतर्फ लैजाने लागेको अवस्थामा रेहमान पक्राउ परेका थिए । उनी विरुद्ध ९ लाख १६ हजार ४९१ रुपैयाँ मागदावी सहित मद्दा दायर गरिएको विभागले जनाएको छ ।
त्यस्तै, चाँदबाबुको साथबाट अवैध भारतीय नोट बरामद भएको थियो भने जाबेदको साथबाट अवैध अमेरिकी डलर बरामद भएको थियो । उनी विरुद्ध ५० लाख १६ हजार ६८७ रुपैयँ विगो कायम गरिएको छ भने चाँदबाबु विरुद्ध एक लाख १२ हजार १०५ रुपैयाँ विगो माग गरिएको विभागले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस