
काठमाडौं । मेगा म्युचुअल फण्ड अन्तर्गत संचालित मेगा म्युचुअल फण्ड १ को नोक्सानी वैशाख मसान्तसम्मको तुलनामा जेठ महिनामा बढेको छ । वैशाख मसान्तसम्म रू. ६ करोड ८९ लाखभन्दा बढी नोक्सानीमा रहेको योजनाले जेठ मसान्तसम्म रू. १९ करोड ३८ लाखभन्दा बढी नोक्सानी व्यहोरेको हो ।
जेठ महिनामा योजनाको खर्च बढी भएकाले पनि नोक्सानी बढेको देखिन्छ । वैशाख मसान्तसम्म रू. २ करोड ११ लाख खर्च गरेको योजनाले जेठ मसान्तसम्म रू. २ करोड ४५ लाखभन्दा बढी खर्च गरेको हो ।
१० वर्षे अवधिको बन्दमूखी प्रकृतिको यस योजना २०७८ साल भदौ २३ गतेदेखि संचालन हुँदै आएको छ । योजनाले १२ करोड ५० लाख इकाई जारी गरेको थियो । जेठ मसान्तसम्म योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य रू. ८ दशमलव ४५ रहेको छ । वैशाख मसान्तसम्म यो मूल्य रू. ९ दशमलव ४३ रहेको थियो ।
धितोपत्र बजारमा लगानी गर्ने मुख्य उदेश्य सहित संचालित यस योजनाले जेठ मसान्तसम्म धितोपत्र दलाल कमिसन सहित रू. १ अर्ब ५६ करोडभन्दा बढी धितोपत्रमा लगानी गरेको छ । योजनाले गरेको लगानीको बजारमूल्य भने रू. ८३ करोड ७९ लाखभन्दा बढी रहेको छ । यस अवधिसम्म योजनाको बैंक मुद्दती निक्षेपमा रू. १२ करोड ५० लाख लगानी रहेको छ ।
प्रतिक्रिया दिनुहोस