
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयरसहित २१ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले राजस्व हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार नदीजन्य वस्तुबाट प्राप्त राजस्व हिनामिनामा संलग्न भएको आरोपमा रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपाल राय यादव र तत्कालीन उपमेयर कान्ती देवीसहित २१ जनाविरुद्ध करिब साढे १ करोड रुपैयाँ बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको छ । रौतहटको गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिकाको लाल बकैया नदीबाट प्राप्त ढुंगा, गिटीरबालुवालगायत वस्तुबाट प्राप्त राजस्व हिनामिना गरेको आरोपमा अख्तियारले आइतबार मेयर यादव, तत्कालीन उपमेयर कान्तीदेवी र प्रमुख प्रशासकीय अधिकृतसहित २१ विरुद्ध १ करोड ५३ लाख ५० हजार १ सय ९९ रुपैयाँ बिगो कायम गरी विशेषमा मुद्दा दायर गरेको हो ।
फतुवा विजयपुर नगरपालिकाका तत्कालीन र हालका प्रमुख रहेका मेयर यादवसहित तत्कालीन उपप्रमुख कान्ती देवी, वडा नं। १ का तत्कालीन वडाध्यक्ष सञ्जय प्रसाद, २ नम्बर वडाका तत्कालीन वडाध्यक्ष भविछन राय यादव, वडा नं ३ का तत्कालीन वडाध्यक्ष दीपनारायण साह, वडा नम्बर ५ का तत्कालीन र हालका वडाध्यक्ष शेख एजाज अहमद, ६ का तत्कालीन वडाध्यक्ष हिरा राय यादव, ८ का तत्कालीन वडाध्यक्ष एवं हाल नगर कार्यपालिका सदस्य उमाशंकर साह कलवार, ९ का तत्कालीन वडाध्यक्ष दीपनारायण चौधरीविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । त्यस्तै, वडा नं. १० का तत्कालीन अध्यक्ष योगेन्द्रप्रसाद चौधरी, वडा नं। ११ का तत्कालीन र हालका अध्यक्ष ज्ञानेन्द्र चौधरी, तत्कालीन नगर कार्यपालिका सदस्य लक्ष्मण साह कानु, सुन्दरी माझी, तत्कालीन सदस्य र हाल वडा नं। ७ का वडा सदस्य जिरनी देवी, तत्कालीन नगर कार्यपालिका सदस्य फुलकुमारी देवी, सञ्जुदेवी जयसवाल, शशीकुमार साह र रवीन्द्रकुमार निधिविरुद्ध पनि मुद्दा दायर भएको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस