aarthiknews.com शनिबार, २८ साउन २०७९   Saturday, 13 August, 2022
 
British College
Blue Diamond

मन्त्रीको कारणले एकिकृत समाजवादी पार्टी नै धरापमा

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • शनिबार, ११ असार २०७९
nepalmegaschool
मन्त्रीको कारणले एकिकृत समाजवादी पार्टी नै धरापमा
LBF

काठमाडौं । फिर्ता बोलाउने पार्टीको निर्णयविरुद्ध उभिएका एकीकृत समाजवादीका मन्त्रीहरूले संसदीय दलको बैठक बोलाउन माग गरेका छन्। मन्त्री फेर्ने पार्टी निर्णयविरुद्ध खुलेआम उत्रिएका उनीहरूले नेतृत्वसँग उल्टै दलको बैठक माग गरेका हुन। 

पार्टीले आफूहरूमाथि अपराधीको जस्तो व्यवहार गरेको र नयाँ मन्त्रीको नाम सन्तुलित नभएको भन्दै उनीहरूले आठबुँदे ध्यानाकर्षण पत्र पार्टीमा पेस गरेका छन्। पर्यटनमन्त्री प्रेम आले, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्यमन्त्री विरोध खतिवडाले लिखित ध्यानाकर्षण गरेका हुन्। ध्यानाकर्षण पत्रमा उनीहरूले ६ जना अन्य सांसदको पनि हस्ताक्षर संकलन गरेका छन। पार्टी निर्णयको विरोधमा मन्त्रीहरू खुलेआम उत्रेपछि एकीकृत समाजवादीमा लफडा मच्चिएको छ। एकीकृत समाजवादीका मन्त्रीहरूले पद जोगाउन प्रधानमन्त्री शेरबहादुर देउवादेखि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसम्म गुहारेका छन्। उनीहरूले मन्त्री फेर्ने निर्णयमा पुनर्विचारका लागि पार्टी अध्यक्ष माधव नेपाललाई ‘दबाब’ दिन प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग आग्रह गरेका छन्। 

यता अध्यक्ष नेपालले भने पार्टी निर्णय कार्यान्वयन गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन्। शुक्रबारबाट सुरु भएको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले पार्टीले गरेको निर्णयमा तलमाथि नहुने भन्दै कार्यान्वयनका पक्षमा उभिन मन्त्रीहरूलाई निर्देशन दिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। 

प्रतिनिधिसभामा २४ जना सांसद रहेको समाजवादी पार्टीमा १० जना सांसदहरूले छुट्टै हस्ताक्षर चलाए। मन्त्रीहरूसँगै कृष्णलाल महर्जन, गोपालबहादुर बम, वीनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र नीरा जैरुले पनि हस्ताक्षर गरेका छन्। ‘असन्तुष्टि भए पार्टीमा कुरा राख्न पाइन्छ। तर यसरी हस्ताक्षर नै संकलन गरेर दबाब दिने कुरा अराजकता हो,’ पार्टीका एक पदाधिकारीले भने, ‘भोलि (शनिबार) सम्म पर्खिन्छौ। नभए पार्टीले कडाखाले निर्णय गर्छ होला।’ तर कडा निर्णय के–कस्तो हुने भन्ने उनले खुलाउन चाहेनन्।

श्रममन्त्री श्रेष्ठले मन्त्री हेरफेरको बहानामा पार्टीले गलत तरिका अपनाएको गुनासो गरे। ‘बजेट पास भएपछि छोड्छौैं भन्दा पनि पार्टीले कुरा सुनेन,’ उनले भने, ‘हामीमाथि त अपराधीलाई जस्तो व्यवहार गरियो।’ एकीकृत समाजवादीका सचिव मेटमणि चौधरीले पार्टीले सिफारिस गरेको निर्णय कार्यान्वयनमा माओवादी अध्यक्ष प्रचण्डले चलखेल गरेको आरोप लगाए। ‘सत्ता गठबन्धनको एउटा प्रमुख दलको सिफारिस कार्यान्वयन हुँदैन भने गठबन्धनमा बस्नुको औचित्य किन त ?’ चौधरीले प्रतिप्रश्न गरे, ‘प्रचण्डजीले आफ्नो पार्टीमा पहिरो जाने डरले प्रधानमन्त्रीलाई प्रभावित पार्नु भएको छ। पार्टीका साथीहरूमा पनि  नैतिकता देखिएन।’ 

६ महिनाका लागि मन्त्री बनेका नेताहरूले ९ महिना बिताइसक्दा पनि पार्टीको निर्णय कार्यान्वयन गर्न नचाहनु विडम्बना भएको बताए। ‘नैतिकता भए राजीनामा दिनुपथ्र्यो,’ उनले भने, ‘उल्टै कुन नैतिकताले आठबुँदे ध्यानाकर्षण बुझाउनुभयो त।’  प्रमुख सचेतक जीवनराम श्रेष्ठले मन्त्री फेरबदलबारेको निर्णय छिट्टै कार्यान्वयन हुने बताए। मन्त्री हेरफेरको निर्णय प्रक्रियामा स्वास्थ्यमन्त्री खतिवडा र सहरीमन्त्री झाँक्री पनि सहभागी भएको उनले बताए। 

पार्टी उपाध्यक्ष एवं बाग्मतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्री फिर्ता बोलाउने निर्णय केही हतारमा भएको बताए।  ‘फेरबदलको अन्तिम निर्णय शनिबार साँझसम्ममा हुन्छ। अहिलेका साथीहरू जान्छन्। नयाँ साथीहरू आउनुहुन्छ,’ पाण्डेले भने।

प्रतिक्रिया दिनुहोस