aarthiknews.com मंगलबार, २१ असार २०७९   Tuesday, 05 July, 2022
 
Blue Diamond

व्यापार घाटा चुलिएको बेला यार्सागुम्बाको निर्यातमा समेत कमी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ असार २०७९
nabil bank
व्यापार घाटा चुलिएको बेला यार्सागुम्बाको निर्यातमा समेत कमी
Global IME
LBF

काठमाडौं । नेपालबाट निर्यात हुने बहुमुल्य जडिबुटी यार्सागुम्बाको निर्यातमा समेत कमी आएको छ । गत वर्षको तुलनामा केही बढी यार्सागुम्बा यो आर्थिक वर्षमा निर्यात भएको देखिएपनि आव २०७१/७२ को तुलनामा यार्सागुम्बाको निर्यातमा उल्लेखनीय ह्रास आएको देखिएको हो ।  

अघिल्लो आर्थिक वर्षमा नेपालबाट विभिन्न मुलुकहरुमा जम्मा २५५ केजी यार्सागुम्बा निर्यात भएको थियो । तर, यस वर्ष व्यापार घाटा चुलिएको बेला यार्सागुम्बाको निर्यात घट्दो अवस्थामा देखिन्छ । कुनैबेला नेपालको पूर्वी पहाडमा स्थानीयहरुको आर्थिक जीवनमा नै उथलपुथल ल्याउने अलैचींको भन्दा पश्चिमी हिमालमा पाइने यार्सागुम्बाको निर्यातबाट मुलुकले बढी आम्दानी गर्ने गथ्र्यो ।  

तर, अहिले यार्सागुम्बाको निर्यातमा समेत कमी आउँदा पश्चिमको उच्च पहाडी क्षेत्रका मानिसहरुको आर्थिक अवस्थामा यार्सागुम्बाले भरथेग नगरेको देखिएको हो । नेपाल राष्ट्र बैंकले विक्रम संवत २०७२ सालमा पश्चिम पहाडका ११ जिल्लामा गरेको आर्थिक प्रभाव अध्ययनमा आशालाग्दो स्थिति देखाएको थियो ।     

उक्त रिपोर्टमा भनिएको छ– यार्सागुम्बाको संकलनका लागि अधिक सम्भावना रहेका हिमाली तथा उच्च पहाडी जिल्लाका वासिन्दाको सामाजिक–आर्थिक क्रियाकलाप अभिवृद्धिसँगै राष्ट्रिय अर्थतन्त्रलाई नै चलायमान हुन सहयोग पुगेको छ ।  

रिपोर्ट अनुसार आर्थिक वर्ष २०७०/७१ मा नेपालका एघार जिल्लाहरुमा ४ अर्ब ९२ करोडको यार्सागुम्बा संकलन गरिएको अनुमान गरिएको थियो । जुन पूर्वी नेपालमा उत्पादन हुने अलैंचीको सोही वर्षमा भएको ४ अर्ब २६ करोड रुपैयाँ बराबरको निर्यातको तुलनामा समेत बढी हो ।

तर, अहिले स्थिति त्यस्तो छैन । चालु आर्थिक वर्षको ११ महिनासम्ममा २९ करोड रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि जेठ मसान्तसम्म नेपालबाट २९ करोड ६७ लाख ४९ हजार रुपैयाँ बराबरको ४७६ केजी यार्सागुम्बा निर्यात भएको हो ।   

विभागका अनुसार यस अवधिमा नेपालबाट कम्बोडियामा २० करोड २ लाख ४६ हजार रुपैयाँको ३०५ केजी यार्सगुम्बा निर्यात भएको छ । त्यस्तै, फ्रान्समा ६२ लाख २१ हजार रुपैयाँ बराबरको ११ केजी, हङकङमा ३ करोड ९३ लाख ६५ हजार रुपैयाँ बराबरको ६८ केजी र कोरियामा ६६ लाख ८४ हजार रुपैयाँ बराबरको १० केजी यार्सागुम्बा निर्यात भएको तथ्यांकमा उल्लेख छ । 

त्यस्तै, रसियामा ६ लाख ५६ हजार रुपैयाँ बराबरको १ केजी, सिंगापुरमा ८० लाख ५३ हजार रुपैयाँको ८ केजी, थाइल्याण्डमा २४ हजार रुपैयाँ बराबरको, युक्रेनमा १ लाख ९३ हजार रुपैयाँ बराबरको १० हजार ८९८ केजी, अमेरिकामा ५९ लाख ८६ हजार रुपैयाँ बराबरको १० केजी, बेलायतमा ५९ लाख ८६ हजार रुपैयाँ बराबरको १० केजी, अमेरिकामा ४ लाख २१ हजार रुपैयाँ बराबरको १ केजी र भियतनाममा २ करोड ८९ लाख रुपैयाँ बराबरको ६१ केजी यार्सागुम्बा निर्यात भएको हो ।  

एघार महिनामा १ अर्ब बढीको जडिबुटीजन्य बिरुवाको निर्यात 
विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको एघार महिनामा १ अर्ब रुपैयाँ बराबरको औषधिजन्य बिरुवाहरुको निर्यात भएको छ । यस अवधिमा १ अर्ब ३१ करोड ७८ लाख ८९ हजार रुपैयाँ बराबरको ६० लाख ६१ हजार ६३५ केजी औषधिजन्य विरुवाहरुको निर्यात भएको हो ।

यस अवधिमा बंगलादेशमा १ करोड ६३ लाख ९२ हजार रुपैयाँ बराबरको १ लाख ९१ हजार १ सय केजी औषधिजन्य विरुवाको निर्यात भएको छ । त्यस्तै, चीनमा ७ करोड २ लाख ३२ हजार रुपैयाँ ५३ लाख ३५ हजार केजी, फ्रान्समा २ करोड ७९ लाख ३४ हजार रुपैयाँ बराबरको १४ हजार ३६४ केजी, जर्मनीमा ५ करोड ८४ लाख ८२ हजार रुपैयाँ बराबरको २९ हजार ९४० केजी, हङकङमा १ करोड १९ लाख ५२ हजार रुपैयाँको ८३ हजार २८ केजी र भारतमा ९१ करोड ९३ लाख ५५ हजार रुपैयाँको ४० लाख ४४ हजार ४९७ केज औषधिजन्य विरुवाको निर्यात भएको छ । 

त्यस्तै, इटालीमा ७ लाख ४ हजार रुपैयाँ बराबरको ५०० केजी, जापानमा १ करोड ९० लाख ८ हजार रुपैयाँ बराबरको ७ हजार ४३० केजी, कोरियामा ९७ हजार रुपैयाँ बराबरको १०० केजी, लाओ पिपुल्स डेमोक्रेटिक रिपब्लिकमा ३० लाख २८ हजार रुपैयाँको ५६ हजार केजी, म्यान्मारमा ४ करोड ५७ लाख १५ हजार रुपैयाँ बराबरको ७ लाख केजी, पाकिस्तानमा ७३ लाख ३९ हजार रुपैयाँ बराबरको ६० हजार ५७० केजी, र स्पेनमा ४२ लाख १९ हजार रुपैयाँ बराबरको २ हजार १४५ हजार केजी औषधिजन्य विरुवा निर्यात भएको तथ्यांकमा उल्लेख छ ।   

विभागको तथ्यांक अनुसार स्विजरल्याण्डमा १० लाख ३६ हजार रुपैयाँ बराबरको २८० केजी, ताइवानमा ५ करोड ५१ लाख ६४ हजार रुपैयाँ बराबरको ३ हजार केजी, युक्रेन २ लाख ८१ हजार रुपैयाँ बराबरको १०० केजी, युनाइटेड अरबमा ३ करोड ८५ लाख ७० रुपैयाँको १ लाख १७ हजार केजी, अमेरिकामा २ लाख ९३ हजार रुपैयाँ बराबरको १४० केजी र भियतनाममा ३ करोड ८० लाख ८८ हजार रुपैयाँ बराबरको २१ लाख ७८ हजार ८९ केजी औषधिजन्य विरुवा निर्यात भएको छ । 

प्रतिक्रिया दिनुहोस