aarthiknews.com सोमबार, २३ साउन २०७९   Monday, 08 August, 2022
 
British College
Blue Diamond

‘पछिल्लो समय शेयर बजारमा आएको वृद्धिलाई सामान्य मान्नु पर्छ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ साउन २०७९
nepalmegaschool
‘पछिल्लो समय शेयर बजारमा आएको वृद्धिलाई सामान्य मान्नु पर्छ’
LBF

काठमाडौं । चालू आर्थिक वर्षको लागि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिपछि नेपालको शेयर बजारमा सुधार आएको देखिएको छ । मौद्रिक नीतिअघि निरन्तर गिरावट भइरहेको शेयर बजार त्यसपछि भने निरन्तर रूपमा बढ्दो क्रममा रहेको छ ।          

यस साताको पहिलो दिन आइतबारको शेयर बजारको कुरा गर्ने हो भने पनि नेप्से परिसूचक उच्च अंकले बढेको छ । आज नेप्से ५४.५८ अंकले बढेर दुई हजार एक सय ९५ दशमलव १० विन्दुमा पुगेको छ । त्यस्तै, आज चार अर्ब ६० लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ । 

जबकि नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको लागि ल्याएको मौद्रिक नीतिको अघिल्लो दिन अर्थात् साउन ५ गते शेयर बजारमा गिरावट आएको थियो । उक्त दिन नेप्से ५.८७ अंकले घटेर दुई हजार ४४ दशमलव ७२ विन्दुमा बन्द भएको थियो । त्यस्तै, उक्त दिन नेप्सेमा एक अर्ब ६४ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।  

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । मौद्रिक नीतिअघि साढे एक अर्बको हाराहारीमा कारोबार भएको शेयर कारोबार मौद्रिक नीतिपछि भने साढे चार अर्ब बढीको शेयर कारोबार भएको देखिन्छ ।    

मौद्रिक नीतिपछि शेयर बजारमा वृद्धि आउनुको पछाडि केही हदसम्म चालू आर्थिक वर्षको मौद्रिक नीतिको हात रहेको नेपाल ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष तथा शेयर लगानीकर्ता भरत रानाभाट बताउँछन् । उनी भन्छन्, ‘निश्चय पनि मौद्रिक नीतिपछि शेयर बजारमा प्रायजसोका दिनहरूमा वृद्धि नै भइरहेको छ । शेयर बजारको यो उकालो यात्रामा केही हदसम्म मौद्रिक नीतिको पनि हात रहेको छ । मौद्रिक नीतिले लगानीकर्ताहरूको माग जति सम्बोधन गरो छ त्यो सकारात्मक रहेको छ । यससँगै चालू आर्थिक वर्षको सुरुवात भएका कारण पनि शेयर बजारमा उत्साह देखिएको हुनसक्छ ।’ 

शेयर बजारले लय समात्दा नयाँ लगानीकर्ताहरूमा समेत उत्साह देखिएको लगानीकर्ता रानाभाटले बताए । उनले भने, ‘मौद्रिक नीतिपछि शेयर बजार लयमा फर्किदा नयाँ लगानीकर्ताहरू पनि उत्साहका साथ बजार प्रवेश गरेका छन् । यसका साथै गत आर्थिक वर्षमा शेयर बजार घट्दा पेनिक बनेका लगानीकर्ताहरू पनि अहिले पुनः बजारमा फर्किएका छन् ।’  

मौद्रिक नीतिपछि शेयर बजारमा एकाएक वृद्धि हुनुमा शेयर लगानीकर्ताहरूको लागि चालू आवको मौद्रिक नीति सकारात्मक आउनु नै रहेको अर्का लगानीकर्ताको भनाई छ । अहिलेको शेयर बजारमा भएको वृद्धिलाई सामान्य मान्नुपर्ने शेयर लगानीकर्ता नवराज दाहाल बताउँछन् । उनी भन्छन्, ‘पछिल्लो समय शेयर बजारमा आएको वृद्धिलाई सामान्य मान्नु पर्छ । शेयर बजार पुरानै लयमा फर्कनु पर्ने थियो । अहिले त्यही लयमा फर्किन खोजेको हो । यसलाई सकारात्मक मान्नुपर्छ ।’     

शेयर बजारका लागि सबै क्षेत्रबाट सकारात्मक कुराहरू आएका कारण पछिल्लो समय शेयर बजारमा वृद्धि आएको उनले बताए । लगानीकर्ता दाहालले भने, ‘शेयर लगानीकर्ताका लागि चालू आर्थिक वर्षको मौद्रिक नीति राम्रो आएको छ । यससँगै नेपाल धितोपत्र बोर्ड(सेबोन) ले पछिल्लो समय चालेका कदमहरू पनि राम्रा रहेका छन् । बजारमा शेयर बजारबारे सकारात्मक सन्देश प्रवाह भएको छ । जसले गर्दा शेयर बजारमा वृद्धि आएको हो ।’  

तर, मौद्रिक नीतिपछि शेयर बजारको यात्रा उकालो लाग्नुमा मौद्रिक नीतिले लगानीकर्ताहरूको माग सम्बोधन गरिदिएर नै हो भन्ने प्रश्नमा अर्का शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल भने फरक मत राख्छन् । उनी भन्छन्, ‘चालू आर्थिक वर्षको मौद्रिक नीतिले शेयर लगानीकर्ताहरूको माग खासै सम्बोधन गरेको छैन । मौद्रिक नीतिपछि शेयर बजार बढ्नुको पछाडि मौद्रिक नीति कारण होइन । मौद्रिक नीतिले शेयर लगानीकर्ताहरूको माग सम्बोधन गरेर भन्दा पनि शेयर बजार पुरानै अवस्थामा फर्किन खोजेको मात्रै हो ।’ 

त्यस्तै, उनले अन्य सबै क्षेत्र ठप्प हुँदा शेयर बजार बढेको शेयर लगानीकर्ता अग्रवाल बताउँछन् । उनी भन्छन्, ‘अन्य क्षेत्र ठप्प हुँदा शेयर बजार बढ्ने रहेछ । चालू आर्थिक वर्षको मौद्रिक नीतिले नयाँ व्यापार व्यवसाय खोल्ने खालको वातावरण बनाइदिएको छैन । जसले गर्दा अरू विकल्प बन्द हुँदा शेयर बजार बढेको हो ।’ साथै अब शेयर बजार बिस्तारै पुरानै लयमा फर्किने उनको दाबी छ ।   

 

प्रतिक्रिया दिनुहोस