aarthiknews.com सोमबार, २३ साउन २०७९   Monday, 08 August, 2022
 
British College
Blue Diamond

कर्मचारी प्रशासनमा निहित नोकरशाहीतन्त्रको उत्कृष्ट बिम्ब "जामुनको रुख"

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०७ साउन २०७९
nepalmegaschool
कर्मचारी प्रशासनमा निहित नोकरशाहीतन्त्रको उत्कृष्ट बिम्ब "जामुनको रुख"
LBF

(भारतीय साहित्यमा विश्वप्रसिद्ध भारतीय लेखक प्रेमचन्दपछिका सबैभन्दा सशक्त हस्ताक्षर मानिन्छन्– कृश्नचन्दर (सन् १९१४–१९७७) । भारतका प्रसिद्ध साहित्य अकादमीसहित थुप्रै पुरस्कारहरुले सम्मानित उनी प्रगतिशील तथा यथार्थवादी दृष्टिकोणले लेखिने साहित्यका पक्षधरका रुपमा स्थापित छन् । राज्यले निर्धारण गरेका कथित लालफिताशाही प्रणालीको प्रक्रिया परिपालना गर्ने नाममा कर्मचारी प्रशासनमा छाएको नोकरशाहीतन्त्र कति हदसम्म संवेदनहीन एवं अमानवीय बन्ने गर्छ भन्ने कुराको उनले आफ्ना कहानी ‘जामुन के पेड’मा सशक्त ढंगले चित्रण गरेका छन् । सन् १९६० मा लेखिएको प्रस्तुत कहानी उनका सशक्त हास्यव्यंग्य रचनाहरुमध्येका एक प्रमुख मानिन्छ । आइसीएसइ (द इन्डियन सर्टिफिकेट अफ सेकेन्डरी एजुकेसन)ले उनको यो कहानीलाई सन् २०१९ मा १० औं कक्षाको हिन्दी पाठ्यक्रमबाट हटाएपछि निक्कै विवाद र चर्चा चलेको थियो ।)  

एक रात निक्कै ठूलो आँधी आयो । सचिवालयको बगैंचामा रहेको एउटा जामुनको रुख ढल्यो । बिहान जब मालीले देखे, उनले थाहा पाए कि त्यो रुखमुनि एकजना मानिस थिचिएका छन् ।

माली दौडिएर कार्यालय सहायक भएतिर गए । कार्यालय सहायक दौडिएर क्लर्ककोमा गए । क्लर्क दौडिएर सुपरिटेन्डेन्ट समक्ष गए । सुपरिटेन्डेन्ट दौडिएर बाहिर बगैंचामा आए । क्षणभरमै ढलेको रुखमुनि थिचिएका मानिसको चारैतिर भीड जम्मा भयो ।

“विचरा जामुनको रुख ! कति फलदार थियो !” एउटा क्लर्कले भन्यो ।
“अनि यसको फल जामुन कति रसिलो हुन्थ्यो !” अर्को क्लर्कले सम्झना गर्दै भन्यो । 
“म जामुन फल्ने मौसममा झोलामा भरेर लाने गर्थें । मेरा बच्चाहरु कति खुसी भएर खान्थे !” तेस्रो क्लर्कले करिब करिब रुन्चे स्वरमा भन्यो । 
“तर यो मान्छे ?” मालीले रुखले किचिएका मानिसतिर इशारा गर्दै भन्यो ।
“हो, यो मान्छे !” सुपरिटेन्डेन्ट सोचमग्न भए । 
“थाहा पनि छैन, जिउँदै छन् कि मरिसके ?” एउटा कार्यालय सहायकले सोधे ।
“मर्यो होला नि, यति गह्रुङ्गो रुख जसको पिठ्यूमा ढल्यो, उनी कसरी बाँच्न सक्छन् ?” अर्को कार्यालय सहायकले भन्यो ।
“होइन, म जिउँदै छु !” दबिएका मानिसले कठिनतापूर्वक पीडाको स्वरमा भने ।
“जिउँदै छन् !” एउटा क्लर्कले अचम्म मान्दै भने । 
“रुखलाई हटाएर यिनलाई छिटो निकाल्नुपर्यो,” मालीले सुझाव दिए । 
“कठिन होला जस्तो लाग्छ,” एउटा सुस्त, कामचोर र मोटे कार्यालय सहायकले भने, “रुखका हाँगा ठूलो र गह्रुङ्गो छ ।” 
“के कठिन छ ?” माली बोल्यो, “सुपरिटेन्डेन्ट साहेबले आदेश दिने हो भने अहिले नै पन्ध्र बीस जना माली, कार्यालय सहायक र क्लर्कहरु मिलेर रुखमुनि थिचिएका मानिसलाई निकाल्न सकिन्छ ।” 
“मालीले सही भन्यो,” धेरै क्लर्कहरु एकैसाथ बोले, “जोर लगाऊ, हामी तयार छौं ।”
एकैसाथ धेरै मानिसहरु रुख उठाउन तयार भए ।
“पर्ख १ सुपरिटेन्डेन्टले भन्यो, “म अन्डर–सेक्रेटरीलाई सोध्छु ।”

सुपरिटेन्डेन्ट अन्डर–सेक्रेटरी भएठाउँ गए । अन्डर–सेक्रेटरी ज्वाइन्ट सेक्रेटरीकोमा गए । ज्वाइन्ट–सेक्रेटरी चीफ सेक्रेटरीकोमा गए । चीफ सेक्रेटरी मन्त्रीकोमा गए । मन्त्रीले चीफ सेक्रेटरीलाई केही भने । चीफ सेक्रेटरीले ज्वाइन्ट–सेक्रेटरीलाई केही भने । ज्वाइन्ट–सेक्रेटरीले डेपुटी–सेक्रेटरीलाई भने । डेपुटी–सेक्रेटरीले अन्डर–सेक्रेटरीलाई भने । फाइल अघि बढिरह्यो । यसैमा आधा दिन बितेर गयो ।

दिउँसोको खाजा खाने समयमा रुखले थिचिएका मानिसका चारैतिर धेरै भीड जम्मा भइसकेको थियो । मानिसहरु थरिथरिका कुराहरु गरिरहेका थिए । केही उत्साही क्लर्कहरुले समस्यालाई आफैंले समाधान गर्न चाहे । उनीहरु माथिको फैसलालाई नकुरेर रुखलाई आफूहरुले नै हटाउने निश्चय गरिरहेका थिए कि त्यत्तिकैमा सुपरिटेन्डेन्ट फाइल लिएर दौडदै आए । उनले भने, “हामीहरु आफैंले यस रुखलाई हटाउन पाउँदैनौं । हामी वाणिज्य विभागसँग सम्बन्धित हौं । यो रुखको समस्या हो । जुन कृषि–विभागको अधीनमा छ । म यस फाइललाई ‘अर्जेन्ट’ मार्क गरेर कृषि विभागमा पठाइरहेको छु– त्यहाँबाट जवाफ आउनेबित्तिकै यस रुखलाई हटाइनेछ ।”

अर्को दिन कृषि विभागबाट उत्तर आयो कि रुख वाणिज्य विभागको बगैंचामा ढलेको हो । अतः त्यस रुखलाई हटाउने वा नहटाउने कुराको जिम्मेवारी वाणिज्य विभाग अन्तर्गत नै पर्छ । यो उत्तर पढेर वाणिज्य विभागलाई रिस उठ्यो । उसले तुरुन्तै लेख्यो कि रुखलाई हटाउने वा नहटाउने जिम्मेवारी कृषि विभागमा नै रहन्छ । वाणिज्य विभागको त्यससँग कुनै सम्बन्ध छैन । 

अर्को दिन पनि फाइल अघि बढिरह्यो । बेलुकीपख जवाफ आयो– हामी यो मामिलालाई हर्टिकल्चर डिपार्टमेन्टलाई सुम्पिँदैछौं, किनकि यो एउटा फलदार रुखको मामिला हो र एग्रिकल्चर डिपार्टमेन्ट अन्न र खेतीपातीको मामिलामा मात्रै फैसला गर्नका लागि जिम्मेवार निकाय हो । जामुनको रुख एक फलदिने रुख हो, अतः त्यो रुख हर्टिकल्चर डिपार्टमेन्टअन्तर्गत पर्छ ।

राति मालीले रुखले थिचिएका मानिसलाई दाल–भात खुवाए । जबकि मानिसहरुले कानूनलाई आफ्नो हातमा लिएर रुखलाई आफैं हटाउने कोशिस नगरोस् भनेर उसको चारैतिर पुलिसको पहरा थियो । तर एउटा पुलिस कन्स्टेबललाई दया लाग्यो र उसले मालीलाई रुखले थिचिएका मानिसलाई खाना खुवाउने अनुमति दिए ।

मालीले रुखले थिचिएका मानिसलाई भने, “तिम्रो फाइल अघि बढेको छ, आशा छ, भोलिसम्म फैसला हुनेछ ।”

थिचिएका मानिसले केही बोलेनन् ।

मालीले रुखको हाँगालाई ध्यानपूर्वक हेरेर भन्यो, “यो राम्रो भयो कि हाँगो तिम्रो काँधमा झर्‍यो । कम्मरमा परेको भए त तिम्रो ढाडको हड्डी भाँच्चिने थियो ।”

फेरि पनि दबिएका मानिसले केही बोलेनन् ।

मालीले फेरि भने, “तिम्रो यहाँ कोही वारिस छन् भने मलाई उसको थर–ठेगाना बताऊ । म उसलाई खबर गर्ने कोशिस गर्नेछु ।”

“म लावारिस हुँ !” थिचिएका मानिसले अति कठिनाइपूर्वक भने ।

माली खेद प्रकट गर्दै त्यहाँबाट गए ।

तेस्रो दिन हर्टिकल्चर डिपार्टमेन्टबाट जवाफ आयो । जवाफ अति कडा र व्यङ्ग्यपूर्ण थियो । 

हर्टिकल्चर डिपार्टमेन्टका सेक्रेटरी साहित्यप्रेमी थिए कि जस्तो लाग्थ्यो । उसले लेखेको थियो, “आश्चर्यको कुरा, यो समयमा जब हामी ‘रुख रोपौं’ अभियान युद्धस्तरमा चलाइरहेका छौं । हाम्रो देशमा यस्तो पनि सरकारी अफिसर रहेछन् । जसले रुख काट्ने सुझाव दिन्छ, त्यो पनि एउटा फलदिने रुखलाई, र त्यो पनि जामुनको रुखलाई, जसको फल जनताले अति स्वाद मानेर खाने गर्छन् । हाम्रो विभागले कुनै पनि हालतमा त्यस फलदार रुख काट्ने अनुमति दिन सक्दैन ।” 

“अब के गर्ने ?”, एउटा मनमौजीले भने, “रुख काट्न मिल्दैन भने यस मानिसलाई नै काटेर निकालौं न त ।”

“यता हेर्नोस् त,” त्यो मानिसले इशाराले बतायो, “हामीले यस मानिसलाई बीचबाट अर्थात् धडबाट काट्यौं भने आधा शरीर उताबाट आधा शरीर यताबाट बाहिर निस्कनेछ र रुख त्यहीँको त्यही रहनेछ ।”

“तर यो तरिकाले म त मर्छु’ थिचिएका मानिसले आपत्ति प्रकट गर्दै भने । 

“यिनले पनि ठीक भन्दैछन्,” एउटा क्लर्क बोल्यो ।

मानिसलाई काटेर बाहिर निकाल्ने उपाय प्रस्तुत गर्नेले भरपूर विरोध गर्यो, “तपाईंलाई थाहा छैन, आजभोलि प्लाष्टिक सर्जरीले कति उन्नति गरिसक्यो । म त के ठान्छु भने यो मानिसलाई बीचमा काटेर निकालियो भने प्लाष्टिक सर्जरीद्वारा यो मानिसलाई फेरि जोड्न सकिन्छ ।”

यस पटक फाइल मेडिकल डिपार्टमेन्टमा पठाइयो । मेडिकल डिपार्टमेन्टले तुरुन्तै एक्सन लियो र जुन दिन फाइल उसको विभागमा पुग्यो, त्यसको दोस्रो दिननै उसले आफ्नो विभागका सबैभन्दा योग्य प्लाष्टिक सर्जनलाई छानविनको लागि पठाइदियो । सर्जनले थिचिएका मानिसलाई राम्ररी छामछुम गरेर, उसको स्वास्थ्य हेरेर, रगतको दवाब हेर्यो, नाडीको गति जाँच्यो, मुटु र फोक्सोको जाँच गरेर रिपोर्ट पठाइदियो कि यो मानिसको प्लाष्टिक सर्जरी त हुन सक्छ र अपरेसन सफल पनि हुनेछ तर मानिस मर्नेछ । त्यसकारण त्यो फैसला पनि रद्द गरियो ।

राति मालीले थिचिएका मानिसको मुखमा खिचडी हालिदिँदै उसलाई बताए कि अब मामिला माथि पुगेको छ । सुनेको छु कि भोलि सचिवायलका सबै सेक्रेटरीहरुको मिटिङ हुनेछ । त्यसमा तिम्रो केस राखिनेछ । आशा छ, सबै काम ठीक हुनेछ । रुखले थिचिएका मानिसले सित्कार छाडे र विस्तारै भने–

‘यो त मान्छु कि तिमीले उपेक्षा गर्ने छैनौं

तर

तिमीसम्म खबर पुग्दा म त पूरै खरानी

भइसकेको हुनेछु ।’

–मिर्जा गालिबको शेर 
मालीले चकित बनेर मुखमा औंला दबाए र चकित भावले बोले, “के तिमी शायर हो ?” 
थिचिएका मानिसले विस्तारै आफ्नो टाउको हल्लाए । 
अर्को दिन मालीले कार्यालय सहायकलाई बताए, कार्यालय सहायकले क्लर्कलाई, क्लर्कले हेड क्लर्कलाई । केहीबेरमै सचिवालयमा यो हल्ला फैलियो कि रुखले किचिएका मानिस शायर हो । फेरि के थियो र ! थिचिएका मानिसलाई हेर्न हुलका हुल शायरहरु उर्लिए । त्यसको चर्चा शहरमा पनि फैलियो र बेलुकीसम्म गल्ली गल्लीमा शायरहरु जम्मा हुन थाले । सचिवालयको बगैंचा थरिथरिका कविहरुले भरिए र किचिएका मानिसको चारैतिर कवि सम्मेलनको जस्तै वातावरण उत्पन्न भयो । साहित्य र कवितामा लगाव भएका सचिवालयका कतिपय क्लर्क र अन्डर–सेक्रटरीसम्म त्यहाँ रोकिए । केही शायरहरु रुखले थिचिएका मानिसलाई आफ्नो कविता–मुक्तकहरु सुनाउन थाले । कतिपय क्लर्कहरु उसलाई आफ्ना कवितामाथि आलोचना गर्न बाध्य तुल्याउन थाले ।

जब थिचिएका मानिस एउटा कवि हो भन्ने थाहा लाग्यो । सचिवालयको सब–कमिटीले फैसला गर्‍यो– थिचिएका मानिस एक कवि हुन्, त्यसैले त्यो फाइलको सम्बन्ध न एग्रिकल्चर डिपार्टमेन्टसँग छ न हर्टिकल्चर डिपार्टमेन्टसँग, बरु यो कल्चरल डिपार्टमेन्टसँग मात्रै सम्बन्धित छ । कल्चर डिपार्टमेन्टलाई अनुरोध गरियो कि छिटोभन्दा छिटो यस मामिलाका बारेमा फैसला गरेर ती अभागी कविलाई त्यस फलदार रुखको थिचाइबाट छुटकारा दिलाइयोस् ।

फाइल कल्चरल डिपार्टमेन्टका अनेकौं विभागहरुबाट गुज्रँदै साहित्य एकेडेमीका सेक्रेटरीसमक्ष पुग्यो । विचरा सेक्रेटरी त्यही समय आफ्नो गाडी चढेर सेक्रेटरिएट पुगे र थिचिएका मानिससँग इन्टरभ्यू लिन थाले ।

“तपाईं कवि हो ?” उसले सोध्यो ।

“हजुर, हो ।” थिचिएका मानिसले जवाफ दिए ।

“कुन उपनामले शोभित हुनुहुन्छ ?”

“शीत ।”

“शीत ?” सेक्रेटरी ठूलो स्वरमा चिच्याए, “के तपाईं त्यही ‘शीत’ हो, जसको गद्य–सङ्ग्रह ‘शीतको फूल’  हालसालै प्रकाशित भएको छ ?”

थिचिएका कविले हुँकारसहित टाउको हल्लाए ।

“के तपाईं हाम्रो एकेडेमीका सदस्य हुनुहुन्छ ?” सेक्रेटरीले सोधे ।

“छैन !”

“अचम्मै,” सेक्रेटरी ठूलो स्वरले चिच्याए, “यति ठूला कवि, ‘शीतको फूल’का लेखक अनि हाम्रो एकेडेमीमा मेम्बर छैनन् १ धैत, हामीबाट कसरी भूल भयो, यति ठूला कवि अनि कसरी अँध्यारो बेनामीमा दबिएर रहेका छन् ।”

“बेनामीमा हैन, एउटा रुखको मुनि दबिएको छु, कृपया मलाई यो रुखको मुनिबाट निकाल्नुहोस् ।”

“अहिले व्यवस्था गरिहाल्छु ।” सेक्रेटरीले तुरुन्तै बोले र तुरुन्तै उसले आफ्नो विभागमा रिपोर्ट गरे ।

अर्को दिन सेक्रेटरी दौडँदै कविसमक्ष आए र भने, “बधाइ छ, मिठाइ खुवाउनुहोस् । हाम्रो सरकारी साहित्य एकेडेमीले तपाईंलाई आफ्नो केन्द्रीय शाखाको सदस्य छानेका छन्, ल लिनुहोस् यो मनोनयन पत्र ।”

“तर मलाई यो रुखमुनिबाट त निकाल्नोस् !” थिचिएका मानिसले पीडाले कराउँदै भने । उसको सास अति मुश्किलले चलिरहेको थियो र उसको आँखाबाट थाहा हुन्थ्यो कि उनी घोर पीडा र दुःखमा छन् ।

“यो हामी गर्न सक्दैनौं,” सेक्रेटरीले भने, “हामीले जे गर्न सक्थ्यौं, त्यो गरिदिएका छौं, बरु हामी योसम्म गर्न सक्छौं कि तपाईं मरिहाल्नुभयो भने तपाईंकी श्रीमतीलाई वृत्ति दिन सक्छौं, तपाईंले निवेदन दिनुभयो भने हामी त्यो पनि गर्न सक्छौं ।”

“अहिलेसम्म त म जीवितै छु !” कविले कन्दै भने, “मलाई जिउँदो त राख ।”

“समस्या छ,” सरकारी साहित्य एकेडेमीका सेक्रेटरीले हात मोल्दै भने, “हाम्रो विभाग कल्चरसँग मात्रै सम्बन्धित छ । रुख काट्ने मामिला कलम दबाउनेसँग हैन, आरा–बन्चरोसँग सम्बन्धित छ । त्यसको लागि हामीले फरेस्ट डिपार्टमेन्टलाई लेखेर दिएका छौं र अर्जेन्ट लेखेका छौं ।”

बेलुकी माली आएर थिचिएका मानिसलाई भने, “भोलि फरेस्ट डिपार्टमेन्टका मानिस आएर यस रुखलाई काटिदिनेछन् र तपाईंको ज्यान बच्नेछ ।”

माली अति खुसी थिए । थिचिएका मानिसको स्वास्थ्य बिग्रँदै गइरहेको थियो तर उनी कुनै न कुनै किसिमले आफ्नो जीवनका लागि लडिरहेका थिए । भोलिसम्म, भोलि बिहानसम्म...कुनै पनि तरिकाले उनलाई जीवित रहनु छ । 

अर्को दिन जब फरेस्ट डिपार्टमेन्टका मानिसहरु आरा–बन्चरो लिएर पुगे, उनीहरुलाई रुख काट्न दिइएन । थाहा भयो कि विदेश विभागबाट हुकुम आएको छ कि यस रुखलाई नकाटियोस् । कारण यो थियो कि यो रुखलाई दश साल पहिले पीटोनिया राज्यका प्रधानमन्त्रीले सचिवालयको बगैंचामा रोपेका थिए । अब यसरी रुख काटियो भने त धेरै सम्भावना थियो– पीटोनिया सरकारसँग हाम्रो सम्बन्ध सधैंको लागि बिग्रनेछ ।

“तर एउटा मानिसको जीवनको प्रश्न छ,” एउटा क्लर्क चिच्याए । 

“अर्कोतिर दुई राज्यबीचको सम्बन्धको सवाल छ,” अर्को क्लर्कले पहिलो क्लर्कलाई सम्झाए, “र यो पनि याद गर्नोस् कि पीटोनिया सरकारले हाम्रो राज्यलाई कति सहायता दिन्छ– के हामी उनको मित्रताका लागि एउटा मानिसको जीवनलाई बलिदान गर्न सक्दैनौं ?”

“कवि मर्नुपर्छ ।”

“निःस्सन्देह !”

अन्डर सेक्रेटरीले सुपरिटेन्डेन्टलाई बताए, “आज बिहान प्रधानमन्त्री भ्रमणबाट फर्किएका छन् । आज चार बजे विदेश विभागले यस रुखको फाइललाई उनीसमक्ष पेश गर्नेछन् । उनले जे फैसला दिनेछन्, त्यही सबैका लागि स्वीकार्य हुनेछ ।”

बेलुकी पाँच बजे सुपरिटेन्डेन्ट आफैं कविको फाइल लिएर उनीसमक्ष आए, “सुन्नोस् त !” आउनेबित्तिकै उनी खुसीले फाइल हल्लाउँदै चिच्याए, “प्रधानमन्त्रीले यस रुखलाई काट्ने आदेश दिएका छन्, र यस घटनाबाट आइलाग्ने  सारा अन्तर्राष्ट्रिय परिस्थितिको जिम्मेवारी आफूले लिएका छन् । भोलि यो रुख काटिनेछ र तपाई्रले यो संकटबाट छुटकारा हासिल गर्नुहुनेछ । सुन्दै हुनुहुन्छ ? आज तपाईँको फाइल पूरा भयो ।”

तर कविको हात चिसो थियो, आँखाका पुतलीहरु निर्जीव र कमिलाहरुको एउटा लामो पंक्ति उनको मुखमा गइरहेको थियो । उसको जीवनको फाइल पनि पूरा भइसकेको थियो ।

– कृश्नचन्दर, “जामुन के पेड” को नेपाली रुपान्तर । अनुवादः चन्द्र खाकी, सहयोगः केदार सिटौला । 
 

प्रतिक्रिया दिनुहोस