
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा सेफ नेपाल नामक संस्थाका अध्यक्ष रामनरेश राय यादब विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले उनी विरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको हो ।
अध्यक्ष यादब समेतले सेफ नेपाल नामक संस्थामार्फत संचालित महिला जनचेतना कार्यक्रममा अनियमितता गरेको भन्ने उजुरी आयोगमा परेको थियो । उक्त निवेदनमा अनुसन्धान हुँदा रौतहटको स्थानीय गढीमाई नगरपालिकासँग सेफ नेपाल, गौर ५ रौतहटले लक्षित वर्ग अन्तर्गत जनचेतना मूलक कार्यक्रम र महिला जनचेतना कार्यक्रमको लागि कार्यक्रम संचालन गर्न गढीमाई नगरपालिकाले जिम्मेवारी तोकी सम्झौता गरी कार्यादेश एवं अनुदानसमेत दिइएकोमा उक्त संस्थाका अध्यक्ष रामनरेश राय यादवले नक्कली बिल भरपाई तयार गरेको पाइएको आयोगले जनाएको छ ।
यादवले नक्कली बिल भरपाइ बनाई १ लाख ७२ हजार २४० रुपैयाँ खाई सरकारी सम्पत्ति बदनियतपूर्वक हिनामिना गरी हानिनोक्सानी पुर्याई भ्रष्टाचार गरेको आयोगको आरोप छ । आयोगले निज यादव विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम ऐ। ऐनको दफा ३ (१) र दफा ३(१) को देहाय (घ) बमोजिम कैद र विगोबमोजिमको जरिवानाको मागदाबी लिई सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
प्रतिक्रिया दिनुहोस