aarthiknews.com शुक्रबार, १९ जेठ २०८०   Friday, 02 June, 2023
 

‘क्षमता भएर पनि धेरै युवालाई स्वरोजगार बनाउन सकेनौं’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ असार २०७९
‘क्षमता भएर पनि धेरै युवालाई स्वरोजगार बनाउन सकेनौं’
NIBL

काठमाडौं । सरकारले २०६५ सालमा युवा तथा साना व्यवसायी स्वरोजगार कोष स्थापना गर्यो । जसको एउटै उद्देश्य थियो युवाहरुलाई स्वरोजगार बनाउने । त्यसताका मुलुकमा बेरोजगारको समस्या निकै रहेको थियो । धेरै युवाहरु कामको खोजीमा देशबाट बाहिर जान थाले । देशका युनिभर्ससिटीहरुले युवा बेरोजरगार स्थापना गर्न थाले । त्यही विषम परिस्थितिमा सरकारले यो कोष स्थापना गरेको हो । 

यसले युवाहरुलाई देशमै रहेर खानी र स्रोत साधनहरुको प्रयोग गरी उत्पादनमा युवाहरुको सहभागिता बढाउने गरेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी बताउँछन् । उनी भन्छन्, ‘यस कोषले पहिलो काम देशभरि रोजगारी सिर्जना गर्ने हो । युवा स्वरोजगार कोषको १३ वर्षे कार्यकालमा २०७८ चैतसम्म करिब ८४ हजार उद्यमी तथा बेरोजगारहरुलाई व्यवसायी बनाएका छौै । त्यतिमात्रै होइन सोही संख्याको हाराहारीका रोजगारी पनि दिएका छौ ।’   

कोषको रकम सही ठाउँमा सदुपयोग भएन भन्ने प्रश्नमा कार्यकारी निर्देशक अधिकारी सहमत छैनन् । ‘म कार्यकारी निर्देशक भएको हैसियतले यस बारे सहमत छैन । भर्खरै मात्र सरकारले युवा स्वरोजगारको बारेमा महालेखा परिक्षकबाट अडिट भएको छ । अडिट गर्ने क्रममा हाम्रो निष्क्रिय ऋण ५ प्रतिशत भन्दा कम छ । यसले के देखाउँछ भने यो संस्थाको प्रस्तुती राम्रो छैन भन्न मिल्दैन’, उनले अगाडी थपे ‘अहिलेसम्म हामीले ११ अर्ब रुपैयाँ लगानी गरेका छौं । जुन लगानीमध्ये ३९ करोड रुपैयाँ मात्रै असुली हुन बाँकी छ । यो पनि असुली गर्ने प्रयासमा छौं ।’ 

सरकारले स्रोत र साधनको व्यवस्थापन नगरिदिँदा क्षमता भएर पनि युवाहरुलाई स्वरोजगार बनाउन नसकिएको बताउँदै कार्यकारी निर्देशक अधिकारीले भने, ‘गत आर्थिक वर्षमा हामीले १२ हजार युवालाई स्वरोजगार बनायौं । नेपाल सरकारले स्रोत र साधनको व्यवस्थापन गरिदिने हो भने हामीले यो संख्या मात्रै होइन वर्षमा १ लाख २० हजारलाई पनि स्वरोजगार बनाउँन सक्छौं ।’

कोष स्थापना हुँदा ३ अर्ब ८२ करोड रुपैयाँ रकम कोषले पाएको थियो । सोही रकमलाई परिचालन गर्दै १३ वर्षको अवधिमा कोषले १३ अर्ब रुपैयाँ पुर्याएको छ । केही नभएका युवा जो उद्यमी बन्न चाहन्छ उसलाई कोषले २ लाख रुपैयाँ ऋण दिने गरेको छ । तर यो रकम पर्याप्त नभएको कार्यकारी निर्देशक अधिकारीको भनाई छ । 

विभिन्न नीजि क्षेत्रले पनि युवा स्वरोजगारका लागि काम गरेको पाइन्छ । यसरी नीजि क्षेत्र र सरकार सबैले आ–आफ्नो तरिकाले काम गर्दा कसैले दोहोरो सुविधा लिने गरेका छन् भने कोही एउटा सुविधाको पनि पहुँचमा छैनन् । यसो हुँदा एउटै प्रकृतिको काम पर्ने क्षेत्र छरिएको जस्तो देखिएको छ । एउटै प्रकृतिका काम गर्ने नीजि क्षेत्र र सरकार मिलेर एकद्धार प्रणाली लागु गर्न आवश्यक रहेको उनले बताए । 

स्रोत र साधनको अभावकै कारण वर्षेनी १२ हजार भन्दा बढि युवालाई स्वरोजगार बनाउन नसकिएको अधिकारीले बताए । उनले भने, ‘युवा स्वरोजगार कोषलाई आन्तरिक तथा बाह्य दुवै चुनौती छन् । देशभर सबै जिल्लामा यसको कार्यालय नहुँदा काम गर्न समेत समस्या छ । त्यससँगै हामीले र बाह्य क्षेत्रले गर्ने काम जुझ्ने सम्भावना बढि हुने गरेको छ । हामीले लगानी गर्न सक्ने क्षमता भएर पनि रकम अभावले लगानी गर्न सकेका छैनौं । सबैभन्दा ठुलो चुनौती स्रोत र साधनको रहेको छ ।’

उनका अनुसार नेपाली श्रम बजारमा करिब ५ लाख युवाहरु आउँछन् । त्यसमध्ये पनि ५० प्रतिशत युवाहरु स्वरोजगार कोषबाट नै ऋण लिएर स्वरोजगार बन्ने चाहना राख्छन् । ती सबैलाई कोषले सम्बोधन गर्न सक्दैन । हाम्रो बाध्यता १२ हजारलाई मात्रै स्वरोजगार बनाउनुपर्ने हुन्छ । जसले गर्दा स्वरोजगार कोषले आफ्ना मान्छेलाई मात्रै समेट्छ भन्ने गलत सन्देश बजारमा फैलिएको पाइन्छ । 
 

प्रतिक्रिया दिनुहोस