
काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ ३ गते १३ औं र १४ औं संयुक्त वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको साउन १४ गतेको सञ्चालक समितिको बैठकले लिसारा हल, नक्साल, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले अघिल्ला दुई आर्थिक वर्ष ०७६/७७ र ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै गत आर्थिक वर्ष ०७८/७९ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ६० करोड रूपैयाँको आधारमा ७५ प्रतिशत हकप्रद शेयर निष्ष्कासनको विशेष प्रस्ताव पनि सभाका लागि तय गरेको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ७५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको हो । हकप्रद पश्चात चुक्तापूँजी २ अर्ब ८० करोड रूपैयाँ कायम हुने हुँदा सोही बमोजिमको प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव समेत सभाले पारित गर्नेछ ।
साथै सभाले संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबाट दुई जना सञ्चालकहरूको नियुक्ती गर्ने कार्यक्रम समेत रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन १९ गते एक दिन बुक क्लोज गर्ने मिति तय गरेको छ । बुक क्लोजको आधारमा साउन १८ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस