aarthiknews.com सोमबार, २३ साउन २०७९   Monday, 08 August, 2022
 
British College
Blue Diamond

‘छिमेकी देशले कच्चा पदार्थ निर्यात बन्द गरे भने नेपालमा औषधि उद्योग भएर पनि चल्न सक्दैनन्’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ साउन २०७९
nepalmegaschool
LBF

सरकारी स्वामित्वमा रहेका केही सार्वजनिक संस्थान बाहेक अन्य संस्थानको अवस्था दयनीय छ । यसमध्ये कै एक हो, नेपाल औषधि लिमिटेड । सरकारको पूर्ण स्वामित्वमा रहेको यस नेपाल औषधि लिमिटेड एक समय बन्द अवस्थामा पुगेको थियो । कुनै समय १४१ प्रकारसम्मको औषधि उत्पादन गर्ने क्षमतामा पुगेको संस्थान ४ वटा औषधि मात्रै उत्पादन गर्दै बन्द अवस्थामा पुगेको थियो । तर, पछिल्लो केही समय यतादेखि बिस्तारै तङ्ग्रिने अवस्था रहेको छ ।  संस्थानले यही साउने महिनादेखि थप १३ प्रकारका नयाँ औषधिहरू उत्पादन शुरु गर्न लागेको छ । यससँगै यो संस्थानले विभिन्न थप तीन वटा प्रयोगशाला समेत सञ्चालनमा ल्याएको छ । बन्द हुने स्थितिमा पुगेको यस नेपाल औषधि लिमिटेडले फेरि आफ्ना नयाँ उत्पादन थप गर्न र सरकारी औषधि कम्पनीले पुनः जीवन पाउने सम्भावना लगायत विषयमा आर्थिक न्युज डटकमकी रिता राउतले नेपाल औषधि लिमिटेडका महाप्रबन्धक मोहम्मद सफि उल्लाहसँग कुराकानी गरेकी छिन् । प्रस्तुत छ, सोही कुराकानीको सम्पादित अंश:

नेपाल औषधि लिमिटेडमा अप्ठेराका चाङ धेरै हुँदाहुँदै पनि तपाईँले महाप्रबन्धकको जिम्मेवारी सम्हाल्ने ‘रिस्क’ लिनुभएको थियो । हालसम्मको अनुभव कस्तो रह्यो ? 

‘रिस्क’ भन्दा पनि चाहाना धेरै भएको भएर मैले यस नेपाल औषधि लिमिटेडको महाप्रबन्धकको जिम्मेवारी सम्हाल्न तयार भए । विसं स. २०५५ सालतिर म सरकारी जागिरबाट बिदा हुँदा पुनः फर्किन्न भन्ने सोचले बाहिरिएको थिए । तर, म फेरि फर्केर आए । यसरी फर्केर आउनुमा रोचक छ । 

म फर्मास्यूटिकल्सको विज्ञ पनि हो । अरूको देशमा गएर अरूको लागि काम गर्नु पर्ने स्थिति थियो । तर, मेरो आफ्नै देशको सरकारी स्वामित्वमा रहेको फर्मास्यूटिकल्स धराशायी बन्दा मलाई दुःखी बनायो । त्यो पीडाले गर्दा यसमा म आफू जोडिन खोजे । जोडिने  कोसिस गरेको तेस्रो पटकमा यस संस्थानको महाप्रबन्धकको जिम्मेवारी सम्हाल्न सफल भए । 

आफूमा भएको विज्ञतालाई आफ्नो देशमा कसरी प्रयोग गर्ने भन्ने विषयले मलाई यहाँसम्म ल्याइपुर्‍यायो । नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा कार्यभार सम्हालेको पहिलो दिन नै कर्मचारीले आन्दोलन थियो । सुरुवातमा यहाँका कर्मचारीले वर्षौँदेखि राखेका मागहरूको सम्बोधन गर्न लागे । उचित माग सम्बोधन गरेपछि हामी सबै जना लागेर उत्पादनमा जोड दिन थाल्यौँ । 

त्यति बेला संस्थानले उत्पादन गरेका धेरै औषधिहरू गोदाममा थन्किएर बसेका थिए । उक्त औषधिहरूलाई समयमा नै बजारसम्म पठायौँ । यससँगै हामीलाई उत्पादनका लागि कच्चा पदार्थको अभाव थियो । कच्चा पदार्थ खरिददेखि कोरोना महामारीको समस्या झेल्दै हालसम्मको अनुभव रमाइलो नै रह्यो । समग्रमा अहिलेसम्मको यात्रा राम्रो नै भयो ।   

एकताका बन्द हुने स्थितिमा पुगेको यस नेपाल औषधि लिमिटेड फेरि केही मात्रामा जागेको जस्तो देखिन्छ, यो कसरी सम्भव भयो ?  

मलाई लाग्छ, सम्भव पछिको एउटा कारण भनेको प्रतिबद्धता नै हो । हामीले हाम्रा कर्मचारीलाई उत्पादनमा लगायौँ । उत्पादन हुने बित्तिकै हामीले सेवा दिन सक्यौँ । उत्पादित वस्तुहरू विक्रीपछि हाम्रो आम्दानी पनि हुन थाल्यो । यसअघि सरकारले कर्मचारीको तलब खुवाउनका लागि पैसा दिने गरेको थियो । तर, म यहाँ आएपछि हालसम्म तलबको लागि सरकारले पैसा दिनु परेको छैन । हामी आफैले उत्पादन गरेर तलब खाइरहेका छौँ ।  

औषधि उत्पादन गर्नका लागि हामीले मेसिनहरू थप गरेका छौँ । पुराना भएका मेसिनहरूलाई मर्मत गर्‍यौ । हामीले थप गरेका औषधिहरूले तीन गुणा बढी औषधि उत्पादन गर्न सहज भएको छ । पछिल्लो समय हामीले तीन वटा नयाँ प्रयोगशाला थप गरेका छौँ । जुन औषधि निर्माण गरेपछि त्यसलाई जाँच गर्नका लागि काम लाग्छ । 

हेमोडाइलाइसिसको उपचार गर्नुपर्ने जनताले सस्तो र गुणस्तरीय स्वास्थ्य पाउनका लागि सरकारको नीति बमोजिम हेमोडाइलाइसिसको निःशुल्क उपचारमा थप सहयोग पुग्ने काम हामीले गरेका छौँ ।   

अहिले नेपाल औषधि लिमिटेडले कति प्रकारका औषधि उत्पादन गरिरहेको छ ?

सुरुवातमा यस नेपाल औषधि लिमिटेडले १४१ प्रकारका औषधिहरू उत्पादन गर्दै आएको थियो । पछि ४ वटा औषधि उत्पादन गर्दै बन्द भयो । जुन औषधि सिटामोल, जीवनजल, स्यानिटाइजर, ग्लिसिरिन हुन् । अहिले हामीले त्यही चार वटा औषधिहरूको उत्पादनको क्षमता बढाएका छौँ । जीवनजल उत्पादन गर्नका लागि नयाँ मेसिन किनेका छौँ । नयाँ मेसिन किनेपछि पहिलेको क्षमताभन्दा तीन गुणा बढी जीवनजल उत्पादन गरिरहेका छौँ ।  

यससँगै थप १३ प्रकारका औषधि उत्पादनका लागि हामीले अनुमति पाइसकेका छौँ । सरकारले निःशुल्क वितरण गर्ने ९८ प्रकारका औषधिहरू मध्येकै १३ वटा औषधि हामीले उत्पादन गर्न लागेका हौँ । औषधि व्यवस्था विभागले हामीलाई एजीथ्रोमीइसिन २५० ट्याब्लेट, एजीथ्रोमीइसिन ५०० ट्याब्लेट, मेट्रोनिडाजोल २००, मेट्रोनिडाजोल ४००, डीएफ ट्याब्लेट, सिप्रोफ्लोक्सासिन २५०,  ५००, अल्बेन्डाजोल ४ सय एमजी, फोलिक एसिड ०.४ एमजी, इबुप्रोफिन ४ सय एमजी, हेमोडायलिसिस (ए,बी) र सेट्रिजिन उत्पादनको अनुमति दिएको छ ।

नयाँ औषधि उत्पादनका लागि हामीले सबै तयारी पुरा गरेका छौँ । अनुमति पाएका १३ प्रकारका औषधिको लागि चाहिने कच्चा पदार्थहरू हामीले किनिसकेका छौँ । थप मेसिनहरू पनि किनिसकेका छौँ । यसै साउन महिनादेखि उत्पादन थाल्छौँ । 

यस संस्थानले पुरानो लय समात्न खोज्दै छ । फेरि १४१ प्रकारका औषधि उत्पादन सम्भव छ ? 

नेपाल औषधि लिमिटेड अब गुडिसक्यो । संस्था नगुडुन्जेल समस्या थियो । ट्याब्लेट उत्पादन गर्ने मेसिन छ अब सेटप  पनि छ भने एउटा ट्याब्लेट बनाउनु र त्यही मेसिनमा १० वटा ट्याब्लेट भनेको एउटै हो । ट्याब्लेट र क्याप्सुलको लागि खासै समस्या छैन । हेमोडाइलाइसिस र जीवनजलको पनि समस्या छैन । 

हामीले सिरम, वाइन्टमेन्ट र इन्जेक्सन तीन वटा युनिटको लागि योजना बनाइसकेका छौँ । वाइन्टमेन्ट र जेल क्रिम टाइपका औषधिहरूका लागि हामीले एउटा सेटप गरिसकेका छौँ । त्यसका लागि ठाउँ पहिचान भइसकेको छ । अब सरकारको सहयोग र योजनामा आयो भने त्यो ठाउँमा हामीले संरचना बनाएर थोरै इन्भेस्टमेन्टमा काम गर्न सक्छौँ । हाम्रो योजनामा सरकारले साथ दिने हो भने दुई वर्षभित्रमा सरकारलाई चाहिने ९८ प्रकारका औषधिहरू औषधि लिमिटेडले दिन सक्छ ।  

खरिद प्रक्रियाका कारण पहिला र अहिलेको तुलनामा नेपाल सरकारले लगभग ७४ करोड रुपैयाँ बढी खर्च गरेको देखिन्छ । पहिला केन्द्रबाट किन्दाको त्यो पैसा र अहिले स्थानीय सरकारको नीति अनुसार औषधि किन्दाको परिमाण कम भएर बढी रकम परेको हुनसक्छ । यसमा सरकारको वार्षिक रूपमा औषधि खरिदमा ७४ करोड रुपैयाँ खर्च भइरहेको छ । उक्त पैसा हामीलाई एक पटक मात्रै दिने हो भने नेपाल सरकारलाई चाहिने जति औषधि आजीवन दिन सक्छौँ ।  

नेपालमा अहिले विदेशी कम्पनीका औषधिको दबदबा छ । नेपाल औषधि लिमिटेडको उत्पादनले यो दबदबालाई विस्थापित गर्न सक्ला ?

नेपाली बजारमा विदेशी कम्पनीका औषधिको दबदबालाई विस्थापित नै गर्न सकिँदैन । किनभने नेपाल औषधि लिमिटेड जनताको सेवाको लागि आएको हो । सेवाको माध्यमबाट दिइने औषधिले अन्य औषधिलाई विस्थापित गर्न सक्दैन । 

विश्वमा हामीभन्दा धेरै ठूला कम्पनीहरुले पनि आफ्नो देशको शतप्रतिशत आपूर्ति गर्न सकिरहेको अवस्था छैन । नेपाल औषधि पनि त्यस्तै नै हो । त्यसैले भएका कम्पनीलाई विस्थापित गर्न सकिँदैन । 

बरु सरकारलाई चाहिने आवश्यकता अनुसारका औषधिहरूलाई पुरा गर्न सक्छ । अर्को निजी कम्पनीहरूलाई औषधि उत्पादनका लागि चाहिने प्रविधिहरू लगायतका विषयहरूमा सरकारले नेपाल औषधिको माध्यमबाट सहयोग गर्ने भूमिका खेल्न सक्छ । 

तपाईँले लामो समय बङ्गलादेशमा औषधि बजार व्यवस्थापकका रूपमा काम पनि गर्नु भयो ? नेपाल र बङ्गलादेशको औषधि उत्पादनसँगै बजारको अवस्था कस्तो छ ?

२० वर्षअघि बङ्गलादेशको औषधि बजारलाई मैले जसरी देखेको थिए त्यसरी नेपालको औषधि बजारमा भएको देखिँदैन । २० वर्ष अघिको बङ्गलादेशको स्केलमा नेपाल अझै पुग्न सकेको छैन । यसको मतलब नेपाली औषधि बजारभन्दा बङ्गलादेशको बजार २० वर्ष अघि छ भनेर बुझे हुन्छ । भारतभन्दा बङ्गलादेशको औषधि बजार १० वर्ष अगाडी छ । 

फर्मास्यूटिकल्स क्षेत्रमा बङ्गलादेशको सिस्टम नेपालभन्दा धेरै नै फरक छ । नेपालको औषधि वितरण प्रणाली नै हेर्ने हो भने ४० देखि ४२ प्रतिशत रकम बिरामीले तिर्नु पर्ने बाध्यता छ । तर, बङ्गलादेशमा यस्तो रकम तिर्नु पर्दैन । त्यहाँ प्रत्येक कम्पनीको आफ्नै डिष्ट्रिब्युसन च्यानल छ । सिधा रूपमा वितरण हुन्छ ।  

टेक्नोलोजीमा पनि नेपालभन्दा बङ्गलादेश धेरै नै अगाडी रहेको छ । त्यहाँबाट अमेरिका जस्तो मुलुकमा समेत औषधि निर्यात हुने गर्छ । बङ्गलादेशका औषधिका लागि चाहिने आवश्यक कच्चा पदार्थ आफै उत्पादन गर्छन्  । तर, हामी भने आयात गर्ने गरेका छौँ । 

हामीले औषधिको क्षेत्रमा बङ्गलादेशबाट सिक्नु पर्ने धेरै कुराहरू रहेका छन् । नेपाल औषधि लिमिटेडले बङ्गलादेशको सरकारको स्वाधीनतामा रहेका औषधि लिमिटेडहरूसँग सहकार्य गरेर सरकारदेखि सरकार(जिटुजी) माध्यमबाट हामीले एक अर्काको विकास गर्नका लागि पहल भने थालेका छौँ ।  

नेपाली बजारमा औषधिको माग कति छ ? बजारको माग अनुसार आपूर्तिको अवस्था कस्तो छ ?

नेपालमा औषधिको माग यति नै छ भनेर ठ्याक्कै भन्न सकिने खालको तथ्याङ्क नै छैन । करिब ६ अर्बको औषधिको बजार छ भन्ने बुझिन्छ । ग्रोथ पनि २५ देखि ३५ प्रतिशतसम्मको रहेको छ भनिन्छ । आपूर्तिमा मागको ४५ प्रतिशतसम्म दिन सकिएको छ भनेर देखिए पनि मेरो व्यक्तिगत बुझाइमा यो ३० प्रतिशत भन्दा माथि छैन । किनभने बोर्डर साइडको मार्केटको हामीले हिसाब नै गरेका छैनौँ ।  

आपूर्ति बढाउन सकिँदैन ?

आपूर्ति बढाउन सम्भव छ । यसका लागि नीतिका कुराहरू आउँछन् । राष्ट्रिय स्तरमा रहेका निजी संस्थाहरुले आफ्नो पहल बढाउन ध्यान दिनु पर्छ । बाहिरका संस्थाहरुलाई अंकुश लगाएर चाहिँ बढ्न सक्दैन । बरु हामीले आफ्नो प्रतिस्पर्धालाई बढाउन सक्यौँ भने आपूर्ति सहजै बढ्न जान्छ । तर, केही मात्रामा कुनै कुनै औषधिहरू जुन हामीले सहजै उपलब्ध गराउन सक्छौँ भने ती औषधिहरूमा बाहिरबाट आउन बन्द गर्ने हो भने नेपालका लागि धेरै नै राम्रो हुन्छ । 

नेपालको औषधि बजारमा के कस्ता चुनौतीहरू देख्नुहुन्छ ? 

हिजोका दिनमा यति सानो अर्थतन्त्र भएको देशमा बैंक खुलेको खुल्यै गरे । तर, अहिले ती बैंकहरु धमाधम मर्ज भइरहेका छन् । फर्मास्यूटिकल्स क्षेत्रमा पनि मर्जमा जानु पर्ने स्थिति चाडै आउँदैछ । 

नेपालको औषधि बजार सानो छ तर, १०७ वटा फर्मास्यूटिकल्स कम्पनी भइसकेका छन् । फर्मास्यूटिकल्सका लागि यति ठूलो बजार नेपाल होइन । नेपालको बजार सीमित छ । विदेशी औषधिको दबदबा छ । यसो हुँदा नेपाली कम्पनी डुब्ने अवस्था पनि धेरै नै रहेको छ । कुनै निजी कम्पनी नै डुब्यो भने पनि त्यसको असर नेपालको अर्थतन्त्र माथि पर्न जान्छ । यही अवस्थामा नेपाली बजारमा १०७ वटा फर्मास्यूटिकल्स बाच्न सक्ने अवस्था छैन ।  

रिसर्च एण्ड डेभलपमेन्टमा नेपालमा लगानी गर्न सक्ने अवस्था छैन । यो भएन भने सरकारीसँगै निजी संस्थाहरू पनि अगाडी बढ्न सक्दैनन् ।  

हामीले मेसिनदेखि कच्चा पदार्थसम्म चीन, भारतबाट ल्याउने गरेका छौँ । चीन र भारतले औषधिको लागि आवश्यक पर्ने कच्चा पदार्थ नेपालमा निर्यात बन्द गर्‍यो भने नेपालको आफ्नै औषधि उद्योग भएर पनि बन्द गर्नु पर्ने स्थिति छ । 

कम्तीमा योजना अनुसार १० देखि १५ वटा कच्चा पदार्थ हामीले आफै उत्पादन गर्न आवश्यक देखिन्छ । दीर्घकालीन योजना अघि सारेर काम गर्ने हो भने नेपालको औषधि बजार एकदमै राम्रो हुन सक्छ । 

यो संस्थामा महाप्रबन्धक भएर आएपछि तपाईँले चाहेर पनि गर्न नसकेको काम के हो जस्तो लाग्छ ?

यो प्रश्नले मलाई पिडा दिन्छ । म यहाँ जागिर खान भन्दा पनि धराशायी रहेको संस्थालाई माथि उठाउनका लागि आएको हुँ । म यहाँ आउँदा मुख्यगरि दुई वटा उद्देश्य लिएको थिए । त्यो संस्थालाई सञ्चालनमा ल्याउने र त्यसका लागि आवश्यक पर्ने जिएमपीको लाइसेन्स लिनु थियो । 

गुड म्यानुफ्याक्चरिङ सर्भिस(जिएमपी)को लाइसेन्स हुने बित्तिकै उत्पादनहरू त भइहाल्छ । तर, यो संस्थामा छिरेको सुरुवातदेखि नै विभिन्न समस्याहरू देखिए । म यहाँ आउँदा ४५ वर्ष अघिदेखि यस संस्थाको साधारण सभा भएको थिएन । जुन बेला संस्थासँग पैसै पैसा थियो । यो मैले सोचेको भन्दा बाहिरको एक्टिभिटिज भयो । साधारण सभा नभएसम्म लिगल बाधा फुकेनन् । यसमा मेरो समय गयो । 

यी समस्याहरू झेल्दै यहाँसम्म आइपुग्दा अहिले नेपाल औषधि लिमिटेडको प्रमुख समस्या आर्थिक रहेको छ । यस समस्यालाई नेपाल औषधिबाट हटाउनु पर्छ । जसका लागि सरकारले पहल गर्नु पर्छ ।

त्यस्तै, यो संस्थाको लागि दीर्घकालीन योजना स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मार्फत अघि सारेको छु त्यो योजना कार्यान्वयन भयो भने औषधि उत्पादनमा सरकारले पटक पटक बजेट दिनु पर्दैन । त्यसपछि पैसासँगै सेवा पनि हुन्छ । यसका लागि वान टाइम इन्भेस्टमेन्टको कुरा आउँछ त्यसमा सरकारले हेर्नु पर्छ । 

म यहाँ महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दै गर्दा रुग्ण संस्थानहरूमा सात वटामध्ये नेपाल औषधि लिमिटेड दुई नम्बरमा थियो । तर, रुग्णबाट मोबिलाइज पनि भयो । मोबिलाइज भएपछि भने सरकारको कुनै बजेट आएन । किनभने सरकारले अब यो रुग्ण होइन भन्ने सोच्यो । मेरो बुझाई के छ भने, के सरकारले यो संस्था मरिसकेपछि उपचार शुरु गर्ने हो ? बाच्ने बाच्ने अवस्थामा आएपछि त त्यसलाई स्वास्थ्य बनाउन पो लाग्नु पर्‍यो ।  

सिटामोलमा हामीले सेवा गर्दा एक करोड १० लाख जति सरकारले दिने भनेको थियो । तर, अहिलेसम्म त्यो पैसा सरकारले दिएको छैन । यतिसम्म कि अहिलेसम्म सरकारले हामीलाई बजेटमा समेत समावेश गरेको छैन । यस्तै अवस्था रहने हो भने नेपाल औषधि लिमिटेडलाई उठाउन सक्ने कुनै बाटा नै देखिँदैन ।

तर, जोसुकै सरकारमा आए पनि यो संस्थाको विकल्प छैन । अबको १० वर्षपछि भए पनि यो संस्था हुनै पर्छ । यसअघि नेपाल औषधिको इतिहास र आवश्यकतालाई पहिचान गरेर जसरी लिएर आएका थियौँ अहिले पनि त्यही आवश्यकता छ र भोलि पनि हुन्छ । फरक यति हो, डुबिसकेपछि यसलाई उठाउनलाई मेहनत, समय र पैसा सबै धेरै तिर्नु पर्ने हुन्छ । आजको दिनमा केही कम तिर्नु पर्ने हुन्छ । 

त्यसो हो भने, सरकारको हेला परेको हो औषधि लिमिटेड ?

सरकारको हेलामा नै चाहिँ भन्न मिल्दैन । हामीले स्वास्थ्यको संवेदनशीलतालाई नबुझेको हो जस्तो लाग्छ । जब पर्छ त्यसपछि मात्रै बुझ्छौँ । कोरोना महामारीको बेला सिटामोल अभाव भयो । त्यति बेला अरू कम्पनीले बनाउन सक्ने अवस्था थिएन । त्यति बेला पनि नेपाल औषधिको विकल्प थिएन । त्यस्तै, भोलिका दिनमा पनि नआउला भन्न सकिँदैन । 

नेपालको पाँच लाख जनता प्रति वर्ष आफ्नो गोजीबाट उपचारको पैसा तिरेर गरिब हुँदै छ । गरिबी बढ्नु भनेको सरकारको लागि समस्या हो । नेपाल औषधिले त्यसरी किन्ने औषधि उपलब्ध गराइदियो भने ती पाँच लाख जनता गरिबी हुनबाट जोगिन सक्छन् । 

अबको १० वर्षमा औषधि लिमिटेडको अवस्था कस्तो हुनेछ ? भावी योजना के छन् ?

नेपाल औषधिको अहिलेको जुन संरचना छ त्यो संरचना बनावट अबको १० वर्षमा बढ्दो जनसङ्ख्याका कारण यहाँ फर्मास्यूटिकल्स औषधि राख्नु पर्ने अवस्था नहुन सक्छ । तर, औषधि त चाहियो । अहिलेको अवस्थामा हामीले यसलाई सार्नु पर्ने देखिन्छ । 

यो ठाउँलाई एउटा नयाँ पहिचान दिनु पर्छ । नेपाल औषधिले विश्वस्तरमा नै नेपाल सरकारलाई औषधि क्षेत्रमा भिन्न पहिचान दिने योजना मैले नेपाल सरकारलाई दिएको छु । पाँच वर्षभित्रमा त्यो योजना अगाडी सार्न सकियो भने नेपाल औषधिको आफ्नै पहिचान हुन्छ । सरकारले भोलिका दिनमा समस्या आयो र मैले यो संस्थालाई बचाउँछु भन्ने सोच राख्यो भने आज नसोचे भोलि पछुताउनु पर्ने स्थिति आउन सक्छ । नेपाल औषधिको भविष्यलाई जसरी पनि अगाडी बढाउनु पर्छ ।  

 

प्रतिक्रिया दिनुहोस