aarthiknews.com सोमबार, २३ साउन २०७९   Monday, 08 August, 2022
 
British College
Blue Diamond

निर्वाचनप्रति सर्वसाधरणको चासो बढ्दो, यी स्थानबाट पाइन्छ मतदाता नामावली भर्न र सच्याउन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० असार २०७९
nepalmegaschool
LBF

काठमाडौं । निर्वाचन आयोगले असार १ देखि फोटोसहितको मतदाता नामावली संकलन गरिरहेको छ । आयोगले १८ वर्ष उमेर पूरा भएर पनि मतदाता नामावलीमा नाम नभएकाहरुको फोटोसहितको नामावली संकलन शुरु गरेको हो ।

निर्वाचन कार्यालय अनामनगमा पनि कार्यालय समयको बेला बिहानैदेखि लामो लाइन देख्न सकिन्छ । यस कार्यालयमा नयाँ मतदाता नामावली दर्ता गराउने तथा पुराना नामावलीमा भएको त्रुटि पनि सच्याउन विभिन्न जिल्लामा घर भइ हाल काठमाडौं बस्दै आएकाहरुपुगेका हुन् । 

मतदाता नामावली बनाउनेहरुको लाइन हेर्दानिर्वाचनप्रति सर्वसाधरणको चासो बढ्दो रहेको देखिन्छ । धोबीखोला किनारको सडकदेखि निर्वाचन कार्यालयसम्म युवादेखि वृद्ध उमेरसम्मका महिला पुरुषहरु लाइनमा आफ्नो पालो पर्खेर बसेका छन् । उनीहरु मतदाता नामावलीमा नाम लेखाउन आफ्नो पालो पर्खिरहेका छन् ।सोहि कार्यालयबाहिर भेटिए बर्दिबास नगरपालिका वडा नं. ३ घर भई हाल काठमाडौंको स्वयम्भु बस्ने अर्जुन ढुंगेल । उनी पनि एक जिल्लाबाट अर्को जिल्लामा मतदाता नामावली सार्नका लागि पुगेका हुन् । 

ढुंगेल भन्छन्, ‘म यहाँ एक ठाउँबाट अर्को ठाउँमा आफ्नो मतदाता नामावली सार्नका लागि आएको हो । यहाँ लाइन एकदमै धेरै रहेको छ । तर, सच्याउनका लागि लाइन बस्नु नपर्ने रहेछ । नयाँ बनाउनका लागि मात्रै लाइन बस्नु पर्ने रहेछ ।’

त्यस्तै, उनले कर्मचारी कम भएका कारण सेवा प्रवाह ढिला हुनुको साथै सोधिएको प्रश्नको स्पष्ट जवाफ नपाएको समेत गुनासो गरे । ‘यहाँ कर्मचारी कम हुनुहुँदो रहेछ । सोधका कुराहरु भन्नलाई नै गाह्र्रो मान्नु हुने रहेछ । यसो हुँदा ग्राहकले सोधेका कुरा पनि स्पष्ट जवाफ पाउँदैनन् । काम गर्न पनि ढिला भएको देखियो’ ढुंगेलले भने, ‘कर्मचारी थप गरेर सोधिएका कुराहरु राम्रोसंग बुझाइदिनु भएदेखि एकदमै राम्रो हुने थियो । लाइनलाई व्यवस्थित पार्न समेत आवश्यक देखियो ।’

अहिले काठमाडौंका चार ठाउँबाट मतदाता नामावली संकलन भइरहेको छ ।जिल्ला निर्वाचन कार्यालय अनामनगर लगायतको चार ठाउँबाट फोटोसहितको मतदाता नामावली संकलन भइरहेको सोहि कार्यालयकी कर्मचारी समिता बस्नेत बताउँछिन् । उनी भन्छिन्, ‘काठमाडौं बाहिरका जिल्लाहरुका मतदाताहरुको लागि हामीले अनामनगर कार्यालयबाट सेवा दिइरहेका छौंं । काठमाडौंका बासिन्दाको लागि चाँही जिल्ला प्रशासन कार्यालय काठमाडौं, समन्वय समितको कार्यालय, इलाका प्रशासन कार्यालय फार्पिङ र साँखुबाट काम भइरहेको छ ।’ 

निर्वाचन कार्यालय अनामनगरमा धेरैजसो नयाँ दर्ता र ठाउँ सार्नका लागि काठमाडौं बाहिरका बासिन्दाहरु आउने गरेको उनले जानकारी दिईन् । ‘धेरैजसो नयाँ दर्ताको लागि आउनु भएको छ । यससंगै ठाउँ सारिको कामको लागि आउनु भएको छ । जिल्ला बाहिरकाहरुको काम हामीले अहिले यहाँबाट गरिरहेका छौं । यहाँ सकिएपछि सम्बन्धित जिल्लामा हामीले डाटा पाठइदिन्छौं’, उनले अगाडी भनिन्, ‘अहिले हामीले यहाँबाट दैनिक तीन चार सयको हाराहारीमा सेवा दिइरहेका छौं । काठमाडौं जिल्ला भित्रको सबैतिरबाट जम्मा हजार जनाको हाराहारीमा सेवा लिइरहेका छन् ।’
 

प्रतिक्रिया दिनुहोस