सेवोनको बेवास्ताले शेयर बजारमा साताभर निराशा - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

सेवोनको बेवास्ताले शेयर बजारमा साताभर निराशा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २५ साउन २०७६
Sunrise bank
सेवोनको बेवास्ताले शेयर बजारमा साताभर निराशा
LBEF
NCH-IPS

काठमाडौं । लगानीकर्ताका लागि यो साता पनि निराशाजनक नै रह्यो। नेपाल राष्ट्र बैंकको नयाँ निर्देशन र पूँजीगत लाभकरको विवादका कारण यो साता सेयर बजार मापक नेप्से परिसूचक र कारोबार दुबै घटेको छ ।

साताको शुरुवातमै पूँजीगत लाभकर नसुल्झिदा लगानीकर्ता तनाबमा थिए भने केन्द्रीय बैकले दिएको निर्देशनले साताको अन्तिममा दबाब परेको छ । साताको मध्यतिर अर्थ मन्त्रालयले पूँजीगत लाभकरको विषय टुंग्याउन नियामक निकाय नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएपछि लगानीकर्तामा उत्साह छाएको थियो ।

तर, धितोपत्र बोर्डले पनि यसलाई टुंगोमा पुर्याउन सकेको छैन । यसैले कतिपय लगानीकर्ताहरु सेवोनको बेवास्ताको कारण शेयर बजारले गतिलिन नसकेको गुनासो गर्न थालेका छन् ।  राष्ट्र बैंक र अर्थ मन्त्रालय शेयर बजारप्रति निर्मम बनेपनि यसको रक्षार्थ सेवोन सक्रिय बन्नुपर्ने उनीहरुको माग छ । आखिर केन्द्रिय बैकले गएको सोमबार स्प्रेडदरको गणना विधि परिमार्जन गर्दै त्यसमा सरकारी सुरक्षणबाट प्राप्त आम्दानीलाई नजोड्ने व्यवस्था गरेपछि बैंकहरूको नाफा २५ प्रतिशतभन्दा बढीले घट्ने अनुमानसँगै लगानीकर्ताको मनोबल खस्किएको हो।

स्प्रेड गणनाको सूत्र परिवर्तन गर्दा बैंकहरुको नाफा २५ प्रतिशतसम्मले घट्ने अनुमान गरिएको छ । पुँजीकोष अनुपात बढाउने व्यवस्थाले पनि लगानी खुम्चिने भएकाले  बैंक तथा वित्तीय संस्थाको वर्चस्व रहेको सेयर बजार प्रभावित बनाएको कतिपयले विश्लेषण गरेका छन् । साथै, भारित औसत लागत विधिबाट पुँजीगत लाभकर गणनामा निकालिएको अन्यौलता  समाधान भई नसकेकाले पनि लगानीकर्ता उत्साहित हुन सकेका छैनन् ।

अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई यो समस्या समाधान गर्न निर्देशन दिइसकेको हुँदा लगानीकर्ता आशावादी हुने ठाउँ बाँकी रहेको छ । तुलनात्मक रुपमा मूल्य कम भएकाले यतिबेला सेयर किन्ने लगानीकर्तालाई जोखिम भने छैन । सूचीकृत कम्पनीहरुले नाफा बृद्धि गरेकै छन् । अब केही समयपछि लाभांश घोषणा गर्ने क्रम सुरु हुँदा यतिबेला सेयर किन्नेले छोटो समयमै लाभांशको हकदार हुन सक्नेमा शंका छैन ।

कस्तो रह्यो यो साता बजार 

समग्रमा यो साताको सेयर बजार २५.२८ अंकले गिरावट आएर १२३८ को विन्दुमा आएर अडिएको छ । अघिल्लो साताको अन्तिम दिन बिहीबार १२६३.८४ अंकबाट सुरु भएको बजार साताको अन्तिम दिन १२३८.५६ अंकमा ओर्लिएको हो ।
साताको अन्तिम दिनको सेयर बजार पनि दोहोरो अंकले ओरालो लागेरै बन्द भएको सेयर बजारले १२ सयको विन्दु पछ्याउँदै लगानीकर्तालाई निराश बनाउँदै बन्द भएको हो । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबारको सेयर बजार ९.९२ अङ्कले ओरालो लागेर १२३८.५६ अङ्कमा पुगेर अडिएको छ । त्यसैगरी, क वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि १.९६ अङ्कले ओरालो लागेर २६८.०० अङ्कमा पुगेको छ । समग्रमा अन्तिम दिनको नेप्से ०.७९ प्रतिशतले ओरालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ०.७२ प्रतिशतले ओरालो लागेको छ ।

पाँच कारोबार दिनमध्ये चारै दिन घटिरहेको बजारमा बुधवार भने सामान्य सुधार आएको थियो । तथापि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा ओरालो लागेको थियो । नेप्सेका अनुसार बुधवारको नेप्से परिसूचक २.७५ अङ्कले बढेर एक हजार २४८.४८ मा पुगेको थियो । यस्तै, सेन्सेटिभ परिसूचकसमेत ०.८६ अङ्कले बढेर २६९.९६ मा पुगेको थियो ।

साताको तेस्रो दिन पनि सेयर बजार झण्डै दोहोरो अंकले ओरालो लागेको थियो । मङ्गलबार सेयर बजार मापक नेप्से परिसूचक ९.७५ अंकले ओरालो लागेको हो । यद्यपि अघिल्लो दिनको तुलनामा यस दिनको कारोबार रकममा भने हल्का सुधार आएको थियो । नेप्सेमा मङ्गलबारको सेयर बजार ९.३६ अङ्कले ओरालो लागेर १२४५.७३ अङ्कमा पुगेर अडिएको थियो । 

त्यसैगरी, क वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि १.९१ अङ्कले ओरालो लागेर २६९.१० अङ्कमा पुगेको थियो । समग्रमा तेस्रो दिनको नेप्से ०.७५ प्रतिशतले ओरालो लागेको थियो भने सेन्सेटिभ इन्डेक्स पनि ०.७० प्रतिशतले ओरालो लागेको थियो ।
साताको दोस्रो दिनको सेयर बजार पनि ओरालै लागेको थियो । यो दिन सेयर बजार मापक नेप्से परिसूचकसँगै कारोबार रकम पनि ओरालो लागेको थियो । नेप्सेमा सोमबारको सेयर बजार ४.५५ अङ्कले ओरालो लागेर १२५५.०९ अङ्कमा पुगेर अडिएको थियो । 

त्यसैगरी, क वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि ०.७७ अङ्कले ओरालो लागेर २७१.०१ अङ्कमा पुगेको थियो । समग्रमा दोस्रो दिनको नेप्से ०.३६ प्रतिशतले ओरालो लागेको थियो भने सेन्सेटिभ इन्डेक्स पनि ०.२८ प्रतिशतले ओरालो लागेको थियो ।

साताको कारोबारमा पनि गिरावट

नेप्से परिसूचकको गिरावटसँगै यो साताको कारोबार पनि अघिल्लो साताको तुलनामा ह्वात्तै घटेको छ । यो साताभर कुल १८४ कम्पनीको ७४ लाख ३८ हजार ८५० कित्ता सेयर खरिदबिक्री हुँदा दुई अर्ब १९ करोड १३ लाख ९० हजार रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो साताको तुलनामा झण्डै ६७ चार करोडले गिरावट आएको हो ।

अघिल्लो साताभर कुल १७३ कम्पनीको ७४ लाख ८१ हजार ४५० कित्ता सेयर खरिदबिक्री हुँदा दुई अर्ब ८६ करोड २२ लाख रुपियाँ बराबरको सेयर कारोबार भएको थियो । यो भने अघिल्लो साताको तुलनामा झण्डै चार करोडले बढी हो ।
साताको अन्तिम दिन बिहीबार १६६ कम्पनीको १८ लाख ७७ हजार ५४२ कित्ता सेयर खरिदबिक्री हुँदा ४५ करोड ४६ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा झण्डै १० करोडले कमी हो । 

बुधबार १७२ कम्पनीका ११ लाख ३८ हजार ६३९ कित्ता सेयर रु ३६ करोड ८६ लाख ४५ हजार ६६९ मा खरिद बिक्री भएको थियो । यो रकम पनि अघिल्लो दिनको तुलनामा करिब नौ करोडले कमी थियो ।बुधबार नेप्से परिसूचक बढे पनि कारोबार रकममा त्यस अनुसारको सुधार भएन । 

बुधवार १७२ कम्पनीका ११ लाख ३८ हजार ६३९ कित्ता सेयर रु ३६ करोड ८६ लाख ४५ हजार ६६९ मा खरिद बिक्री भए । उक्त रकम अघिल्लो दिनकोभन्दा करिब नौ करोडले कम हो । यस दिन कारोबारमा आएका ९३ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ४४ वटा कम्पनीको सेयरमूल्य घट्यो । २५ वटा कम्पनीको सेयर मूल्यमा परिवर्तन भएन ।

मङ्गलबार १४ लाख १६९ कम्पनीको ४९ हजार ६९७ कित्ता सेयर खरिदबिक्री हुँदा ४५ करोड सात लाख ५५ हजार १८२ रुपियाँभन्दा बढीको सेयर कारोबार भएको थियो । जुन अघिल्लो दिनको तुलनामा एक करोडले बढी हो । सोमबार १६७ वटा कम्पनीको १५ लाख पाँच हजार ५०६ कित्ता शेयर खरिद बिक्री हुँदा ४४ करोड ३२ लाख  पाँच हजार ४८१ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो । यो भने अघिल्लो दिनको तुलनामा तीन करोडले कमी थियो ।

पहिलो दिन आइतबार १६९ वटा कम्पनीको १४ लाख ६७ हजार ४६४ कित्ता शेयर खरिद बिक्री हुँदा ४७ करोड ४१ लाख रुपियाँ बराबरको सेयर कारोबार भएको थियो । जुन अघिल्लो दिनको तुलनामा १२ करोडले कमी हो । बिहीबार १६८ कम्पनीको २० लाख ६० हजार ६७८ कित्ता सेयर खरिदबिक्री हुँदा ५९ करोड रुपियाँभन्दा बढीको कारोबार भएको थियो । जुन अघिल्लो दिनको तुलनामा २४ करोडले बढी थियो । अघिल्लो दिन परिसूचक बढे पनि कारोबार रकम भने औसत रहेको थियो ।

यस साता सबैभन्दा बढी कारोबार गर्ने कम्पनीको पँक्तिमा क्रमशः कृषि विकास बैंक, नेपाल बैंक, नेपाल क्रेडिट एन्ड कमर्सियल बैंक, प्रभु बैंक,  एनआईसी एसिया बैंक, शिवम् सिमेन्ट रहेका छन् ।

समूहगत परिसूचक पनि घट्दो

यो साता समूहगत परिसूचकलाई हेर्ने हो भने १२ वटा परिसूचक कारोबारमा आएको छ । कारोबारमा आएका सबै समूहगत परिसूचक घट्दा व्यापार समूह मात्रै बढेको नेप्सेको तथ्याङ्कले देखाएको छ । साताको पहिलो दिनको तुलनामा अंकका आधारमा सबैभन्दा धेरै निर्जीवन बिमा समूह घटेको छ । यसको सेयर मूल्य ९० दशमलव ८७ अंकले घटेको छ ।

जलविद्युत् ६० दशमलव ९४ अंकले, उत्पादन तथा प्रशोधन ५७ दशमलव १५ अंकले, लघुवित्त ४५ दशमलव ८९ अंकले, होटल ३१ दशमलव १५ अंकले, जीवन बिमा २८ दशमलव ४७ अंकले, विकास बैंक १८ दशमलव १३ अंकले, बैंकिङ १४ दशमलव ७६ अंकले, वित्त ११ दशमलव २२ अंकले, अन्य ७ दशमलव ५१ अंकले र म्युचुअल फन्ड शून्य दशमलव ५ अंकले घटेको छ । 

व्यापार समूहमा मात्रै साताको पहिलो दिनको तुलनामा साताको अन्तिम दिन बिहीबार ४ दशमलव ९२ अंकले बढेको नेप्सेको तथ्यांकमा उल्लेख छ ।

अन्तिम दिन कारोबारमा आएका सबै समूहका सूचक ओरालो लागेका थिए । निर्जीवन बिमा समूह सबैभन्दा धेरै ७५.४३ अंकले ओरालो लागेको थियो भने वाणिज्य बैंक समूहको सूचक पनि ५.५४ अंकले ओरालो लागेको थियो । बुधवारको कारोबारमा बैंकिङ २.९६, व्यापार ६.९५, होटल १९.४२, वित्त २.०५, निर्जीवन बीमा २२.०३, उत्पादन १०.३९, अन्य २.३२, लघुवित्त २२.५५ र जीवन बीमा उपसमूहका सेयर २६.०३ अंकले उकालो लागेका थिए ।

मङ्गलबार पनि कारोबारमा आएका १२ वटै समूहका सूचक ओरालो लागेका थिए । सबैभन्दा धेरै निर्जीवन बिमा समूहको सूचक ४०.९७ अंकले ओरालो लागेको थियो भने वाणिज्य बैंक समूहको सूचक पनि ९.३६ अंकले ओरालो लागेको थियो । सोमबार कारोबारमा आएका ११ वटा उपसमुहमध्ये दुई वटा उपसमुहका सूचक उकालो लागेका थिए भने बाँकी नौ वटा उपसमुहका सूचक ओरालो लागेका थिए । निर्जीवन बीमा र म्युचुअल फण्ड समूहको सूचक उकालो लागेका थिए भने अन्य सबै ओरालो लागेका थिए ।

आइतबार कारोबारमा आएका ११ वटा उपसमुहमध्ये दुई वटा उपसमुहका सूचक उकालो लागेका थिए भने नौ  वटा उपसमुहका सूचक ओरालो लागेका थिए । अघिल्लो साताको अन्तिम दिन कुल १२ वटा समूहको सेयर कारोबार भएकोमा जीवन बिमा समूह सबैभन्दा धेरै २०.८७ अंकले उकालो लागेको थियो भने वाणिज्य बैंक समूहको सूचक ३.६८ अंकले ओरालो लागेको थियो ।
 

प्रतिक्रिया दिनुहोस