aarthiknews.com शुक्रबार, १४ असोज २०७९   Friday, 30 September, 2022
 
Everest Bank
British College
Blue Diamond

‘सोचे जस्तो पार्टनर पायौँ भने हामी मर्जरका लागि अगाडी बढ्छौँ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ साउन २०७९
Sanima Bank
LBF

गत आर्थिक वर्षको सुरुवातदेखि नै बैंकहरुले तरलताको अभावमा गुज्रिरहेका छन् । तरलता अभाव लगायत असहज परिस्थितिमा पनि धेरैजसो बैंकहरुले गत आर्थिक वर्षमा नाफा कमाएका छन् । असहज परिस्थितिमा पनि बैंकहरुले नाफा कमाउन सफल कसरी भए यो नाफा कतिको सन्तोष जनक छ ? तरलताको समस्यालाई बैंकहरुले कसी फेस गरिरहेका छन् र एभरेष्ट बैंकको भावी योजनाहरू लगायतका विषयमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङसंग आर्थिक न्युज डटकमले मन्थन गरेको छ । प्रस्तुत छ, सोही कुराकानीको सम्पादित अंश: 

गत वर्षको अन्तिमसम्म आइपुग्दा थोरै भए पनि बैंकहरुले नाफा कमाएका छन् । यो नाफा सन्तोषजनक हो ?

सबैजसो बैंकहरुले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । उक्त विवरण हेर्दा अधिकांश बैंकहरुले गत आवमा राम्रै आम्दानी कमाएका छन् । गत वर्षको सुरुवातदेखि नै तरलता अभाव देखिए पनि त्यस्तो समयमा बैंकहरुले नाफा कमाउन सफल भएका छन् । असहज परिस्थितिमा पनि बैंकहरुले ठिकठिकै पर्फमेन्स देखाउन सकेका छन् ।

बैङ्किङ क्षेत्रको गत आर्थिक वर्षको समग्र नाफा हेर्दा करिब साढे १४ प्रतिशत देखिएको छ । त्यो आम्दानी लगानीकर्ताहरूका लागि सन्तोषजनक हो ? 

आजको दिनमा बैंकहरुको मुद्दतीमा राख्दा १३/१४ प्रतिशत पाउनु भनेको हामीले हेर्दा राम्रो नै मान्न सकिन्छ । तर, हामीले दिने लाभांशको क्षमतामा केही ह्रास आएको छ । यसको कारण भनेको बैंकहरुको चुक्ता पुँजी बढेको छ । गत वर्षसम्म राष्ट्र बैंकले नगद लाभांशमा रोक लगाएको हुनाले धेरै प्रतिशत बोनस दिएको कारण चुक्ता पुँजी बढ्दै जाँदा लाभांश दिने क्षमतामा कमी आएको हो । १३/१४ प्रतिशत लगानीकर्ताले पाउनु भनेको राम्रो हो भन्ने लाग्छ मलाई । 

बैंकको लगानी कम भएकाले बैंकको संस्थागत शेयर बेच्न पाउनु पर्‍यो भन्दै बैंकका लगानीकर्ताले माग गरिरहेका छन् । उहाँहरुले यसो भन्नुमा बैंकभन्दा अन्य क्षेत्रमा बढी रिटर्न देखेर हो ?

समग्रमा हेर्दा सबैजसो बैंकको रिटर्न १३/१४ प्रतिशत नै देखिन्छ । विभिन्न परिस्थितिका बाबजुद पनि यतिको रिटर्न बैंकहरुले दिन सक्नु भनेको राम्रो मान्नु पर्छ । यो प्रतिफल बैंकहरुमा भन्दा अन्य क्षेत्रमा धेरै छ भन्ने जस्तो चाहिँ लाग्दैन ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिले कतिपय नयाँ व्यवस्थाहरू परिवर्तन गरेको छ । ती व्यवस्थाहरूले बैङ्किङ क्षेत्रको आम्दानी अज खुम्चिने देखिन्छ होइन ?

गत वर्षको भन्दा कसिलो मौद्रिक नीति आउँछ भन्ने हाम्रो अपेक्षा रहेको थियो । केही मात्रामा त्यही रूपमा चालू आवको मौद्रिक नीति आएको छ । बाह्य क्षेत्रको चाप, विदेशी मुद्राको सञ्चित घट्दै गएकोमा बढाउनु पर्ने दबाब, तरलता व्यवस्थापन गर्न बैंकहरुले आफूसँग भएको ट्रेजरीहरुमा पाइरहेको व्याज घटाएर एक प्रतिशतमा ल्याएको छ । यी इत्यादि कुराहरूले केही समस्या पक्कै पर्छ । यी सबैको बाबजुद पनि तरलता समस्याको समाधान हुने हो भने राम्रो हुँदै जान्छ । सधैँ यस्तो नरहला यसको समस्या समाधान चाँडै हुन सक्छ । 

तरलताको समस्यालाई एभरेष्ट बैंकले के गरिरहेको छ ?

अहिले हेर्ने हो भने सबै बैंकमा समानरुपको ब्याजदर रहेको छ । ग्राहकहरूलाई आकर्षण गर्नका लागि बैंकहरुले भिन्नभिन्न नामकरण गरेका मात्रै हुन् । ब्याजदर त्यही एउटै हो । दर्श वर्ष पाँच वर्षमा दुई गुणा हुन्छ भन्दै भएको प्रडक्टलाई नै रिडिजाइन गरेर ल्याएको मात्रै हो । कतिपय बैंकहरुले १० वर्षे मुद्दती खाताको सुविधा पनि दिएरहेका छन् कतिले पाँच वर्षे मुद्दती पनि लिइरहेका छन् । तर, ब्याजदर भने उही नै हो  । सबै बैंकहरुले एउटै प्रकारको स्किम ल्याउँदा त्यति राम्रो हुँदैन । तर, अर्को बैंकमा यस्तो स्किम छ यहाँ छैन भन्दै ग्राहकहरू भने आउने गर्छन् । यसले गर्दा ग्राहकको लागि भए पनि यस्ता स्किमहरू ल्याउनु पर्ने हुन्छ । यस्ता स्किम सबैजसो बैंकहरुमा आइसकेका छन् । 

धेरैजसो बैंकहरु निक्षेप लिने र कर्जा प्रवाह गर्ने मात्रै गर्छन् । बैंकहरुको आम्दानीको मुख्य स्रोत पनि यही नै छ । बैंकले आम्दानीका अन्य स्रोत पहिल्याउन नसक्नुको कारण के हो ?

बैंकहरुको कोर एक्टिभिटिज भनेको नै निक्षेप सङ्कलन गर्ने र कर्जा प्रवाह गर्ने नै हो । आम्दानीको स्रोत पनि त्यही हो । क्यापिटल मार्केटहरूले पोर्टफोलियो म्यानेज गर्ने र हाइ नेटवर्क ग्राहकहरूलाई एडभाइजरी सेवा दिने काम बैंकहरुले गरिरहेका नै छन् । ट्रेड फाइनान्स, एलसी इत्यादि कुराहरूमा पनि बैंकहरुको ध्यान हुन्छ । ठूलो सानो भन्दा पनि बैंकहरुले गर्ने भनेको नै यही हो । 

राष्ट्र बैंकले मर्जरमा जान दबाब दिइरहेको छ । बैंकहरुमा मर्जरपछिको मर्ज भएका बैंकमा देखिने मुख्य असर कस्तो रहला ?

अहिले भइरहेको बैंक बिजनेशको हिसाबले ठूलै साइजको भइसकेको छ भने उसले मर्जरमा गएपछि उसको साइजले ठूलो हुने भयो । पहुँच बढ्ने भए । ग्राहक धेरै हुने भए । मर्ज भएर बैंक ठूला भए भने अस्वस्थ प्रतिस्पर्धामा केही कम हुन सक्छन् । बैंकहरु अनुशासित हुने क्रम बढ्न सक्छ । बैंक जति ठूलो भयो उसको बेनिफिट पनि धेरै नै हुँदै जान्छ । बैंकहरु सङ्ख्यामा पनि कम हुँदै गए पनि उनीहरूबिचको प्रतिस्पर्धा पनि त्यही अनुसार हुने देखिन्छ । यसो हुँदा बैंकहरुबाट ग्राहकले पाउने सेवा सुविधा गुणस्तरीय हुन जान्छ । 

मर्जरका लागि एभरेष्ट बैंकको तयारी के छ ?

एभरेष्ट बैंक पनि मर्जरको लागि राम्रो पार्टनर खोजी नै रहेको छ । तत्कालै मर्जरमा जाने भनेर कुनै पार्टनर भेटिएको छैन । हामीले सोचे जस्तो पार्टर पायौँ भने हामी पनि मर्जरका लागि अगाडी बढ्छौँ । 

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई विदेशबाट पैसा ल्याउन भनिरहेको अवस्था छ । केही बैंकले ल्याएका पनि छन् । तर, धेरैजसो बैंकहरुले यसमा लागेको देखिँदैन नि ?

पहिलो कुरा त विदेशबाट पैसा ल्याउन सस्तो पर्छ भन्ने छैन । विदेशबाट पैसा ल्याएर विदेशी मुद्राको आजको ब्याजदरको हिसाबले ६ देखि साढे ८ प्रतिशतसम्म पर्छ । त्यति ब्याजदरमा पैसा ल्याएर विदेशी मुद्रामा नै लगानी गर्ने हो भने साढे आठ प्रतिशतमा गर्नु पर्ने हुन्छ । स्रोत विदेशी छैन भने विदेशी मुद्रामा लिनेहरूले पनि पछि ऋण स्वदेशी वा विदेशी मुद्रामा तिर्नु पर्दा विदेशी मुद्राको फाइनान्सियल रिस्क ठूलो हुन्छ । त्यो रिस्कलाई कभर गर्नका लागि लाग्ने कष्ट ५/६ प्रतिशत लाग्छ । त्यसरी उसलाई १४ प्रतिशतसम्म पर्न जान्छ । तर, नेपाली रुपैयाँमा नै १२ प्रतिशतसम्ममा पाइन्छ । हामीले १०/१२ प्रतिशत ब्याजदरमा फिक्स डिपोजिट पाइराखेकोलाई त्यसरी ल्याउँदा महँगो पर्ने देखिन्छ । 

विदेशी मुद्रामा नै कर्जाका लागि त्यति धेरै माग छैन । त्यसैले विदेशी मुद्रालाई ल्याएर नेपाली रुपैयाँमा कन्भर्ट गरेर लगानी गर्दा हामीलाई पनि जोखिम रहेको छ । विदेशी मुद्रा ल्याउन पनि त्यति सहज छैन । यसको लागि प्रक्रिया नै लामो रहेको छ । प्रक्रिया लामो भए पनि बैंकहरुले कोसिस भने गरिरहेका नै छन् । अहिले यहाँ पैसा नभएपछि ल्याउनु पर्ने दबाब त हामीलाई पनि छ ।

पछिल्लो समयको तथ्याङ्क हेर्ने हो भने कृषि क्षेत्रमा गएको कर्जा सबैभन्दा बढी काठमाडौं उपत्यकामा भएको देखिन्छ । यहाँ त धेरैजसो घरैघर मात्रै देखिन्छ । यहाँ कसरी कृषिजन्य ऋण गयो भनेर यहाँहरूले अनुसन्धान गर्नु भएको छ की छैन ?

काठमाडौं उपत्यकामा धेरै कृषि क्षेत्रको लागि ऋण गएको देखिएको छ । कृषि प्रयोजनका लागि ऋण लिन आउनेहरूको लागि पहिलो चरणमा त जग्गा नै चाहिन्छ । ऋण दिँदा त्यो जग्गामा कहिले के उत्पादन गर्ने लगायतको चासो राखेर ऋण दिनुपर्नेमा बैंकहरु कति चुकेको हो की भन्ने हामीलाई पनि लागेको छ । कृषिको लागि जग्गा किन्न पैसा दिएको छु त्यहाँ के उत्पादन गर्ने लगायतको कुराहरूको अनुगमन गर्ने निकायको कमजोरी देखिएको छ । कृषिलाई प्राथमिकता दिएर ऋण प्रवाह गर्दै जाँदा संयोगबस काठमाडौंमा बढी ऋण गए छ । 

अहिलेको अवस्थामा बैंकहरुको सुरक्षित लगानी अहिलेसम्मको कुन क्षेत्रमा देखिन्छ ?

नेपालमा आयात भएको वस्तुहरू देख्दा ती आयातित वस्तुहरूको उद्योग कलकारखाना स्थापना गर्न प्रशस्तै सम्भावना देखिन्छ । उत्पादनमूलक क्षेत्रमा सरकारले साथ सहयोगरि दिने हो भने धेरै सम्भावना देखिन्छ । कच्चा पदार्थका लागि परनिर्भर भए पनि हाम्रोमा सम्भावना धेरै नै छ । विशेषगरि हामीले हाइड्रोपावर क्षेत्रमा निश्चित प्रतिशत लगानी गर्नु पर्ने बाध्यता नै छ । लगानीमा जोखिमको हिसाबले भन्दा पनि त्यसमा गर्नु पर्ने प्रतिशतको छुट्याउनु नै पर्ने हुन्छ । प्रायजसो यस्ता ऋणहरू धेरै बैंकहरु मिलेर दिने गरेका छन् । यसले गर्दा पनि हामीले ऋण प्रवाह गर्दा सुरक्षित नै मानेका हुन्छौँ । 

एभरेष्ट बैंकका भावी योजनाहरू के के छन् ?

अहिले बजारमा देखिएको तरलता अभावको समस्या अझै केही समयसम्म रहने देखिएको छ । कोरोना महामारीका कारण हामीले हाम्रो बैंकहरुको शाखा विस्तार गर्ने काममा केही कमी आएको थियो । शाखाको आवश्यकता भएका ठाउँमा हामी विस्तार गर्ने योजनामा छौँ । भएको स्रोत परिचालन कसरी गर्ने र नयाँ स्किमहरू के के ल्याउने भन्नेमा हाम्रो विशेष फोकस हुनेछ । बाहिरबाट पैसा ल्याउन पनि हामीले काम गरिरहेका छौँ ।  

डिजिटलाइजेसनमा कोरोना पछि बैंकहरुले निकै नै फड्को मारेका छन् । अहिले हाम्रो पनि लगानीहरू यो क्षेत्रमा नै छ । अहिले हामीले शुक्रवार डिजिटल क्याम्पेन गर्ने गरिरहेका छौँ । यस दिन हामीले कुन ठाउँमा के कस्ता खालमा डिजिटल क्याम्पेन गर्न सक्छौँ भनेर काम गरिरेहेका हुन्छौँ । बैंकहरुले अहिले शाखा विस्तार गरे पनि अबको १० वर्षपछि ब्राञ्चलेस कारोबार गर्ने दिन आउनु सक्छ । हामीले पनि हाम्रो क्षमताले भ्याएसम्म डिजिटलाइजेसनमा खर्च गरिरहेका छौँ । 

 

प्रतिक्रिया दिनुहोस