कस्मेटिकका नाममा औषधिजन्य पदार्थ भित्रँदै - Aarthiknews
aarthiknews.com विहीबार, २६ मंसिर २०७६   Thursday, 12 December, 2019
 
Bajaj_Bike

कस्मेटिकका नाममा औषधिजन्य पदार्थ भित्रँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० साउन २०७६
Sunrise bank
कस्मेटिकका नाममा औषधिजन्य पदार्थ भित्रँदै
LBEF
NCH-IPS

काठमाडौं । औषधि व्यवस्था विभागको सिफारिसपत्रबिना नै औषधिजन्य क्रिम अवैध ढंगले नेपाली औषधि बजारमा भित्रिने क्रम बढेको छ । विभागको सिफारिसपत्रबिना औषधिजन्य क्रिम आयात गर्न नपाइने प्रावधान रहे पनि अवैध तरिकाले नेपाल भित्रने क्रम बढ्दै गइरहेको छ ।
औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक पानबहादुर क्षत्रीले दर्ता नभएका कम्पनीबाट कस्मेटिकका नाममा औषधीजन्य क्रिम भित्रिएको बताए । उनले भने, ‘चिकित्सकको सल्लाहबमोजिम मात्र प्रयोग गर्नुपर्ने औषधिजन्य क्रिम तथा मलम विभागले गरेको अनुगमनका क्रममा निर्वाध रूपमा नेपाली बजारमा बिक्री भइरहेको पाइएको छ । त्यस्ता उत्पादन भन्सार पास भई प्रशोधनका रूपमा आएको भन्ने सम्बद्ध व्यक्तिबाट खुल्न आएको छ ।’ उनले दर्ता नभएका कम्पनीबाट औषधि आयात भए कानुनको दायरामा ल्याउने बताए ।छाला तथा यौनरोग विशेषज्ञ डा। सञ्जुबाबु श्रेष्ठले चिकित्सकको सल्लाहबिना प्रयोग गरिने औषधिजन्य क्रिमले साइड इफेक्टको जोखिम बढी हुने बताए । उनले भने, ‘औषधिमा केमिकल हुन्छ । साइड इफेक्ट त भइहाल्छ । तर, डाक्टरको सल्लाह लिइयो भने जोखिमको सम्भावना कम हुन्छ ।’
औषधि व्यवस्था विभागले कतिपय औषधिजन्य क्रिम तथा मलम निर्वाध रूपमा नेपाली बजारमा बिक्री हुँदै आइरहेको पाइएको भन्दै विभागको प्रमाणपत्र र सिफारिसपत्रबिना भन्सार जाँच पास नगर्न भन्सार विभागलाई अनुरोध गरेको छ ।
विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘विभागमा दर्ता नभएका औषधिजन्य मलम र क्रिम पैठारीमा आवश्यक नियन्त्रणका लागि विभागबाट जारी प्रमाणपत्र र सिफारिसपत्रबिना भन्सार जाँच पास नगरिदिनुहुन अनुरोध छ ।’
औषधि दर्ता तथा निकासी पैठारीसम्बन्धी कानुनी व्यवस्था हुँदाहुँदै पनि कतिपय औषधिजन्य मलम तथा क्रिम निर्वाध रूपमा नेपाली बजारमा बिक्री भइरहेको पाइएको छ । औषधि ऐन, २०३५ मा औषधि पैठारी गर्न चाहने व्यक्तिले आफूले पैठारी गर्न चाहेको अनुज्ञापत्र प्राप्त कम्पनीको प्रत्येक औषधिको पैठारी गर्नुभन्दा अघि तोकिएको दस्तुर तिर्नुपर्ने प्रावधान छ । औषधि निकासी पैठारी गर्न विभागबाट सिफारिसपत्र लिनुपर्ने ऐनमा उल्लेख छ । छालाको रोगमा प्रयोग हुने प्रयोग हुने औषधि र औषधिजन्य पदार्थ हेलोबेटासोल, क्लोबेटासोल, बेटामेथासोन, बेक्लोमेथासोन, मोमेटासोनलगायतका कम्बिनेसन औषधि आयात भइरहेका छन् ।
यस्तै, मोमेटासोनजस्ता स्टोरोइडसँग कम्बिनेसनमा र छालाको फगंल इन्फेक्सनमा प्रयोग हुने माइकोनाजोल, क्लोट्रिमाजोल, लुलिकोनाजोल, केटोकोनाजोल, टरविनाफिन, बुटेनाफिनलगायत एन्टिबायोटिक कम्बिनेसनमा, दुखाइमा प्रयोग हुने डाइक्लोफिनाक, निम्सुलाइड, डेक्सकेटोरफेनलगायत एनाल्जेसिक एन्टिइम्फ्लामेटिक साथै सेम्फु र लोसनको नामबाट केटोकोनाजोल परमेथरिन, क्यालामिन लोसन र सेम्फु पनि बिक्री भइरहेका छन् ।
यस्तै, गार्गलको नामबाट क्लोरोहेग्जिडिन, बेन्जाडामिन, पोभिडिन आयोडिन आदि बिक्री भइरहेका छन् । यी औषधि नेपालभित्र कस्मेटिकका रूपमा नेपाली बजारमा भित्रिने गरेका छन् । तर, औषधि पसलबाट बिक्री भइरहेको गुनासो आएपछि औषधि व्यवस्था विभागले निरीक्षण गरेको थियो । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस